कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एउटै योजनालाई नगरको ६ करोड बजेट

अर्जुन राजवंशी

बिर्तामोड — झापाको शिवसताक्षी नगरपालिकाले नगरको एउटै योजनामा ६ करोड रुपैयाँसम्म बजेट विनियोजन गरेको छ । नगरको मुख्य पर्यटकीय क्षेत्र दोमुखासम्म पुग्ने सडक कालोपत्रका लागि नगरपालिकाले उक्त बजेट विनियोजन गरेको हो । 

पूर्वपश्चिम राजमार्गस्थित माईधारदेखि दोमुखासम्मको २.९ किलोमिटर सडक कालोपत्रे गर्न नगरपालिकाले चालु वर्षको नगरस्तरीय बजेटबाट ६ करोड रुपैयाँ विनियोजन गरेको नगर प्रमुख रोशन थोप्राले जानकारी दिए । सडक निर्माणका लागि प्रदेश र केन्दसँग पटकपटक पहल गर्दासमेत सुनुवाइ नगर्ने प्रवृत्तिले हैरान भएपछि नगरस्तरीय बजेटबाट स्रोत सुनिश्चित गरेको उनले बताए ।

दोमुखा जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्र हो । दोमुखा पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष रमेश तिम्सिनाका अनुसार दोमुखामा सिजनमा दैनिक करिब एक हजार पर्यटक घुम्न आउँछन् ।

‘सिजनमा पर्यटकको भीड हुन्छ, करिब एक हजार पर्यटक त सधैं नै हुन्छ, सार्वजनिक छुट्टीको दिन त खुट्टा राख्ने ठाउँ हुँदैन, सिजनमा पिकनिक खान आउनेको संख्या पनि एकै दिनमा एक सयभन्दा बढी समूह हुन्छन्,’ उनले भने । राजमार्गदेखि नजिकको दूरीमा भए पनि दोमुखासम्म पुग्ने बाटोको अवस्था राम्रो नहुँदा पर्यटक तथा स्थानीयले गुनासो गर्दै आएको उनले बताए । ‘पर्यटकीय क्षेत्रको सडक भएकाले कालोपत्रेका लागि हामीले पनि धेरै वर्षदेखि पहल गर्दै आएका थियौं, नेतालाई भेट्यौं, मन्त्रालयसम्म पुग्यौं, कसैले सुनुवाइ गरेन,’ उनले भने, ‘अन्तिममा नगरपालिकाले नै सडक कालोपत्रे बनाउन पुग्ने गरी बजेट विनियोजन गरेको छ, हामी साह्रै खुसी छौं ।’ सडकमा दुइटा बक्स कल्भर्ट र दुइटा कज्वे निर्माण गर्नुपर्ने मेयर थोप्राले बताए । ७ मिटर चौडाइको कालोपत्रे गर्ने कार्य चालु वर्षभित्रै सक्ने गरी निर्माण प्रक्रिया अघि बढाइसकेको उनले बताए ।

इलामको सिमाना चुरे क्षेत्रमा पर्ने कनकाई नदी किनारमा अवस्थित दोमुखा पर्यटकीय क्षेत्र ४ बिघा क्षेत्रफलमा फैलिएको छ । आन्तरिक तथा बा≈य पर्यटकको संख्या वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले चालु वर्ष थप एक करोड रुपैयाँ उक्त पर्यटकीय क्षेत्रको भौतिक संरचना निर्माणका लागि समेत विनियोजन गरेको छ ।

प्रकाशित : मंसिर १८, २०७९ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?