३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदेश १ : प्रतिनिधिसभा र प्रदेशसभाका १२ महिला उम्मेदवारमध्ये ३ निर्वाचित

एक महिलाको अग्रता, एकले पछ्याउँदै र ७ महिला उम्मेदवार पराजित
देवनारायण साह

मोरङ — प्रदेश १ को १४ जिल्लास्थित २८ प्रतिनिधिसभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार भएका १२ महिलामध्ये तीन जनामात्रै निर्वाचित भएका छन् । सुनसरी-३ मा एमालेकी भगवती चौधरीको अग्रता छ भने उदयपुर-१ मा एमालेकी मञ्जुकुमारी चौधरी संघर्षरत छिन् । महिला उम्मेदवारमध्ये ७ जना पराजित भएका छन् । 

प्रदेश १ : प्रतिनिधिसभा र प्रदेशसभाका १२ महिला उम्मेदवारमध्ये ३ निर्वाचित

प्रतिनिधिसभा सदस्यमा तेह्रथुम-१ बाट संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री सीता गुरुङ, प्रदेशसभा सदस्यमा इलाम १(१) बाट संस्कृति तथा पर्यटनमन्त्री नेकपा (एकिकृत समाजवादी) की खिनु लङवा लिम्बु र झापा १(२) बाट राप्रपाकी सबिना बजगाईं निर्वाचित भएका छन् ।

सुनसरी-३ मा चौधरीले ३६ हजार ९३६ मत ल्याएर ५ हजार ५३५ मतको अग्रता कायम राखेकी छन् । उनलाई उक्त क्षेत्रबाट सातपटक निर्वाचित भइसकेका कांग्रेसका विजयकुमार गच्छदारले ३० हजार ६०१ मत ल्याएर पछ्याइरहेका हुन् । उक्त क्षेत्रमा अब बर्जु गाउँपालिकाको वडा ४, ५ र ६ को १० हजार ६३४ मत गणना गर्न बाँकी छ ।

यस्तै, प्रतिनिधिसभा सदस्यमा एमालेकी महिला उम्मेदवार मञ्जुकुमारी चौधरीले उदयपुर-१ मा परराष्ट्रमन्त्री कांग्रेसका नारायण खड्कासँग जितका लागि संघर्षरत छिन् । खड्काले २७ हजार ४८४ मत ल्याएर १ हजार ८२५ मतको अग्रता लिइरहेको अवस्थामा मञ्जुकुमारीले २५ हजार ६९५ मत ल्याएर पछ्याइरहेकी छन् । उक्त क्षेत्रमा १३ हजार ६४६ मत गणना गर्न बाँकी छ । मतपेटिकामा प्रदेशतर्फको एक सय मतपत्र भेटिएपछि विवाद भएको छ । विवादका कारण रोकिएको मतगणना निर्वाचन अधिकृतको कार्यलयले पुन: थाल्ने तयारी गरेको छ ।

प्रतिनिधिसभातर्फ गठबन्धन दल कांग्रेसकी सुजाता कोइराला मोरङ-२ र राप्रपाकी अभिनेत्री रेखा थापा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा पराजित भएकी छन् । कोइराला एमालेका ऋषिकेश पोखरेल र थापा कांग्रेसका सुनिल शर्मासँग पराजित भएकी हुन् ।

यस्तै, प्रदेशसभातर्फ निवर्तमान उपसभामुख माओवादी केन्द्रकी सरस्वती पोखरेल सुनसरी ३(१), धनकुटा १(२) मा माओवादी केन्द्रकी निवर्तमान प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठ, संखुवासभा १(२) मा निवर्तमान प्रदेश सांसद नेकपा (एकीकृत समाजवादी) की सरिता थापा पराजित भएकी छन् । यस्तै, इलाम १(१) मा एमालेकी शोभा पराजुली र मोरङ ६(१) मा एमालेकी रीता न्यौपाने पराजित भएकी छन् ।

पहिलो प्रदेशसभामा चार जना महिला उम्मेदवारमध्ये दुई जनाले मात्रै जितेर आएका थिए । इलामबाट खिनु लङबा र उदयपुरबाट कला घले जितेर आएकी थिइन् । यसपटक पनि खिनु लङ्बा दोस्रोपटक र बजगाईं पहिलोपटक प्रदेशसभामा निर्वाचित भएका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा न्यूनतम ३१ जन महिला प्रदेश सांसदको प्रतिनिधित्व गराउनै पर्ने संवैधानिक व्यवस्थाअनुसार समानुपातिकबाट ३७ मध्ये न्यूनतम २९ जना महिला छानिएर आउने भएको छ । अघिल्लोपटक समानुपातिबाट ३० जना महिला प्रदेश सांसद भएका थिए ।

एमालेबाट दुई निर्वाचित र समानुपातिकबाट १७ गरी १९, कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ४, तत्कालीन संघीय समाजवादी फोरम, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १/१ जना समानुपातिकबाट प्रदेश सांसद भएका थिए ।

प्रकाशित : मंसिर १३, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?