चित्रकलामा सुस्त श्रवण बालबालिका

धनकुटा — उनीहरू सांकेतका माध्यमले आपसमा भावना साटासाट गर्छन् । धेरैजसो जन्मजात श्रवण शक्ति गुमाएका हुन् । जब कुची, पेन्सिल र रङमा खेल्न पाउँछन्, उनीहरू चित्रका आकृतिमार्फत सबैका सामु परिचित बन्छन् । धनकुटा–४ छारागाउँको मार्गेश्वरी प्राथमिक विद्यालयकी १० वर्षीया गंगा लिम्बू यसै मध्येकी प्रतिभा हुन् ।

उनी प्रतियोगितामा सर्वोकृष्ट बनिन् । एक घण्टाको अवधिमा उनले सबैको मन जित्ने चित्र उतारिन् । उनको चित्र नियाल्दै निर्णायक एवं कलाकार डिल्लीकृष्ण आले चकित परे । विद्यालय र घरमा समेत चित्र बनाउने उचित माहोल छैन । तर, उनी आफूभित्र लुकेको प्रतिभा मार्फत सबैबाट प्रशंसा पाइन् । उनी ३१ औं अन्तर्राष्टिय अपांगता दिवसमा आयोजित चित्रकला प्रतियोगितामा सामेल मात्र भइनन्, पहिलो समेत भइन् ।

सांकेतिक भाषाका शिक्षक श्रवणलाल राई मार्फत उनले चित्रकला असाध्यै मन पर्ने बताइन् । किताबको चित्र देखेर आफू प्रभावित बन्ने गरेको उनले प्रस्ट पारिन् । यस्तै, अर्का सहभागी हेमराज खड्का पनि बोलचाल गर्न सक्दैनन् । लिम्बू जस्तै उनी पनि चित्र कोर्न अब्बल छन् । प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेका खड्काले सांकेतिक भाषाका माध्यमले आफूलाई पेन्सिल कला मन पर्ने कान्तिपुरलाई बताए ।

प्रतियोगिताका १६ सुस्तश्रवण बालबालिका मध्ये विनोद राई तेस्रो भए । उत्कृष्ट तीन मध्येको प्राप्तांक झिनो मात्रले फरक थियो । निर्णायक आलेले पहिलो पटक सुस्तश्रवण बालबालिकाको मूल्यांकन गर्ने अवसर पाएको बताए । उनीहरू भित्रको प्रतिभाले आफु उत्साहित बनेको उनको भनाइ छ । ‘यत्ति सुन्दर सृजना गर्लान् भन्ने अनुमान समेत गरेको थिइन,’उनले भने,‘वातावरण दिने हो भने निकै आश लाग्दो प्रतिभा जन्मिने छन् भन्ने अनुमान गर्न सकिन्छ ।’

अपांग सेवा संघको आयोजना तथा धनकुटा नगरपालिका र करुणा फाउण्डेशनको सहयोगमा प्रतियोगिता आयोजना गरिएको थियो । कौशिका आधारभूत विद्यालयकी निरनकला राईले पनि प्रतियोगितामा चौथो स्थान प्राप्त गरिन् ।

प्रकाशित : मंसिर १९, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?