कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विराटनगरका सडकपेटीमा बनाइएका अवैध संरचना हटाइँदै

नक्सा पास नगरी आफ्नै जग्गामा पनि त्यस्ता संरचना निर्माण गरिएको छ भने हटाएरै छाड्छौं : महानगर
देवनारायण साह

मोरङ — बजार क्षेत्रका सडकपेटी अतिक्रमण गरेर बनाइएका अवैध संरचना विराटनगर महानगरपालिकाले नाटकीय शैलीमा बुधबारबाट हटाउन सुरु गरेको छ । महानगर प्रमुख नागेश कोइरालाले विराटनगर–९ स्थित आफ्नै घर अगाडिबाट यसको सुरुवात गरेका छन् । उनकै घरमा रहेको पसलका सञ्चालकले सडकपेटी अतिक्रमण गरेर अबैध अस्थायी संरचना बनाएका थिए ।

विराटनगरका सडकपेटीमा बनाइएका अवैध संरचना हटाइँदै

महानगरभरिका सडकपेटीको अतिक्रमण हटाउने निर्देशनात्मक निर्णय कार्यान्वयन गर्न अभियान सुरू गरेको महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले बताए ।

‘व्यवसायीहरूले सडकपेटी कब्जा गर्दा पैदल यात्री सडकबाट हिंड्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले सधैं दुर्घटनाको जोखिम रहन्छ,’ उनले भने, ‘जथाभावी झुन्ड्याएर महानगरलाई कुरूप बनाइएको होर्डिङ बोर्ड हटाउनुका साथै केबल र इन्टरनेटको तारसमेत व्यवस्थित गरेर सुन्दर सहर निर्माणमा लागेका छौं ।’ तर महानगरले एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरेको अधिकांश सडक अपांगमैत्री नहुनुका साथै सडकपेटीसमेत राखिएको छैन । महानगरको त्रुटिपूर्ण सडकको डिजाइनले सडकपेटी नहुँदा पैदलयात्रुलाई सकस पारिरहेको छ ।

अतिक्रमित सडकपेटीबाहेक पनि यहाँ अव्यवस्थित पार्किङ, सामाजिक, धामिर्क एवं सांस्कृतिक कार्यक्रमका नाममा हुने ध्वनि प्रदूषण, छत एवं बाथरुमको पानी झार्न बाटोतिर तेर्साइएको पाइप, घरभित्र बाहन लग्न नाला माथिको फुटपाथ ओगटेर बनाइको स्ल्याब, पान/गुट्का खाएर जथाभावी थुक्दै हिंड्ने प्रवृत्तिले महानगरलाई कुरूप बनाएको छ । विराटनगरकी ४५ वर्षीया पार्वती श्रेष्ठले भनिन्, ‘घरपालुवालाई सडकमा नै दिसापिसाब गराउनेलाई कारबाही छैन, पेट पाल्नलाई साँझ–बिहान फुटपाथमा तरकारी, भक्का बेच्नेलाई धपाएर सहर सभ्य बन्छ ?’

अर्का स्थानीय लक्ष्मण मण्डलले तीव्र गति एवं चर्को आवाजमा हर्न बजाउँदै चलाइने सवारीले पनि विराटनगरलाई असुरक्षित बनाएको तर्क गरे । ‘भलै यो जिम्मेवारी ट्राफिक प्रहरीको होला तर मुख्य सडकमा, आवासीय क्षेत्र, विद्यालय र अस्पताल अगाडि सवारीको निर्धारित गति एवं हर्न बजाउन दिने/नदिने सम्बन्धि ऐन कानूनको कार्यान्वयनमा जोड दिनु पनि महानगरको दायित्व हो’ उनले भने ।

महानगरले सडक तथा सडकपेटीको अवैध संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना निकालेको थियो । सरसफाइ व्यवस्थापन शाखा प्रमुख पुनम दाहालले नक्सा पास नगरी बनाइएको सबै खाले अतिक्रमित संरचना हटाउने निर्णय भए अनुसार कारबाही प्रक्रिया सुरु गरिएको बताए । ‘महानगरभरि निर्मित अबैध संरचनाको यकिन तथ्यांक महानगरसँग छैन तर नक्सा पास नगरी त्यस्तो संरचना निर्माण गरिएको छ भने हटाएरै छाड्छौं,’ भने, ‘आफ्नै जग्गामा त्यस्तो संरचना राख्नै पर्ने अवस्था भए त्यसको लागि नक्सा पास गराउनुपर्छ ।’

महानगरमा सरकारी कार्यालयकै भवन पनि नक्सा पास गरेर बनाइएको छैन । त्यस्ता भवनमा महानगरको आँखा पुग्न सकेको छैन । तर विपन्न गरिबले सडक छेउमा जीवन गुजाराका लागि पसल थाप्न बनाएका संरचना हटाउँदै हिंडेको प्रति स्थानीयवासीले गुनासो गरेका छन् ।

महानगरपालिकाले वडा ३ र ९ को वडा कार्यालय घोघापैनी अतिक्रमण गरेर निर्माण गरेको छ । घोघापैनी अतिक्रमण गरेर महानगरले सडकसमेत निर्माण गरेकाले वर्षाको पानीको सहज निकास नहुँदा बर्सेनि महानगरमा डुबानको समस्या आउँछ । एकातिर महानगरले आफैं अव्यवस्थित रूपमा बिना अध्ययन, अनुसन्धानै नगरी संरचना बनाएर स्थानीयलाई अनावश्यक दुःख दिइरहेको छ भने अर्कोतिर जीवन गुजाराका लागि पसल थाप्न बनाएको अस्थायी संरचना हटाउने अभियान सञ्चालन गर्नु द्वैध चरित्र प्रदर्शन गरेको विराटनगर–४ का जीवन खड्काले गुनासो पोखे ।

महानगर प्रमुख कोइरालाले घोघापैनी अतिक्रमण, वडा कार्यालय र सडक निर्माणलगायतका महानगरको संरचना आफू महानगरमा आउनुभन्दा अगाडि नै निर्माण भएको बताए । ‘कुनै बेला मुलुकको दोस्रो ठूलो सहरको पहिचान बनाएको विराटनगर यी यस्तै अनेकौं कारणले सहरमा गन्ती पनि हुने अवस्था छैन,’ उनले भने, ‘त्यसैले विराटनगरको साख फर्काउन सानो–सानो कामबाट सुरुवात गरिरहेका छौं र महानगरवासीको भावनाअनुसार कामलाई गति दिन सबैको साथ र सहयोग पनि उत्तिकै आवश्यक छ ।

फरक, नवीन एवं रचनात्मक काम गर्न नसकेको भनेर आलोचित भइरहेका महानगर प्रमुख कोइरालाले विराटनगरको विरासत फर्काउन सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले आफूले सुरु गरेको अभियानबाट कसैलाई गाँसबासकै समस्या पर्न गए त्यसको लागि वैकल्पिक व्यवस्था गर्नेसमेत योजना रहेकाले आफूले कसैलाई अन्याय हुन नदिन सचेत रहेको बताए । आफ्नो ५ वर्षे कार्यकालमा विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र डुबानमुक्त सहर बनाउने अठोट पूरा गरेरै छाड्ने कोइरालाले प्रतिबद्धता जनाए ।

प्रकाशित : मंसिर २२, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?