आधुनिक जनस्वास्थ्य प्रयोगशाला सुरु

विराटनगर — प्रदेश सकारले प्रदेश १ जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण गरी सेवा सुरु गरेको छ । विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको ५ कठ्ठा १२ धुर जग्गामा नवनिर्मित भवनको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बुधबार उद्घाटन गरेका छन् ।

सेभ द चिल्ड्रेन ग्लोबल फन्डको आर्थिक तथा प्राविधिक सहयोगमा लिफ्टसहितको ४ तल्ले भवन निर्माणका साथै फर्निचर व्यवस्थापनमा १० करोड ५० लाख खर्च भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले बताए ।
प्रदेशभरिका प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि, स्थानीय प्रयोगशालाको नमुना परीक्षण, निजी तथा सार्वजनिक प्रयोगशालाका गुणस्तर मापन र नियन्त्रणको काम गर्ने निर्देशक यादवले बताए ।
‘प्रयोगशाला गुणस्तर प्रमाणीकरण र प्रदेश तथा स्थानीय तहमा प्रयोगशाला सञ्चालनका लागि नीति, नियम निर्माण, प्रदेश प्रयोगशालाको सेवा सुदृढीकरण तथा न्यूनतम शुल्कमा सबै प्रकारका गुणस्तरीय प्रयोगशाला परीक्षण सेवा प्रदान गर्ने काम यहाँबाट हुन्छ,’ उनले भने, ‘स्थानीय तहलगायतका प्रदेशभरिका प्रयोगशालामा गुणस्तरीयता आपूर्ति, प्रदेशमा प्रयोगशाला सर्वेक्षण, अनुसन्धान तथा रोग नियन्त्रणमा सहयोग पुग्छ ।’
प्रकाशित : मंसिर २२, २०७९ ०८:०३