कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रदेश १ : ६१ प्रतिशत प्रदेश सांसद स्नातक उत्तीर्ण

देवनारायण साह

मोरङ — पछिल्लो समय शिक्षितहरूको राजनीतिमा पहुँच बढ्दै गएको देखिन्छ । प्रदेश १ मा निर्वाचित भएर आएका करिब दुई तिहाइ प्रदेश सांसद शिक्षित छन् । प्रदेश १ को १४ जिल्लाका ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६०.७१ प्रतिशत अर्थात् ३४ नवनिर्वाचित प्रदेश सांसद स्नातक उत्तीर्ण छन् ।

प्रदेश १ : ६१ प्रतिशत प्रदेश सांसद स्नातक उत्तीर्ण

नवनिर्वाचित प्रदेश सांसदमा एमफिल गरेका एक, स्नातकोत्तर १२, स्नातक २१, कक्षा १२ अर्थात् प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण ११, एसएलसी उत्तीर्ण ७, माध्यमिक अध्ययन २, सामान्य लेखपढ गर्ने र दक्षता प्रमाणपत्र प्राप्त १/१ जना छन् ।

झापा ४ (२) बाट निर्वाचित प्रदेश सांसद राप्रपाका भक्तिप्रसाद सिटौलाले एमफिल गरेका छन् । कांग्रेसका मोरङ ६ (२) बाट निर्वाचित आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, मोरङ ४ (२) का भीम पराजुली, खोटाङ १ (२) का भूपेन्द्र राई र उदयपुर २ (२) बाट निर्वाचित प्रदेश सांसद रामकुमार खत्री स्नातकोत्तर गरेका छन् । एमालेका झापा ५ (१) बाट निर्वाचित पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की कानुनमा स्नातकोत्तर, संखुवासभा १ (२) बाट निर्वाचित विदुर लिंथेप समाजशास्त्रमा, झापा ३ (२) का छविलाल चुडाल, झापा ४ (१) का राधाकृष्ण खनाल, सुनसरी १ (२) का विजयकुमार राई र धनकुटा १ (२) का इन्द्रमणि पराजुली स्नातकोत्तर हुन् । यस्तै, मोरङ ६ (१) बाट निर्वाचित माओवादी केन्द्रका जीवन आचार्य अर्थशास्त्र र राजनीति शास्त्र विषयमा स्नातकोत्तर छन् ।

यस प्रदेशस्थित ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेले २५, कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा (एकीकृत समाजवादी) ले ३ र राप्रपाले २ क्षेत्र जितेका छन् । जसमा एमालेका निर्वाचित प्रदेश सांसदमध्ये ६ जनाले स्नातकोत्तर, ११ स्नातक, ४ जना आईए, एसलसी १, माध्यमिक तहसम्म अध्ययन २ र दक्षता प्रमाणपत्र प्राप्त १ जना छन् । यस्तै, कांग्रेसका नवनिर्वाचित प्रदेश सांसदमा स्नातकोत्तर ४, स्नातक ७, आईए १, एसएलसी ४ र सामान्य लेखपढ गर्ने १ जना छन् । माओवादीका स्नातकोत्तर १, स्नातक २, कक्षा १२ उत्तीर्ण १, आईए ३, आईएड १ र एसएलसी पास एक जना छन् । नेकपा (एकीकृत समाजवादी) का स्नातकोत्तर १, स्नातक १ र आईएड उत्तीर्ण एक प्रदेश सांसद निर्वाचित भएका हुन् ।

मोरङ ४ (१) बाट निर्वाचित प्रदेश सांसदमध्ये सबभन्दा कम उमेरका ३६ वर्षीय जीवन आचार्य दुईवटा विषयमा स्नातकोत्तर गरेका छन् भने सबभन्दा बढी उमेरका ज्येष्ठ नागरिक मोरङ ५ (१) बाट निर्वाचित कांग्रेसका गयानन्द मण्डल गनगाई एसएलसी उत्तीर्ण हुन् । मण्डलले नै पहिलो प्रदेशसभा बैठकको नेतृत्व गर्ने छन् । यस प्रदेशमा ४० भन्दा कम उमेरका ६, ४० देखि ६० उमेरका ३९ र ६० भन्दा बढी उमेरका ज्येष्ठ नागरिक ११ जना प्रदेश सांसदमा निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर १६, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?