प्रदेश १ मा दुवै सदनमा एमालेकै पकड

प्रतिनिधिसभा एमाले १३, कांग्रेस ९, माओवादी केन्द्र ३, राप्रपा १, जसपा १ र स्वतन्त्र १
प्रदेशसभामा एमाले २५, कांग्रेस १७, माओवादी केन्द्र ९, एकीकृत समाजवादी ३ र राप्रपा २
देवनारायण साह

मोरङ — हालैको निर्वाचनबाट प्रदेश १ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एमालेकै पकड बनेको छ । सत्ता गठबन्धनलाई पछि पार्दै यस प्रदेशको १४ जिल्लास्थित २८ प्रतिनिधिसभामा १३ र ५६ प्रदेशसभामध्ये २५ निर्वाचन क्षेत्रमा एमालेले जित हासिल गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभामा एमालेले ५ र सत्ता गठबन्धनले ६ क्षेत्रमा एकलौटी जित हात पारे । अन्य क्षेत्रमा मिश्रित परिणाम आएको छ ।

प्रदेश १ मा दुवै सदनमा एमालेकै पकड

विवादका कारण स्थगित हुँदै पुन: गणना भएको सुनसरी–३ को परिणाम आएसँगै प्रदेश १ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत गणना बिहीबार सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यको ४ क्षेत्र रहेको सुनसरीमा एमालेले २, कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले १/१ क्षेत्र जितेका छन् । प्रदेशसभातर्फको ८ क्षेत्रमध्ये एमालेले ६ र कांग्रेसले २ क्षेत्रमा जित निकोलेको हो । सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदारको अपराजित यात्रामा विराम लगाउँदै एमालेकी भगवती चौधरीले जितेकी हुन् । सुनसरी २ मा प्रदेश १ का पूर्वमुख्यमन्त्री एमालेका भीमप्रसाद आचार्यले जितेका छन् । क्षेत्र १ मा जसपाका अशोककुमार राईले यस प्रदेशमा एक्लो जित निकालेका हुन् । क्षेत्र ४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले संघर्षपूर्ण जित निकालेका छन् ।

इलाममा पूर्वप्रधानमन्त्री नेकपा (एकिकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनाललाई हराउँदै दुवै क्षेत्रमा एमालेका महेश बस्नेत र सुवासचन्द्र नेम्वाङले जितेका छन् । ताप्लेजुङमा एमालेका योगेश भट्टराई, धनकुटामा राजेन्द्रकुमार राई दोस्रो र पाँथरमा बसन्तकुमार नेम्वाङले चौँथो पटक जितेका छन् । नेम्वाङले कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेलाई पराजित गरेका हुन् । सोलुखुम्बुमा कांग्रेसका बलबहादुर केसीलाई पराजित गर्दै एमालेका मानवीर राईले जितेका छन् । झापाको ५ मध्ये ४ वटा क्षेत्रमा विपक्षी गठबन्धन दल एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्रकुमार लिङ्देनलगायतले जित निकालेका हुन् ।

यस प्रदेशस्थित सबभन्दा बढी ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मोरङमा कांग्रेसले ३, एमाले, माओवादी केन्द्र, र स्वतन्त्रले १/१ र प्रदेशसभामा कांग्रेस र एमालेले ५/५ र माओवादी केन्द्रले २ क्षेत्रमा विजयी भएका छन् । मोरङ २ मा कांग्रेसकी सुजाता कोइरालालाई पराजित गर्दै एमालेका ऋषिकेश पोखरेल विजयी भएका हुन् । मोरङ क्षेत्र १, ३ र ६ मा क्रमश: डिगबहादुर लिम्बू, सुनील शर्मा र शेखर कोइराला जितेका छन् । क्षेत्र ४ मा माओवादी केन्द्रका अमनलाल मोदी दोस्रो पटक जित निकालेका हुन् । क्षेत्र ५ मा स्वतन्त्रबाट योगेन्द्र मण्डल विजयी भएका हुन् ।

