कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

५६ मध्ये ३६ क्षेत्रमा मतगणना

देवनारायण साह

मोरङ — प्रदेश १ स्थित प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्रमध्ये २७ वटाको प्रारम्भिक नतिजामा एमाले १२, सत्ता गठबन्धन १०, राष्ट्रिय स्वतन्त्र पार्टी ३, राप्रपा र स्वतन्त्रको १/१ क्षेत्रमा अग्रता लिएको छ । यस्तै यस प्रदेशस्थित ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ३६ वटा क्षेत्रको मतगणना भइरहेको छ । यसमा सत्ता गठबन्धनका २०, एमालेका १५ र राप्रपाको एक क्षेत्रमा अग्रता छ । 

५६ मध्ये ३६ क्षेत्रमा मतगणना

मंगलबार साँझ ६ बजेसम्मको मतगणनाको मत परिणाम अनुसार यस प्रदेशको १४ वटै जिल्लामध्ये सबभन्दा बढी ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा सत्ता गठबन्धनको ३, एमाले २ र एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवारको अग्रता छ । मोरङ क्षेत्र १ मा कांग्रेसका डीगबहादुर लिम्बुलाई पछि पार्दै एमालेका घनश्याम खतिवडा, क्षेत्र २ मा एमालेका ऋषि पोखरेललाई उछिन्दै कांग्रेसकी सुजाता कोइराला, क्षेत्र ३ मा एमालेका निवर्तमान सांसद भानुभक्त ढकालको भन्दा कांग्रेसका सुनिल शर्माको अग्रता कायम छ । यस्तै, क्षेत्र ४ मा एमालेका विनोद ढकाल भन्दा माओवादी केन्द्रका निवर्तमान सांसद अमनलाल मोदी, क्षेत्र ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल र क्षेत्र ६ मा निवर्तमान सांसद लालबाबु पण्डितभन्दा सुरुदेखि नै कांग्रेसका शेखर कोइरालाको अग्रता कायम छ ।

क्षेत्र २ कांग्रेसकी कोइराला र एमालेका ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा देखिएको छ । मंगलबार साँझ ६ बजेसम्ममा सुजाताले ४ हजार ३ सय ७० र पोखरेलले ४ हजार ३ सय १३ मत प्राप्त गरेका छन् । झापा १ मा विश्वप्रकाश शर्माले २१ हजार ७ सय २८ मत ल्याउँदा उनका मुख्य प्रतिस्पर्धी एमालेका अग्नी प्रसाद खरेलले १३ हजार ३ सय ९५ मत प्राप्त गरेका छन् । शर्मालाई उनका समर्थकहरूले सामाजिक सञ्जालमा बधाइ दिन थालेका छन् ।

झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले १० हजार ३६५ मत ल्याउँदा उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका कृष्ण प्रसाद सिटौलाले ७ हजार ८६४ मत प्राप्त गरेका छन् । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ६ सय ७१ मत ल्याउँदा उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार ९ सय १२ मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा बाम गठबन्धन गरेर यस प्रदेशमा १६ क्षेत्रमा जित निकालेका एमालेले मंगलबार साँझसम्ममा ताप्लेजुङ १, पाँचथर १, इलाको १ र २, झापको २, ३ र ५, मोरङको १, सुनसरीको ४, धनकुटाको १, संखुवासभाको १, तेह्रथुमको १ र उदयपुरको २ नम्बर क्षेत्रमा अग्रता लिएको छ ।

अघिल्लो निर्वाचनमा ५ क्षेत्रमा सिमित भएका कांग्रेसले यसपटक झापा १, मोरङ २, ३ र ६, ओखलढुंगाको १ र उदयपुरको १ नम्बर क्षेत्रमा अग्रता लिएको छ । यस्तै, गत निर्वाचनमा ६ क्षेत्रमा जितेका माओवादी केन्द्रले यसपटक मोरङको ४, सुनसरीको १, भोजपुरको १ र खोटाङको १ नम्बर क्षेत्रमा अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले यस प्रदेशको झापाको ४, सुनसरीको २ र ३, र स्वतन्त्रले मोरङको ५ नम्बर क्षेत्रमा अग्रता लिएको छ । प्रदेश १ का संस्थापक मुख्यमन्त्री एमालेका शेरधन राईलाई भोजपुर १ मा माओवादी केन्द्रका सुदन किरातीले र अर्का पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यलाई सुनसरीको क्षेत्र २ मा पछिपार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाले अग्रता लिएका छन् ।

प्रदेशसभामा कस्को अग्रता ?

प्रदेश १ मा ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये मतगणना भइरहेको ३६ क्षेत्रमध्ये सत्ता गठबन्धनको २०, एमालेको १५ र राप्रपाको एउटा क्षेत्रमा अग्रता रहेको छ । पहिलो प्रदेशसभा निर्वाचनमा बामगठबन्धनको बलमा ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ३६ र माओवादी केन्द्रले ११ गरी ४७ वटा क्षेत्रमा जितेका थिए । कांग्रेसले ८ र तत्कालीन संघीय समाजवादी फोरमले एउटा क्षेत्रमा चित्त बुझाएका थिए ।

यसपटकको निर्वाचनमा मंगलबार साँझ ६:३० बजेसम्मको मत परिणाम अनुसार सत्ता गठबन्धन दलमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६ र नेकपा (एकिकृत समाजवादी)ले ४, एमालेले १५ र राप्रपाले एउटा क्षेत्रमा अग्रता लिएको छ । मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सचिव राजेन्द्रकुमार राईले भोजपुर १(१) मा ४ हजार ६ सय ४८ मत ल्याएर अगाडि छन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?