प्रदेश सरकार गठनको कसरत सुरु- कोशी - कान्तिपुर समाचार

प्रदेश सरकार गठनको कसरत सुरु

एमालेको प्रत्यक्षमा २५ र समानुपातिकमा १५ सहित ४०, कांग्रेसको प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित २९, माओवादी केन्द्र प्रत्यक्षमा ९ र समानुपातिकमा ४ सहित १३ सांसद
देवनारायण साह

मोरङ — प्रदेश १ मा सत्ता गठबन्धनलाई पछि पार्दै एमाले गठबन्धनले बहुमत प्राप्त गरेको छ । यस प्रदेशमा शुक्रबार समानुपातिकतर्फको मत गणना सम्पन्न भएसँगै प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति प्रदेश सांसद प्राप्त गर्ने स्पष्ट भएकाले सरकार गठनको कसर सुरु भएको हो ।

९३ सदस्यीय प्रदेशसभामा एमाले गठबन्धनले ४७ र सत्ता गठबन्धनलाई ४६ प्रदेश सांसद प्राप्त हुने भएको छ । यस प्रदेशसमा सत्ता गठबन्धन दललाई पछि पार्दै एमालेले प्रत्यक्ष र समानुपातिक दुवैमा पहिलो पार्टी भएको हो ।

सुनसरी ४ मा मतगणनाको क्रममा विवाद भएकाले ढिलो गरी समानुपातिकतर्फको मत गणना शुक्रबार सम्पन्न भएको छ । यस प्रदेशको १४ जिल्लास्थित ५६ प्रदेश निर्वाचन क्षेत्रमध्ये एमालेले सबभन्दा बढी २५, कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा (एकिकृत समाजवादी)ले ३ र राप्रपाले २ क्षेत्र जितेको छ ।

समानुपातिकतर्फ यस प्रदेशको निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको सदर मत १८ लाख ९९ हजार १ सय ४४ मतमध्ये १ दशमलव ५ प्रतिशतको थ्रेस होल्ड कटाउने दलमा एमाले पहिलो, कांग्रेस दोस्रो, राप्रपा तेस्रो, माओवादी केन्द्र चौथो, जनता समाजवादी पार्टी (जसपा) पाँचौ र एकिकृत समाजवादी पार्टी छैठौँ स्थानमा छ ।

समानुपातिकतर्फ एमालेले ६ लाख ६५ हजार ४ सय ६०, कांग्रेसले ५ लाख ६२ हजार ९ सय ५६, राप्रपाले १ लाख ९८ हजार ५ सय ११, माओवादी केन्द्रले १ लाख ८१ हजार २ सय ४५, जसपाले ६१ हजार ७ सय २३ र एकिकृत समाजवादीले ५५ हजार ९ सय ५७ मत प्राप्त गरेको छ । अघिल्लो पटक समानुपातिकमा एउटा प्रदेश सांसद पाएर राज्यमन्त्रीसम्मको यात्रा तय गरेको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार ५ सय ३१ मतमा सिमित भएको छ । संयुक्त लोकतान्त्रिकले १ दशमलव ५ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन ।

समानुपातिक सिट बाँडफाँडको सुत्र अनुसार दलहरूले प्राप्त गरेको मतको आधारमा सामानुपातिकतर्फको ३७ प्रदेश सांसदमध्ये एमालेले १५, कांग्रेसले १२, राप्रपाले ४, माओवादी केन्द्रले ४, जसपा र एकिकृत समाजवादीले १/१ प्रदेश सांसद पाउने भएको छ । ९३ सदस्यीय प्रदेशसभामा समानुपातिक र प्रत्यक्ष गरी एमालेले ४०, कांग्रेसले २९, माओवादी केन्द्रले १३, राप्रपाले ६, एकिकृत समाजवादीले ४ र जसपाले १ प्रदेश सांसद प्राप्त गर्ने निश्चित भएको छ । यस आधारमा एमाले गठबन्धनमा रहेको दलहरूले ४७ र सत्ता गठबन्धन दलहरूले ४६ प्रदेश सांसद प्राप्त गर्ने भएकाले सरकार गठनको कसरत सुरु भएको हो । तर यसपटक संघीय लोकतान्त्रिकले थ्रेस होल्ड नै कटाउन नसके पछि समानुपातिकमा प्रदेश सांसद पाउने दलमा एउटा दल घटेको छ । यसपटक समानुपातिकतर्फ राप्रपाले गत निर्वाचनमा प्राप्त गरेको ३.३० प्रतिशतभन्दा ७.१५ प्रतिशत बढी मत ल्याएपछि एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपाको मत घटेको छ । एमालेले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ३८.७९ प्रतिशत, कांग्रेसले ३३.७६, माओवादीले ११.९१, जसपाले ४.०६, राप्रपाले ३.३० र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले १.५ प्रतिशत मत प्राप्त गरेका थिए ।

यसपटक समानुपातिकतर्फ एमालेले गत निर्वाचनभन्दा ३.७५ प्रतिशत कम, कांग्रेसले ४.१२ प्रतिशत कम, माओवादीले २.३७ प्रतिशत कम मत प्राप्त गरेको छ ।