उदयपुरको क्षेत्र २ मा एमालेका अम्बरबहादुर रायमाझीले एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका छन् । भोजपुरमा माओवादी केन्द्रका सुदन किरातीसँग प्रदेश १ का संस्थापक मुख्यमन्त्री एमालेका शेरधन राई, झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग एमालेका अग्निीप्रसाद खरेल, मोरङ ३ मा कांग्रेसका सुनिल शर्मासँग एमालेका भानुभक्त ढकाल, तेह्रथुममा कांग्रेसकी सिता गुरुसँग एमालेका विजय सुब्बा, कांग्रेसका कृष्णप्रसाद सिटौलालगायत केही चर्चित नेता पराजित भए ।

प्रदेशमा पनि अगाडि

सत्ता गठबन्धनलाई पछि पार्दै प्रदेश १ को ५६ निर्वाचन क्षेत्रमध्ये २५ क्षेत्रमा जित निकाल्दै एमाले पहिलो पार्टी बनेको छ । कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा (एकिकृत समाजवादी)ले ३ र राप्रपाले २ क्षेत्रमा जित हात पारेको हो ।

एमालेका झापा ५(१) बाट पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री एवं एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्की, इलाम २(१) मा पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एमालेका केन्द्रीय सदस्य रामबहादुर मगर, संखुवासभा १(२) बाट विदुर लिंथेप, झापा ३(२) मा छविलाल चुडाल, झापा ४(१) मा राधाकृष्ण खनाल, सुनसरी १(२) मा विजयकुमार राई र धनकुटा १(२) मा इन्द्रमणी पराजुलीले जितेका हुन् ।

एमालेले सुनसरीको क्षेत्र १, २ र ३ को ६ वटै, धनकुटाको दुबै, झापामा ६, मोरङमा ५ लगायत क्षेत्रमा जित निकाल्दै प्रदेशको पहिलो पार्टी बनेको छ । एमालेले प्रदेशमा समानुपातिक मत पनि सबभन्दा बढी ६ लाख ३२ हजार ७ सय ४ मत प्राप्त गरेको छ । समानुपातिकमा पनि एमालेले १४ प्रदेश सांसद पाउने निश्चित भइसकेको छ । यस प्रदेशस्थित ९३ सदस्यी प्रदेशसभामा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ प्रदेश सांसद निर्वाचित हुने छन् । समानुपातिक मतका आधारमा निर्वाचित हुने प्रदेश सांसदको संख्याका आधारमा एमाले गठबन्धनलाई नै बहुमत प्राप्त हुने देखिएको छ । एमाले गठबन्धनमा राप्रपा र जनता समाजवादी पार्टी पनि छन् ।

सत्ता गठबन्धन किन कमजोर ?

प्रदेश १ मा सत्ता गठबन्धनमा मत ट्रान्स्फर नहुनु र पार्टीभित्र अन्तर्घातका कारण गठबन्धन दलका उम्मेदवारहरु पराजित भएको दलका नेताहरुले निष्कर्ष निकालेका छन् । दलभित्रकै अन्तर्घातले मुख्यमन्त्रीको दावेदारीसहित सुनसरी २(२) बाट कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइराला र मोरङ ४(१) बाट प्रदेशसभा सदस्य उम्मेदवार भएका कांग्रेसका युव नेता गुरुराज घिमिरे पराजित भएको पार्टीसम्बद्ध नेताहरुको भनाइ छ ।

कांग्रेस नेता शेखर कोइरालाले पनि अन्तर्घातकै कारण घिमिरे र राजिव पराजित भएको दाबी गरे । कांग्रेसको बलियो जनाधार रहेको क्षेत्रमा माओवादी केन्द्र र एकिकृत समाजवादीका उम्मेदवारलाई मत ट्रान्स्फर नभएकाले पराजय बेहोर्नु परेको राजनीतिक विशलेषक प्राध्यापक भेषप्रसाद धमालको भनाइ छ । उनले सधैं रुख चिन्हमा मत हाल्नेले अन्यमा र सधैं हसिया हथौरामा मत हाल्नेले रुखमा मत हाल्न नसक्नुको परिणाम अहिले देखिएको बताए । यसका साथै टिकट वितरणमा नेतृत्वको मनोमानीलाई पार्टीसम्बद्ध नेता, कार्यकर्ता र मतदाताले अस्विकारेकाले गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभामा एमालेभन्दा कमजोर सावित भएको धमलाले औल्याए ।

