१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पाँचथर : संसदीय यात्रामा कांग्रेस सधैं कमजोर

लक्ष्मी गौतम

पाँचथर — वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँचथरका ८ मध्ये ६ पालिकामा नेतृत्व लिन सफल नेपाली कांग्रेसले यसपटक जिल्लाबाट प्रदेश र प्रतिनिधिसभाका कुनै पनि सिट सुरक्षित राख्न सकेन । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गर्दा उसले प्रदेशसभाका २ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको थिएन । यहाँका दुवै प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेससँग गठबन्धन गरेका माओवादी केन्द्र र नेकपा एसले जिते पनि प्रतिनिधिसभा सदस्यमा कांग्रेस एमालेसँग ४६ मतान्तरले पराजित भयो ।

पाँचथर : संसदीय यात्रामा कांग्रेस सधैं कमजोर

यसअघि २०७४ को स्थानीय तह चुनावमा जिल्लाका ८ मध्ये ४ वटा पालिकाको नेतृत्व जितेको कांग्रेसले त्यो बेला वाम गठबन्धनसँग चुनाव लड्दा सबै क्षेत्रमा पराजय भोग्नुपरेको थियो । २०७४ र २०७९ मा जस्तै कांग्रेसले यस जिल्लामा २०४८ र २०५६ का आमनिर्वाचनमा पनि पराजय भोगेको थियो । २०४८ पछिको निर्वाचन इतिहासलाई नियाल्दा कांग्रेसका उम्मेदवार दीपकप्रकाश बाँस्कोटाले तत्कालीन पाँचथर क्षेत्र नम्बर १ बाट २०५१ को निर्वाचन जितेका थिए । त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा पूर्णकुमार शेर्माले पाँचथर क्षेत्र नम्बर–१ र २०७० को संविधानसभा सदस्यको निर्वाचनमा क्षेत्र नम्बर–२ बाट भीष्मराज आङदेम्बेले एमालेका डम्बरसिंह सम्वाहाम्फेलाई हराए पनि बाँकी निर्वाचनमा उठेका सबै उम्मेदवार पराजित हुँदै आएका छन् ।

कांग्रेसको भ्रातृ संगठन परिचालन, आकांक्षी व्यवस्थापन र नेतृत्वमाथिको असन्तुष्टिसँगै अन्तर्घातका कारण चुनाव हार्ने गरेको कांग्रेसकै अनुभवी नेताहरू बताउँछन् । पाँचथरका कांग्रेस सभापति रूपनारायण जबेगु यसअघिका निर्वाचनमा कांग्रेसको पराजयमा आन्तरिक कारण रहे पनि यसपटक अन्तर्घात नभएको दाबी गर्छन् । ‘प्रदेश निर्वाचन क्षेत्रका दुवै सिटमा नेकपा एस र माओवादी केन्द्रका उम्मेदवार विजयी गरायौं, दुर्भाग्यवश प्रतिनिधिसभा सदस्यमा कांग्रेसका भीष्मराज आङदेम्बे पराजित हुनुभयो, उहाँ पराजित हुनुमा कांग्रेसभित्रको अन्तर्घात भन्दा धेरै गठबन्धनमा रहेका सहयात्री दल र तिनका कार्यकर्ताको इमान्दारिता मुख्य कारण हो,’ उनले भने ।

गत स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र नेकपा एसलाई ३९ हजार र एमालेलाई २८ हजार मत प्राप्त भएको थियो । यसपटकको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सोही अनुपातको हार–जित हुनेमा गठबन्धन दलका नेता/कार्यकर्ता ढुक्क हुँदा प्रतिनिधिसभातर्फको परिणाम गुमाउनुपरेको जानकारहरू टिप्पणी गर्छन् । नेकपा एमालेका फिदिम नगर कमिटी अध्यक्ष जलकुमार तामाङ उम्मेदारको लोकप्रियतासँगै गठबन्धनमा रहेका दलहरूको कमजोरी पत्ता लगाएर मत माग्ने एमालेको रणनीतिका कारण चुनाव जित्न सफल भएको दाबी गर्छन् ।

‘हाम्रो उम्मेदवार निरन्तर जिल्लाका नागरिकसँगको सम्पर्कमा हुनुहुन्थ्यो, युवा, प्रौढ र वृद्धवृद्धामाझ लोकप्रिय रहेकै कारण हामीले परिणाम निकालेका हौं,’ उनले भने । कांग्रेसका उम्मेदवार युवापुस्तामाझ आंशिक मात्रै परिचित भएकाले पनि आफूहरूलाई सजिल्लो भएको उनको बुझाइ छ । कांग्रेसका जिल्ला सहसचिव सन्तोष श्रेष्ठ अरू समयमा कांग्रेसी भनेर परिचय दिनेहरूबाट पटकपटक धोका हुँदा संसदीय यात्रामा पार्टी कमजोर हुँदै आएको टिप्पणी गर्छन् । नेविसंघ, तरुण दल र महिला संघ जस्ता भ्रातृ संगठनका निर्वाचन समयमा गर्न नसक्दा पनि चलायमान हुन नसकेको उनको भनाइ छ ।

२७ जनाको जमानत जफत

यसैबीच पाँचथरबाट प्रदेश र प्रतिनिधिसभामा उम्मेदवारी दिएका ३३ मध्ये २७ जनाको धरौटी जफत भएको छ । प्रदेश र प्रतिनिधिसभाका विजेता र उपविजेताबाहेक सबैको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ कांग्रेस र एमालेसहित ३ स्वतन्त्रसहित १५ जना, प्रदेशसभा–१ मा २ स्वतन्त्रसहित १० जना र प्रदेश–२ मा ८ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : मंसिर १६, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?