एमाले गठबन्धनबाट मुख्यमन्त्रीका लागि पार्टीका स्थायी कमिटी सदस्य, पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की प्रमुख दाबेदार छन् । उनले संसदीय दलको नेता र सरकारको नेतृत्वका लागि आफूलाई नै अघि सार्ने पार्टीको लाइन रहेकोले सरकार गठनको तयारी थालेको बताए । उनले गठबन्धन दलहरूसँग छलफल भइरहेको बताए । उनले सरकारको नेतृत्व गर्ने र थाँती रहेको प्रदेशको नामकरण प्रक्रिया छिट्टै टुंग्याउने बताए ।

पहिलो प्रदेशसभामा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिक १५ गरी ५१, कांग्रेसले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ गरी २१, माओवादी केन्द्रले प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ५ गरी १६, जसपाले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ २ गरी ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १/१ प्रदेश सांसद प्राप्त गरेका थिए । अघिल्लो प्रदेशसभामा एमाले नेतृत्वमा वाम गठबन्धनको दुई तिहाइभन्दा बढीको सरकार साढे तीन वर्षमा ढलेको थियो । एमाले विभाजन भएर ५ प्रत्यक्ष र ५ समानुपातिक प्रदेश सांसद नेकपा (एकिकृत समाजवादी) मा गएपछि सरकार ढलेको थियो । त्यस पछि ५ दलीय गठबन्धनको समर्थनमा एकिकृत समाजवादीका राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार गठन भएको थियो ।

प्रकाशित : मंसिर १८, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्

एउटै योजनालाई नगरको ६ करोड बजेट

अर्जुन राजवंशी

बिर्तामोड — झापाको शिवसताक्षी नगरपालिकाले नगरको एउटै योजनामा ६ करोड रुपैयाँसम्म बजेट विनियोजन गरेको छ । नगरको मुख्य पर्यटकीय क्षेत्र दोमुखासम्म पुग्ने सडक कालोपत्रका लागि नगरपालिकाले उक्त बजेट विनियोजन गरेको हो । 

पूर्वपश्चिम राजमार्गस्थित माईधारदेखि दोमुखासम्मको २.९ किलोमिटर सडक कालोपत्रे गर्न नगरपालिकाले चालु वर्षको नगरस्तरीय बजेटबाट ६ करोड रुपैयाँ विनियोजन गरेको नगर प्रमुख रोशन थोप्राले जानकारी दिए । सडक निर्माणका लागि प्रदेश र केन्दसँग पटकपटक पहल गर्दासमेत सुनुवाइ नगर्ने प्रवृत्तिले हैरान भएपछि नगरस्तरीय बजेटबाट स्रोत सुनिश्चित गरेको उनले बताए ।

दोमुखा जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्र हो । दोमुखा पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष रमेश तिम्सिनाका अनुसार दोमुखामा सिजनमा दैनिक करिब एक हजार पर्यटक घुम्न आउँछन् ।

‘सिजनमा पर्यटकको भीड हुन्छ, करिब एक हजार पर्यटक त सधैं नै हुन्छ, सार्वजनिक छुट्टीको दिन त खुट्टा राख्ने ठाउँ हुँदैन, सिजनमा पिकनिक खान आउनेको संख्या पनि एकै दिनमा एक सयभन्दा बढी समूह हुन्छन्,’ उनले भने । राजमार्गदेखि नजिकको दूरीमा भए पनि दोमुखासम्म पुग्ने बाटोको अवस्था राम्रो नहुँदा पर्यटक तथा स्थानीयले गुनासो गर्दै आएको उनले बताए । ‘पर्यटकीय क्षेत्रको सडक भएकाले कालोपत्रेका लागि हामीले पनि धेरै वर्षदेखि पहल गर्दै आएका थियौं, नेतालाई भेट्यौं, मन्त्रालयसम्म पुग्यौं, कसैले सुनुवाइ गरेन,’ उनले भने, ‘अन्तिममा नगरपालिकाले नै सडक कालोपत्रे बनाउन पुग्ने गरी बजेट विनियोजन गरेको छ, हामी साह्रै खुसी छौं ।’ सडकमा दुइटा बक्स कल्भर्ट र दुइटा कज्वे निर्माण गर्नुपर्ने मेयर थोप्राले बताए । ७ मिटर चौडाइको कालोपत्रे गर्ने कार्य चालु वर्षभित्रै सक्ने गरी निर्माण प्रक्रिया अघि बढाइसकेको उनले बताए ।

इलामको सिमाना चुरे क्षेत्रमा पर्ने कनकाई नदी किनारमा अवस्थित दोमुखा पर्यटकीय क्षेत्र ४ बिघा क्षेत्रफलमा फैलिएको छ । आन्तरिक तथा बा≈य पर्यटकको संख्या वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले चालु वर्ष थप एक करोड रुपैयाँ उक्त पर्यटकीय क्षेत्रको भौतिक संरचना निर्माणका लागि समेत विनियोजन गरेको छ ।

प्रकाशित : मंसिर १८, २०७९ ०९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×