१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पूर्वी पहाडमा चासोक तङ्नामको रौनक

चन्द्र कार्की

तेह्रथुम — किरातहरुको महान पर्व चासोक तङ्नाम अर्थात ‘न्वागी पूजा’ तेह्रथुमसहित पूर्वी नेपालमा बिहीबार धुमधाम साथ मनाइँदैछ । विशेषगरी राई, लिम्बू, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ ।

पूर्वी पहाडमा चासोक तङ्नामको रौनक

तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको टुँडिखेल नजिक निर्माण गरिएको पूजा स्थलमा न्वागी पूजा गर्नेहरुको बिहानैदेखि भीड लागेको छ । जिल्लाका अन्य स्थानमा रहेका किराँत मन्दिरहरुमा पनि पूजा गर्नेहरुको भीड लागेको चासोक तङनाम (उधौली पर्व) व्यवस्थापन समिति अध्इक्ष इन्द्रबहादुर तुम्बाहाम्फेले जानकारी दिए । यसै अवसरमा म्याङलुङ बजारमा चासोक तंङ्नाम विषेश कार्यक्रमको आयोजना गरिएको छ ।

चासोक तङ्नाम विषेश कार्यक्रममा च्याब्रुङ र धान नाच प्रतियोगिता, स्थानीय जातीय मौलीक खेल तथा अन्य मनोरञ्जनात्मक सांगितिक कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका सचिव टिआर सुब्बाले जानकारी दिए ।

प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दूहरुले धान्य पूर्णिमा, किरात याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उधौली पर्वका रुपमा मनाउने गर्छन् । केही वर्षदेखि नेपाल सरकारले मंसिर पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक बिदा दिन थालेको छ । विशेषत: यो पर्व किरातहरुको वाहुल्यता रहेका तेह्रथुम, ताप्लेजङ, पाँचथर, इलाम धनकुटा, संखुवसभा, झापा, मोरङ र सुनसरी तथा काठमाडौं उपत्यकामा भव्यताका साथ मनाउने गरिएको छ ।

लिम्बु भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । किरात लिम्बूको ‘मुन्धुम’ मा चासोक पूजाको उत्पत्ति वर्णन पाइन्छ । कृषि युगअघि लिम्बूका आदिम पूर्खा सावायेत्हाङहरू कन्दमूल काँचै खाएर जीवनयापन गर्थे । जसले गर्दा कुपोषण र रोगव्याधिको सिकार हुन्थे । त्यसबाट मुक्ति पाउन उनीहरूले सर्वशक्तिमान तागेरानिङ्वाफुमाङ (प्रकृति) को पूजाआराधना गरे । उनको कृपाबाट पेना/माङद:क् (कोदो), परामा (कोदोसँगै फल्ने बिरुवा), ताक्मारु (घैया धान), तुम्री (जुनेलो), साङ्घामा, लिङ्घामा र लङ्वामा आदि अन्नका बीउविजन प्राप्त भयो । आदिम पूर्खा सावायेत्हाङहरूले प्रकृतिबाट यसरी पाएको बीउविजन तिनका चेली सिवेरा ए:क्थुक्मा/सिवेरा यावुङ्केक्माले काठको खन्ती र अङ्कुसेले खोरिया फाडेर भस्मेमा छरिन् । त्यसपछि सावायेत्हाङहरूले खेतीपाती सिके । फलेको अन्न आगामा पकाएर खान थाले । बल्ल सावायेत्हाङका सन्तानले कुपोषण र रोगव्याधिबाट मुक्ति पाए । खेतबारीमा पाकेको अन्नबाली आगामा पकाएर खान सिकाउने आफ्नी चेलीदेखि खुसी भई सावायेत्हाङहरूले उनलाई पहिले चढाएपछि मात्र खान पाउने बाचा गरे । यसरी कृषि युगदेखि न्वागी परम्परा बसेको ‘मुन्धुम’ मा उल्लेख छ ।

लिम्बूको जातीय संस्था किरात याक्थुङ चुम्लुङको पहलमा सामूहिक रूपमा फेदाङ वा तुम्याङहाङहरूका सहयोगले चासोक पूजा गर्दै आएका छन् । यसरी यो पर्व सामूहिक चाडका रूपमा स्थापित हुँदै गएको छ । यस अवसरमा भेटघाट गर्ने, मनोरन्जन गर्ने, पाहुनाहरुको स्वागत गर्ने चलन छ । यो चाड लिम्बू जातिमा सामाजिक सद्भाव र सम्बन्ध बढाउने माध्यम बन्दै गएको आयोजक संस्थाका सचिब सुब्बाको भनाइ छ । तङ्नामका अवसरमा विभिन्न सामाजिक र सांस्कृतिक गतिविधि पनि हुने गरेका छन् । रिसराग, इर्ष्या बिर्सेर चासोक तङ्नाममा आत्मीयतासाथ लिम्बू दाजुभाइ एवं दिदीबहिनीले भेटघाट र शुभकामना आदानप्रदान गरिरहेका छन् । खाद्य परिकार चाम्रे, याङबेन (झ्याउ), सिगोले, फिलिङ्गे र फुदोको अचार, कोदोको तोङ्वा, तीनपाने रक्सी बनाएर खाने गर्छन् । पाहुनाको सेवासत्कार गर्छन् ।

चेलीबेटी हुक्वा (आफैंले बनाएको शोभित) र अन्य प्रकारको ‘चेसुङ’ (कोसेली) साथ माइतीघर आउनेजाने गर्छन् । युवा सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल ‘पक्लुङ’ (छेलो हान्ने खेल) खेल्छन् । सामूहिक रूपमा केलाङ (च्याब्रुङ) बजाएर र्छुइ र्छुइ हा सरलाइमा सर भन्दै नाच्छन् । नाता नपर्ने तरुण तन्नेरी जातीय पहिरन र गहनामा सजिएर एकआपसमा हात समाउँदै मायाप्रीतिका गीतलाई पालामको भाकामा स्वर उरालेर ‘यालाङ’ (धाननाच) नाच्छन् । प्रौढ, वृद्धवृद्धा मुन्धुमी साम्लो, हाक्पारे आदि गीत गाएर मनोरन्जन गर्छन् । साम्बा/येमाहरूको उपलब्धता अनुसार एकराते ‘तङसिङ’ पनि यस अवसरमा सम्पन्न गर्ने चलन छ ।

चासोक तङ्नामले सांस्कृतिक, सामाजिक र धार्मिक महत्त्व बोकेकाले जनजीवनमा यसको अविछिन्न सम्बन्ध रहिआएको किरात याक्थुङ चुम्लुङले जनाएको छ । यो चाडले जातीय पहिचान र सांस्कृतिक गौरव बढाएको छ भने सामाजिक सद्भाव, एकता र पारस्परिक सहयोगको भावना पनि बढाएको म्याङलुङ नगरपालिकाका मेयर संजय तुम्बाहाम्फेले बताए । मेलमा भाग लिन भारतको दार्जिलिङदेखि समेत पाहुनाहरु आएको आयोजकले जनाएको छ ।

प्रकाशित : मंसिर २२, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?