सडक अलपत्र पार्ने निर्माण कम्पनीको एक्स्काभेटर र ट्याक्टर नगरपालिकाको नियन्त्रणमा- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक अलपत्र पार्ने निर्माण कम्पनीको एक्स्काभेटर र ट्याक्टर नगरपालिकाको नियन्त्रणमा

डम्बरसिं राई

खोटाङ — ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनीको एक्स्काभेटर र ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ । दिक्तेल हाटडाँडादखि लफ्याङ काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नतिको ठेक्का लिएर अलपत्र पार्ने लगलगे कन्ट्रक्सनको एक्स्काभेटर र ट्याक्टर मंगलबार नियन्त्रणमा लिइएको हो ।

करिब ४६ लाख रुपैयाँको लागतमा असार मसान्तसम्म सक्ने गरी सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गासंग २०७८ माघ २० गते सम्झौता गरेको थियो । उक्त म्याद समेत गुजारेपछि फेरि पुससम्मका लागि म्याद थपिएको छ ।

थपिएको समयसम्म काम सक्नुपर्नेमा निर्माणस्थलमा ल्याइएको निर्माण सामग्री लिएर भाग्ने प्रयास गरेपछि एक्स्काभेटर र ट्याक्टरहरुमा ताला लगाएर नियन्त्रण लिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाअध्यक्ष दिनेश घिमिरेले बताए । ‘सक्नु पर्ने समयमा कामै नगरी भाग्न लागेकाले एक्स्काभेटर र ट्याक्टर चाबी लगाएर नियन्त्रणमा लिइएको हो ।’ घिमिरेले भने, ‘सम्बन्धित निर्माण कम्पनी आएर काम सक्ने वातावरण नबनाइन्जेलसम्म नियन्त्रणमा लिन्छौं ।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्रभित्रका विभिन्न योजनाहरुको ठेक्का लिएर अलपत्र पारिएकाको भन्दै त्यसमा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयहरूले पनि नगरपालिकासँग आक्रोश पोख्दै आएका छन् । स्थानीयले योजना अलपत्र पार्नेलाई तत्काल काम गराउन र नगरे नगर प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राईलाई नै थुन्ने चेतावनी समेत दिएका छन् । ‘हामीलाई हेपिएको हो, जोसुकै होस् हामी छाड्दैनौं,’ स्थानीय दुर्गाप्रसाद घिमिरेले आक्रोश पोखे, ‘ठेक्का लिएर अलपत्र पार्नेहरूलाई कुनै पनि हालतमा छाड्नेवाला छैनौं ।’

प्रकाशित : मंसिर १३, २०७९ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्

सर्वाधिक मतान्तरसहित चुनाव जित्नेमा लामिछाने पहिलो

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यही निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक ३४ हजार ३१२ मतान्तरले चुनाव जितेका छन् । पूर्वसञ्चारकर्मी लामिछानेले चितवन क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्यमन्त्री उमेश श्रेष्ठलाई भारी मतान्तरसहित पराजित गरेका हुन् ।

यो क्षेत्रमा कुल ८४ हजार ३१५ मत खसेको थियो । त्यसमध्ये लामिछानेले ४९ हजार ३०० अर्थात् ५८.४७ प्रतिशत मत ल्याएर जितेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राज्यमन्त्री श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका छन् ।

लामिछानेपछि सर्वाधिक मतान्तरले चुनाव जित्नेमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल छन् । उनले ३४ हजार ३१२ मतान्तरले जितेका छन् । सुवालले ४२ हजार ७६१ मत ल्याउँदा नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाएका छन् ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले जितेका छन् । उनले ०७४ मा उनै अधिकारीलाई २८ हजार ८४२ मतान्तरले जितेका थिए । अधिकारीले यसपटक २६६ मतान्तर घटाएका छन् । ओलीले ५२ हजार ३१९ मत पाउँदा अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पनि २५ हजार २२९ मतान्तरले चुनाव जितेका छन् । उनले रोल्पाबाट नेकपा एमालेका पूर्ण बुढामगरलाई फराकिलो अन्तरले पराजित गरेका हुन् । पुनले ४१ हजार ७१४ मत पाए भने बुढामगरले १६ हजार ४८५ मत ल्याएका छन् ।

त्यस्तै, मोरङ–३ मा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले एमालेका भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरेका छन् भने सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले हराएका छन् । रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङले एमालेका कैलाश ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका छन् ।

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले एमालेका अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले जितेकी छिन् । गोरखा–१ मा कांग्रेसका राजेन्द्र बजगाईले एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ मतान्तरले पराजित गरेका छन् ।


प्रकाशित : मंसिर १३, २०७९ १८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×