१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

विराट एक्स्पोको तयारी पूरा

देवनारायण साह

मोरङ — सातौं कृषि तथा औद्योगिक प्रदर्शनी मेला ‘विराट एक्स्पो-२०७९’को तयारी पूरा भएको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म विराटनगर १४ स्थित पुरानो हवाई फिल्डमा एक हप्तासम्म चल्ने एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् । 

विराट एक्स्पोको तयारी पूरा

प्रदर्शनी प्रमुख आयोजक समिति संयोजक भोलेश्वर दुलालले उत्पादक र उपभोक्ताबीच अनुभव आदानप्रदान गर्ने र व्यावसायिक सम्बन्ध विकासका साथै नयाँ प्रविधि पहिचान तथा प्रयोगको उद्देश्यले आयोजना गर्न लागिएको बताए । उद्योग संगठन मोरङको आयोजनामा हुन लागेको प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानबाट सहभागिता रहने उनले बताए ।

‘प्रदर्शनीका लागि ३६१ वटै स्टल पर्यटन, लगानी, श्रम, रोजगार तथा सीप, स्टार्टअप, औद्योगिक कर्पोरेट र कन्जुमर प्रोडक्ट, कृषि तथा साना घरेलु एवम् सूचनामूलक, अटोमोबाइल्स उत्पादन र खाद्य परिकारका लागि बिक्री भइसकेको छ,’ उनले भने, ‘प्रदर्शनीमा अवलोकन गर्न आउनेले औद्योगिक उत्पादन, प्रविधि र सेवा, कृषि सामग्री, औजार, मेसिन उपकरणलगायतबारे प्रत्यक्ष ज्ञान प्राप्त गर्न पाउँछन् ।’ यस्तै, घरेलु तथा साना उद्योगको उत्पादन, प्रदेश १ का पर्यटकीय स्थलहरु होलोग्राममार्फत प्रदर्शनी, माउन्टेन फ्लाइट, लगानीकर्ताका लागि प्रदेश १ का सम्भावित परियोजनाहरु प्रदर्शनी, स्थानीय सीप, स्थानीय परिकारहरुको प्रदर्शनी अवलोकनकर्ताले पाउने संयोजक दुलालले बताए ।

बिहानदेखि दिउँसो ४ बजेसम्म प्रतिव्यक्ति ५० र दिउँसो ४ बजेपछि आउनेले प्रतिव्यक्ति १ सय रुपैयाँको टिकट खरिद गरेर प्रदर्शनी अवलोकन गर्न पाउने छन् । दिउँसो ४ बजेपछि प्रदर्शनी अवलोकन गर्नेले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति हेर्न पाउने दुलालले बताए । प्रदर्शनी अवलोकन गर्न आउनेका लागि कटहरी, रानी र सुनसरीको दुहबीबाट प्रदर्शनीस्थलसम्म निःशुल्क बस सेवाको व्यवस्था आयोजकले गरेको छ ।

प्रदर्शनीमा थिमेटिक फेसन सो, विराट एक्स्पो सिङ्गिङ आइडल प्रतियोगिताका साथै कृषि, पर्यटन, उद्योगलाई केन्द्रमा राखेर यान्त्रिकीकरण, व्यावसायीकरण तथा औद्योगिकीकरण लगायत विषयमा सहजीकरणका लागि बहस, अन्तरक्रिया, छलफल, सेमिनार प्रदर्शनी अवधिभरि आयोजना गरिने दुलालले बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले कृषि, कृषि उद्यम, उद्योग, पर्यटनलगायत समग्र प्रदेश १ को आर्थिक एवम् औद्योगिक विकासका लागि उत्पादक, उपभोक्ता र मूल्य शृङ्खलाको परिधिभित्र पर्ने समग्र व्यावसायिक सेवा प्रदायकहरुलाई आफ्नो उत्पादन तथा सेवाको बिक्री वितरण तथा प्रचारप्रसारका लागि प्रदर्शनी मेला आयोजना गर्न लागिएको बताए । ‘कृषि उत्पादनको व्यावसायीकरण र पर्यटकीय क्षेत्रका साथै नयाँ गन्तव्यको प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवर्द्धन, नवप्रवर्द्धक स्टार्टअपहरुको व्यावसायिक विकास र स्वदेशी उत्पादनको बजार विस्तारका लागि प्रदर्शनी उपयोगी हुने विश्वास छ,’ उनले भने, ‘समग्र आर्थिक एवं औद्योगिक गतिविधिलाई चलायमान बनाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं मनोरञ्जनलगायत क्षेत्रको प्रवर्द्धन र विकासका लागि प्रदर्शनी आयोजना गरिएको हो ।

उनले कृषि औजार, उपकरण तथा नयाँ प्रविधिहरु प्रदर्शनी गरिने बताए । ‘आर्थिक एवम् कृषि र औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदानप्रदान, स्टार्टअप कर्नर, पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिइनेछ,’ उनले भने, ‘दैनिक प्याकेज टुर, स्थानीय खानाका परिकारको व्यावसायीकरणका लागि खाना उत्सव, बिजनेस टु बिजनेस सम्बन्ध स्थापित गर्न विशेष कार्यक्रमको व्यवस्था गरेका छौं ।’

प्रकाशित : मंसिर १८, २०७९ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?