प्रदेश १ का अपराजितहरु

मुलुकमा प्रजातन्त्र पुन:स्थापनापछि लगातार जित्ने केही नेताहरुले यसपटकको पनि निर्वाचनमा जितेका छन् । निर्वाचित भएर मुलुकको कार्यकारी प्रमुख र व्यवस्थापिका प्रमुखसम्म भएका नेताहरुले पुरानै क्षेत्रबाट पनि पुन: प्रतिस्पर्धा गरेर जित निकाल्ने अबसर पाएका हुन् । राष्ट्रिय राजनीतिमा प्रवाशाली भूमिका निर्वाह गर्दै आएकाले उनीहरुको विकल्पमा अन्य उम्मेदवार तयार हुन सकेका छैन । त्यही कारण सर्वसम्मत उम्मेदवारका रुपमा केही चर्चित नेताहरुले आमचुनावमा सहभागिता जनाएर जित्दै आएका छन् । केही भने जित्दै, बीचमा पराजित भएर पुन: जित निकाने नेताका रुपमा परिचय बनाएका हुन् । कतिपयले निर्वाचन क्षेत्र परिवर्तन गएर पनि अपराजित इतिहास कायम राखेका छन् ।

पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट लगातार निर्वाचित हुँदै यसपटक पनि जितेका छन् । उनी २०४८ यता २०६४ को पहिलो संविधानसभा बाहेक सबै आमचुनावमा विजय प्राप्त गरेका हुन् । एमाले नेता सुवासचन्द्र नेम्वाङ इलाम २ बाट पाँचौ पटक जितेका छन् । उनले जनआन्दोलनपछि पुन:स्थापित संसदको सभामुख र दुवै संविधानसभामा अध्यक्षको भूमिका निर्वाह गरेका हुन् । परराष्ट्रमन्त्री कांग्रेस नेता नारायण खडका उदयपुर १ बाट चौँथो पटक जितेका छन् । उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनदेखि लगातार जित्दै आएका हुन् । पाँचथरबाट एमाले नेता बसन्तकुमार नेम्वाङले चौँथो पटक जितेका छन् । उनले सत्ता गठबन्धन दल कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्दम्बेलाई दोस्रो पटक पराजित गरेका हुन् ।

कांग्रेस नेता शेखर कोइराला मोरङ ६ बाट तेस्रो पटक जितेका छन् । उनले एमालेका चर्चित नेता लालबाबु पण्डितलाई यसपटक पराजित गरेका हुन् । उनले यस क्षेत्रमा २०७४ को प्रतिनिधिसभा पण्डितसँग पराजित भएका थिए । मोरङ ४ बाट माओवादी केन्द्रका अमनलाल मोदीले दोस्रो पटक जित निकाल्दै तेस्रो संसदीय यात्रा तय गरेका छन् । उनी दोस्रो संविधानसभामा समानुपातिकबाट संसदीय यात्रा सुरु गरेका थिए । उनले यसपटक एमालेका केन्द्रीय सदस्य विनोद ढकाललाई पराजित गरेका हुन् । सुनसरी २ बाट एमाले नेता तथा पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यले पनि लगातार तेस्रे पटक जितेका छन् । उनी २०७४ को चुनावमा त्यही क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्रबाट जितेर मुख्यमन्त्रीसम्मको यात्रा तय गरेका थिए ।

दुई पटक काठमाडौंबाट पराजित भएका एमालेका योगेश भट्टराई ताप्लेजुङबाट दोस्रो पटक लगातार जितेका छन् । उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीलाई पराजित गरे । एमाले गठबन्धनबाट राप्रपाका राजेन्द्रकुमार लिङ्देन झापा ३, सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, एमालेका राजेन्द्रकुमार राई धनकुटा, माओवादी केन्द्रका सुनद किराती भोजपुरबाट लगातार दोस्रो पटक निर्वाचित भएका छन् । मोरङ २ बाट एमालेका ऋषिकेश पोखरेलले पनि दोस्रो पटक जित हासिल गरेका हुन् ।

