बाईबाई म्यादी- कोशी - कान्तिपुर समाचार
तस्बिरहरू

बाईबाई म्यादी

लक्ष्मी गौतम

पाँचथर — प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी औपचारिक रुपमा बिदाइ भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथर र मातहतका सबै कार्यालयले उनीहरुलाई बिदाई गरेका हुन् ।

प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा उनीहरुलाई प्रमाणपत्र वितरणसँगै अबिरको टिका लगाएर बिदाइ गरिएको थियो ।

यसरी बिदाइ हुँदै गर्दा केही म्यादीको अनुहारम उत्साह त केहीमा निराशा देखिन्थ्यो । करिब डेढ महिनाका साथीसंगी र गुरुवा गुरुआमासँग छुटिनु पर्दा नरमाइलो लागेको बिदाइको लाममा लागेमध्येकी एक जना सीता लिम्बूले बताइन् ।

छोटो अवधिमा भएपनि मुलुकले दिएको जिम्मेवारी पूरा गर्नका साथै शारीरिक व्यायाम गर्ने र अनुशासन सिक्ने अवसर अविस्मरणीय हुने उनीहरुले बताएका छन् । बिदाइमा पाँचथरका प्रमूख जिल्ला अधिकारी गणेश गैरे र प्रहरी नायब उपरीक्षक हरि खतिवडाले म्यादी प्रहरीलाई बधाई र धन्यवाद दिए ।

यस पटकको निर्वाचन प्रयोजनका लागि पाँचथरमा १ हजार १२ जना म्यादी प्रहरी नियुक्त भएका थिए ।

प्रकाशित : मंसिर ११, २०७९ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्

पोर्चुगलमा लमजुङका व्यवसायी गुरुङको निधन

आश गुरुङ

लमजुङ — पोर्चुगलमा रहेर व्यवसाय गर्दै आएका एक जना लमजुङका व्यवसायीको निधन भएको छ । लमजुङको दोर्दी गाउँपालिका–९ हिलेटक्सारका ४३ वर्षीय भक्तराज गुरुङको निधन भएको त्यहाँस्थित नेपालीले बताएका छन् ।

पोर्चुगलमा ५ वर्षदेखि रेष्टुरेन्ट सञ्चालन गर्दै आएका गुरुङको शनिबार निधन भएको व्यावसायिक साझेदार एवं लमजुङ समाज पोर्चुगलका निवर्तमान अध्यक्ष लोकेन्द्र गुरुङले बताए । उनका अनुसार शुक्रबार राति अबेरसम्म काइसोद्रेस्थित रेष्टुरेन्टमा काम गरेर घर फर्किने क्रममा गुरुङको एक्कासि टाउको दु:खेको जानकारी पाएपछि परिवार, साथीभाइ साथै आपतकालीन सेवाका डाक्टरको सहयोगमा उपचारको लागि अस्पताल पुर्‍याइएको थियो ।

तत्काल एम्बुलेन्स बोलाएर उपचारको लागि मार्टिममुनिजस्थित साओजोसे अस्पतालमा लगिएको र उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ‘रेष्टुरेन्टबाट घर फर्किने क्रममा उहाँको टाउको बेस्सरी दु:खेको खबर आयो । आपतकालीन डाक्टरको टिमले उपचार गर्दा नसकेपछि एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍यायौं,’ गुरुङले भने, ‘अस्पतालमा पनि उपचार सम्भव भएन । त्यसपछि ज्यान गयो ।’ पारिवारिक स्रोतका अनुसार गुरुङ उच्च रक्तचापका बिरामी थिए ।

परिवारका साथ विगत ९ वर्षदेखि पोर्चुगलमा बस्दै आएका भक्तराजको निधनले लमजुङ समाज पोर्चुगल स्तब्ध भएको समाजका अध्यक्ष गम्भीरजंग गुरुङले बताए । उनको निधनले समाज मर्माहत भएको उनले बताए । उनका अनुसार भक्तराजको शवलाई जन्मभूमि नेपाल (लमजुङ) पठाउने तयारी गरिएको र यसका लागि आर्थिक सहयोग गरिदिन लमजुङ समाज पोर्चुगलले सबैमा आग्रह गरेको छ ।

प्रकाशित : मंसिर ११, २०७९ १०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×