समानुपातिक पेटिकामा प्रत्यक्षका मत

लक्ष्मी गौतम

पाँचथर — प्रत्यक्षतर्फको अन्तिम मतगणनामा ४७ को मतान्तरले जितहार भइसकेपछि समानुपातिकतर्फका पेटिका खोल्दा प्रत्यक्षतर्फ हालिएका मतपत्र भेटिन थालेपछि पाँचथरमा प्रतिनिधिसभातर्फको मतगणना चर्चामा छ । जबकि त्यो बेला नेकपा एमालेका वसन्तकुमार नेम्वाङले प्रतिस्पर्धी कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मत अन्तरले हराएको खुसियालीमा समर्थकसहित सदरमुकाम फिदिममा वियज उत्सव मनाइसकेका थिए ।

समानुपातिक पेटिकामा प्रत्यक्षका मत

उक्त बेलासम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवार घोषणा र प्रमाण पत्र वितरण भने गरेका थिएनन् । समानुपातिकतर्फको गणना सुरु गर्दा प्रत्येक मत पेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिँदा केहीबेर प्रतिनिधिबीच चर्काचर्की हुँदा दुई घण्टा गणना रोकियो । मुख्य निर्वाचन अधिकृतको पहलमा बोलाइएको सर्वदलीय बैठकमा समानुपातिकतर्फका पेटिकामा भेटिएका मतपत्र गणना गर्ने सहमतिसँगै अहिले गणना जारी छ । पछिल्लो पटक खोलिएका पेटिकामा पनि प्रत्यक्षतर्फका मतपत्र भेटिने क्रम रोकिएको छैन । यसो भइरहँदा जितिसकेका उम्मेदवारलाई पुनः हारिएला कि भन्ने तनावसँगै हारेकालाई कतै एक/दुई मतले उछिनिएला कि ? भन्ने आशा पलाएको देखिन्छ । प्रत्यक्षतर्फको गणनामा झिनो मतान्तर रहेकाले उम्मेदवार र प्रतिनिधिसँगै तिनका समर्थक सबैको ध्यान यतिखेर गणना स्थलतर्फ खिचिएको छ ।

‘प्रत्यक्षतर्फको गणना सक्दा म विजयी भइसकेको छु, समानुपातिकको पेटिकामा पुनः प्रत्यक्षकै मतपत्र भेटिनु र तिनीहरूलाई गणना गर्नुपर्ने निर्देशिकाका कारण थेगिनसक्नु प्रेसर भएको छ’, एमाले उम्मेदवार नेम्वाङले भने ।

हालसम्म सबैभन्दा धेरै कांग्रेसलाई मत दिइएका १४ वटा मतपत्र भेटिएका छन् । एमालेलाई ८, नेकपा मालेलाई एक र दुई बदर भएका मतपत्र भेटिएका छन् । समानुपातिकतर्फका करिब ५८ हजार मत गन्दा प्रत्यक्षतर्फको गणनामा ४७ मतले जित र हार स्विकारेका आङदेम्वे र नेम्वाङबीचको प्रतिस्पर्धा अब ३८ को मत अन्तरमा खुम्चिएको छ ।

‘मतदानमा खटेका कर्मचारीको सानो त्रुटिले उम्मेदवारसँगै सबैलाई तनाव थपिदियो, एउटा निर्वाचन प्रणालीका मतपत्र अर्को प्रणालीका पेटिकामा खसालिँदा यो अवस्था आएको हो, यद्यपि प्रत्यक्षतर्फको गणनामा मत अन्तर फराकिलो नरहेकाले धैर्य गर्नुको विकल्प छैन,’ कांग्रेसका उम्मेदवार आङदेम्बे भन्छन् । अझै २२ हजारभन्दा धेरै मत गन्न बाँकी रहेकाले कांग्रेस समर्थकलाई कतै नतिजा उल्टिएला कि ? भन्ने चासो तथा एमाले समर्थकमा हारिएला कि भन्ने चिन्ता देखिन्छ । जिल्लामा कुल ७५ हजार ३ सय ५६ मत खसेका थिए ।

प्रदेशसभातर्फको समानुपातिकका पेटिकामा पनि प्रदेशतर्फका प्रत्यक्ष निर्वाचन प्रणालीका मतपत्र भेटिएका छन् । यहाँको थोक्पन मतदान केन्द्रमा मात्रै ८९ वटा मतपत्र भेटिएको गणकहरू बताउँछन् । यद्यपि ती मत कसलाई हालिएको छ भन्ने खुलाइएको छैन । पछिल्लो पटक खोलिएका प्रतिनिधिसभाका पेटिकामा पनि प्रदेश समानुपातिकतर्फका मतपत्र भेटिएको बताइएको छ । पाँचथरमा प्रदेशसभातर्फ समानुपातिक प्रणालीको पनि मत गणना सकिएको छ । प्राप्त पछिल्लो परिणाममा ७४ हजार ३ सय ५६ मत गन्दा एमालेले २६ हजार २ मत पाएर अग्रस्थान कायम गरेको छ । यस्तै कांग्रेसलाई १९ हजार ८ सय ८ र माओवादी केन्द्रलाई १० हजार ६ सय ७७ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताए ।

उनका अनुसार यस जिल्लाबाट नेकपा एसले २९ सय २०, लिम्बूवानले २ हजार ५ सय ५४ र राप्रपाले ३ हजार ३ सय ६१ मत पाएका छन् । जनता समाजवादी पार्टीलाई १ हजार ७ सय ९ मत प्राप्त भएको छ । जिल्लामा अब प्रतिनिधिसभातर्फको करिब २२ हजार मत गन्न बाँकी रहेकाले सबै मत गनिसकेपछि एकैसाथ प्रत्यक्षतर्फका विजेता उम्मेदवारको नाम घोषणा गर्दै समानुपातिकको पनि परिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत दाहालको भनाइ छ ।

प्रकाशित : मंसिर १३, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?