अपराजित यात्रामा विराम

यस प्रदेशको सुनसरी ३ बाट मुलुकमा प्रजातन्त्र प्राप्ति पछि आमचुनावमा अपराजित यात्रा गर्दै आएका कांग्रेस नेता विजयकुमार गच्छदारको यात्रामा यसपटकको निर्वाचनमा एमालेकी भगवती चौधरीले विराम लगाइदिएकी छन् । २०४८ देखि अपराजित रहँदै आएका गच्छदार सधैं सत्ताको केन्द्रमा रहँदै आएका थिए । चौधरीले तेस्रो प्रयासमा गच्छदारलाई ५ हजार १ सय ८८ मतको अन्तरले अपराजित यात्रामा विराम लगाइदिएकी हुन् ।

यस्तै, इलाम १ बाट २०४८ देखि पाँचौ पटकसम्म निर्वाचन जितेर देशको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री तथा नेकपा(एकिकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनाल पनि यसपटक पराजित भएका छन् । उनलाई इलामका पूर्वप्रमुख एमाले नेता महेस बस्नेतले पराजित गरेका हुन् । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देनसँग दोस्रो पटक पराजित भएका छन् । सधैं सत्ता र शक्तिको केन्द्रमा रहने कांग्रेस नेता बलबहादुर केसीलाई पनि सोलुखुम्बुमा एमालेका मानवीर राईले पराजित गरेका छन् । मोरङ ३ बाट अघिल्लो पटक निर्वाचत भएर मन्त्रीसम्मको यात्रा गरेका एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाललाई कांग्रेसका सुनिल शर्माले फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

मोरङ ५ मा लगातार तेस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रेका माओवादी केन्द्रका शिवकुमार मण्डललाई स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले पराजित गरेका छन् । भोजपुरमा यसप्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईको तेस्रो संसदीय यात्रामा विराम लागेको छ । दोस्रो संविधानसभा र अघिल्लो प्रदेशसभामा जितेका राई यसपटक पराजित भएका छन् । मोरङ २ बाट गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरला पनि पराजित भएकी हुन् ।

मुख्यमन्त्री, ४ मन्त्रीसहित १३ निवर्तमान सांसद दोस्रो पटक विजयी

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र चार मन्त्रीसहित १३ निवर्तमान प्रदेश सांसद दोस्रो पटक जितेका छन् । मुख्यमन्त्री राई भोजपुर १(१), मोरङ ६(२) मा आन्तरिक मामिला तथा कानूनमन्त्री कांग्रेसका केदार कार्की, उदयपुर १(२) मा सडक, पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्की र पाँचथर १(२) मा आर्थिक मामिला तथा योजनामन्त्री माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र इलाम १(१) मा संस्कृति तथा पर्यटनमन्त्री एकिकृत समाजवादीकी खिनु लङ्वा लिम्बु निर्वाचित भएकी छन् ।

निवर्तमान प्रदेश सांसद एमालेका इलाम २(२) मा रामबहादुर मगर, झापा २(१) मा एकराज कार्की, झापा ५(१) मा हिक्मत कार्की, धनकुटा १(१) मा निरन राई र क्षेत्र १(२) मा इन्द्रमणी पराजुली, मोरङ ३(२) मा लिलाबल्लभ अधिकारी, संखुवासभा १(२) मा विदुरकुमार लिंथेप, सोलुखुम्बु १(२) मा बुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन् ।

कांग्रेसका माओवादी केन्द्रका उदयपुर २(१) मा नारायणबहादुर मगर निर्वाचित भएका हुन् । प्रदेश १ का तीनमन्त्री र उपसभामुखसहित १४ प्रदेश सांसद पराजित भएका छन् । स्वास्थ्यमन्त्री जनता समाजवादी पार्टीका जयराम यादव, कृषिमन्त्री माओवादी केन्द्रका झलकबहादुर मगर, यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे, उपसभामुख सरस्वति पोखरेललगायतका सांसदहरु पराजित भएका हुन् ।

प्रकाशित : मंसिर १६, २०७९ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?