‘लालकिल्ला’ मा माओवादी ‘विलय’

झापामा पार्टी संगठन दर्बिलो नभएकै कारण लगातारको दुइटा चुनावमा नतिजाविहीनताको अवस्था
अर्जुन राजवंशी

बिर्तामोड — स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले अधिकांश स्थानमा अडान नछाड्दा केन्द्रमा बने जस्तो पाँचदलीय गठबन्धन झापामा कायम रहन सकेन । जिल्लामा राष्ट्रिय जनमोर्चाको संगठन छैन । बाँकी रहेका चारमध्ये सहमति जुट्न नसकेपछि अन्तिम समयमा एकीकृत समाजवादी र जनता समाजवादीले गठबन्धनबाट अलग हुने निर्णय गरे ।

‘लालकिल्ला’ मा माओवादी ‘विलय’

त्यो बेला जिल्लामा गठबन्धनका नाममा कांग्रेस र माओवादी केन्द्रले मात्र चुनावी तालमेल गरेका थिए । दुई पार्टीको सहमतिअनुसार वैशाखको चुनावमा माओवादीले उपप्रमुख र उपाध्यक्ष ९ पालिकामा तथा २३ वटा वडाध्यक्षमा उम्मेदवारी दियो । तर, नतिजा दाबी गरे जस्तो भएन । माओवादीले एउटा पनि उपप्रमुख/उपाध्यक्ष जितेन । वडाध्यक्ष ७ स्थानमा मात्र जित्यो । जुन, २०७४ को निर्वाचनभन्दा एक जना वडाध्यक्ष मात्र बढी थियो ।

उक्त नतिजाले झापाका माओवादी झस्किए । तर, जिल्ला नेतृत्वलाई ‘हावा’ लागेन । नेतृत्वले स्थानीय निर्वाचनको नतिजालाई सुधार गर्ने कुनै ठोस काम गरेन । फलस्वरूप, यो आमनिर्वाचनले झापामा माओवादीलाई ‘शून्य’ मा झारिदिएको छ । गठबन्धनभित्र रहेर पनि माओवादी जिल्लामा नतिजाविहीन हुन पुगेको छ । जसका कारण जिल्लामा माओवादीको अस्तित्व नै संकटमा परेको छ ।

माओवादीले यहाँ एक प्रतिनिधिसभा तथा चार प्रदेशसभा सदस्यमा उम्मेदवार उठाएको थियो । झापा–२ मा एमाले परित्याग गरेका हरि राना उम्मेदवार थिए । तर, उक्त क्षेत्रबाट एमालेका देवराज घिमिरेले जिते । चुनाव जित्ने दाबी गरिएका राना दोस्रोसमेत भएनन् ।

घिमिरेका निकटतम प्रतिस्पर्धी बने स्वतन्त्र उम्मेदवार भद्रप्रसाद (स्वागत) नेपाल । माओवादीको चुनाव चिन्हका राना स्वतन्त्र उम्मेदवार नेपालभन्दा पनि १२ हजार ५ सय मतले पछि पर्दै तेस्रो स्थानमै रोकिए । जिल्लामा माओवादीको अवस्था कस्तो छ भन्ने तस्बिर झापा ४ (१) ले थप प्रस्ट पार्‍यो । उसका झलकबहादुर मगर प्रदेश १ का कृषिमन्त्री छन् । बहालवाला प्रदेशमन्त्री मगर पूर्वशिक्षक एमालेका राधाकृष्ण खनालसँग चुनाव हार्न पुगे । मन्त्री मगरले आफ्नो क्षेत्रमा विकास निर्माणका दर्जनौं काम गरेका छन् ।

मगर माओवादीको जिल्लाका प्रमुखमध्येका नेतामा पर्छन् । शालीन र भद्र व्यक्तित्वका मगर जिल्लाका स्थापित र लोकप्रिय नेताकै रूपमा चिनिन्छन् । ‘उहाँले समेत चुनाव हारेको देख्दा हामीलाई गम्भीर बनाएको छ,’ पूर्वराज्यमन्त्री एवं माओवादी नेतृ धर्मशीला चापागाईंले भनिन्, ‘विकास निर्माणका काम मात्र गरेर चुनाव नजितिँदोरहेछ । जनतालाई संगठनको एजेन्डा र उद्देश्य बताउन सक्नुपर्दोरहेछ । संगठन पनि दर्बिलो हुनुपर्दोरहेछ ।’

जिल्लामा पार्टी संगठन दर्बिलो नभएकै कारण लगातारको दुइटा चुनावमा नतिजाविहीनताको अवस्थाबाट गुज्रिनुपरेको माओवादीका जिल्ला नेतृत्व स्वीकार गर्छन् । जिल्ला संयोजक राजु आचार्यले भने, ‘पार्टी एकता कमजोर हुँदा हामीले आशातित नतिजा प्राप्त गर्न नसकेका हौं ।’ साथै, उनले गठबन्धनभित्रको कांग्रेसले सहयोग नगर्दा जित्नुपर्ने स्थानमा पनि हार्नुपरेको आरोप लगाए । ‘हाम्रो पार्टीमा मात्र कमजोरी होइन । कांग्रेसभित्रको किचलो र झगडाको सिकार पनि हामी भयौं,’ उनले भने ।

झापामा ०४८ यताका सबै चुनावमा कम्युनिस्ट पार्टीको हालीमुहाली रहँदै आएको छ । उक्त वर्चस्व विशेष गरी एमालेले जमाउँदै आएको छ । पछिल्लो दुइटा स्थानीय निर्वाचनको नतिजाले समेत त्यो पुष्टि गर्छ । कम्युनिस्टको ‘लाल किल्ला’ मानिने झापाबाट माओवादी भने विलय उन्मुख देखिन्छ । १५ वटा पालिका र १ सय ३१ वडा रहेको जिल्लामा माओवादी ७ वटा वडामा खुम्चिएको छ ।

जिल्लामा माओवादीको जनाधार नभएको अनुभव प्रतिनिधिसभा सदस्यमा पराजित हरि रानाले समेत गरे । ‘माओवादीको संगठन त देखिन्छ तर जनाधारबिनाको । जनाधार नै भएन भने चुनाव पनि जितिँदैन,’ उनले भने । जिल्ला नेतृत्वका अनुसार जिल्लाका सबै पालिका र वडामा पार्टी संगठन छ । तर, ती संगठन चलायमान नहुँदा परिणाम हत्याउन नसकेको चापागाईंले बताइन् ।

‘पालिका र वडा कमिटी मात्र होइन, ठाउँमा विभिन्न सेलहरूसमेत बनाएका छौं तर हाम्रो पार्टी चलायमान भएन, हामीले कस्तो एजेन्डा र उद्देश्य लिएका छौं, जनतालाई बुझाउन सकेका छैनौं, त्यसैको परिणाम हो चुनावमा हामीले प्राप्त गरिरहेको अवस्था’ उनले भनिन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?