पहाडी जिल्लामा किन हारे एमाले हस्ती ?

डम्बरसिं राई

खोटाङ — अध्यक्ष केपी ओलीनजिक मानिएका एमालेका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले खोटाङमा २ हजार ६ सय ६९ मतान्तरले हारे । गठबन्धनका उम्मेदवार माओवादीका रामकुमार राईले उनलाई पछि पारेका हुन् । राईले ३१ हजार ५ सय ३१ र भट्टराईले २८ हजार ६ सय ८२ मत पाए ।

पहाडी जिल्लामा किन हारे एमाले हस्ती ?

स्थानीय तहको निर्वाचनमा खसेको मतको आधारमा हेर्ने हो भने गठबन्धनको मत जोड्दा ४७ हजार ५ सय १३ देखिन्छ । तर ३१ हजार ३ सय ५१ मात्र खस्यो । यसमा भट्टराईको २८ हजार ६ सय ८२ मत आएको छ । स्थानीय तहको चुनावमा एमालेको मत २८ हजार ७ सय ९७ देखिन्छ । यसका आधारमा स्थानीय तहको तुलनामा एमालेको १ सय १५ मत कम आएको छ ।

एमाले जिल्ला कमिटी खोटाङका सचिव कुमार आचार्यले भने स्थानीय तहको तुलनामा उल्लेख्य प्रगति भएको दाबी गरेका छन् । ‘गठबन्धनकै कारण झिनो मतले चुनाव हारिएको हो,’ आचार्यले भने । स्थानीयले भने भट्टराई पटक–पटक निर्वाचित भए पनि जिल्लाको अवस्था नसुध्रिएकाले मत घटेको बताएका छन् । सडक, पुललगायतका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतको अवस्था नसुध्रिएकाले मत नदिएको हुन सक्ने स्थानीयको भनाइ छ । एमालेभित्र अन्य नेता नभएजस्तो जहिल्यै आफैं मात्र उम्मेदवार हुने प्रवृत्तिले पनि यस्तो समस्या आएका एमालेका एक नेताले बताए ।

भट्टराईले भने जिल्लावासीले अत्यन्तै मायाका साथ भोट दिएको बताएका छन् । उनले भने, ‘जिल्लाका अरू नेताहरू घर जानुपरे खोटाङ छाड्नुपर्छ तर मैले जिल्ला आउनुपर्छ, त्यसैले मलाई माया गरेका हुन् ।’

माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश १ खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीसमेत रहेका राई पनि सशक्त नेता हुन् । उनले २०६४ मा खोटाङ क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य र २०७४ मा खोटाङ (२) बाट जितेका थिए । राई लामो समयदेखि खोटाङकै भूगोलमा खटिएकाले भट्टराईका लागि जित निकाल्न असहज बन्यो ।

प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले पनि भोजपुरबाट पराजय खेपेका छन् । गठबन्धनका उम्मेदवार माओवादीकै सुदन किरातीले २ हजार ३ सय ८९ मतले राईलाई हराएका हुन् । राईले २६ हजार २ सय २ मत र किरातीले २८ हजार ५ सय ९१ मत ल्याएका थिए ।

२०७४ मा प्रदेश १ मुख्यमन्त्री, २०७२ मा सूचना तथा सञ्चारमन्त्रीसमेत भइसकेका राईलाई गठबन्धन नै मुख्य बाधक बनेको भोजपुर एमालेका अध्यक्ष शरण राईको ठहर छ । तर त्यत्तिले मात्रले हारेका होइनन् उनी । जनताको जनजीविकासँग टुट्नु, भड्किलो जीवन शैली, मुख्यमन्त्री हुँदा पनि प्रदेशको नाम राख्न नसक्नु, मुख्यमन्त्री हुँदा सरकारी स्रोत दोहनको आरोप खेप्नु लगायतका कारण उनी चुनाव हारेको पौवादुंगा गाउँपालिका–८ का भूपाल राई बताउँछन् । ‘किरातीले चुनाव हराउनुमा शेरधनको जनतासँगको सामीप्यता नहुनु, भड्किलो जीवन शैली, किरात प्रदेश नामांकनको पक्षमा नलाग्नु हो,’ राईले भने ।

पहाडमा विचार पनि अडिक नै भएर बसेकाले विचारप्रधान राजनीति कायमै रहेको राई बताउँछन् । किरातीमा जनयुद्धको भावना, संघीयता, समावेशी, गणतन्त्रजस्ता मूलभूत विशेषतालाई जोडदार उठाउन सक्ने क्षमता भएकाले शेरधनको हार भएको राईको भनाइ छ ।

ओखलढुंगामा एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडासँग हारे । २०७४ को चुनावमा खतिवडालाई करिब ५ हजार ३ सयको मतान्तरले हराएका सुनुवार यो चोटि ६ हजार ८ सय १८ मतले पछि परेका छन् । गठबन्धनकै कारण सुनुवारले हार बेहोर्नुपरेको एमाले ओखलढुंगाका अध्यक्ष शंकर कटवालको भनाइ छ । खतिवडाले ३३ हजार ५ सय ५६ र सुनुवारले २६ हजार ७ सय ३८ मत ल्याएका छन् ।

प्रकाशित : मंसिर १९, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?