२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रोकिएन बदर मत

मत गणनाको प्रारम्भिक चरणलाई हेर्दा प्रदेशभरि बढीमा ८ प्रतिशतसम्म मत बदर : प्रदेश निर्वाचन कार्यालय 
विनोद भण्डारी

विराटनगर — निर्वाचन आयोगले सजिलो मतपत्र तयार गरे पनि मोरङमा मत बदर हुने क्रम रोकिएन । गत स्थानीय निर्वाचनमा प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरको मेयरमा २४ प्रतिशत र उपमेयरमा ३८ प्रतिशत मत बदर भएको थियो । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा पनि बदर मतको ओइरो लागेको छ ।

रोकिएन बदर मत

विराटनगरको झन्डै आधा भूभाग समेटिएको मोरङ क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदस्यको ४ हजार ६ सय ९६ मत गणना गर्दा ६ दशमलव ४१ प्रतिशत अर्थात् ३ सय १ मत बदर भएको छ । त्यसैगरी प्रदेशसभातर्फ ४ हजार ६ सय ६९ मत गणना गर्दा ४ दशमलव २ सय १६ मत (६३ प्रतिशत) बदर भएको पाइएको छ ।

महानगरको केही वडा समेटिएको क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्फ १० हजार ४ सय ७९ मत गणना गर्दा ६ सय ५५ र प्रदेशसभातर्फ ११ हजार ४ सय ६७ मत गणना हुँदा ५ सय १० मत बदर भएको छ । त्यसैगरी विराटनगरकै केही वडा जोडिएको क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यतर्फ १२ हजार ३ सय ८२ मत गणना गर्दा १ हजार २६ मत बदर छन् । क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको ९ हजार ४ सय ८९ मत गन्दा ४ सय ५६ मत बदर भएको पाइएको छ ।

मत गणनाको प्रारम्भिक चरणलाई हेर्दा प्रदेशभरि बढीमा ८ प्रतिशतसम्म मत बदर भएको पाइएको प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवनकास्यप अधिकारीको भनाइ छ । जस्तोसुकै सजिलो मतपत्र भए पनि बदर हुने क्रम नरोकिनुमा दलको चुनाव प्रचारप्रसार कार्यले पनि सहयोग गरेको हुन सक्ने अधिकारीको बुझाइ छ । दलहरूले सिंगो गठबन्धनलाई मत माग्दा मतदातालाई बुझाउन नसक्दाको परिणाम भएको उनको तर्क छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मात्र नभएर समानुपातिक मत पनि बदर भएको अधिकारीले बताए । प्रदेश १ मा समानुपातिकका लागि ३६ वटा दलले मात्र बन्दसूची आयोगलाई बुझाएका छन् । तर समानुपातिकमा समेटिएका दलबाहेक चुनाव चिह्नमा पनि प्रशस्त मत खसेको पाइएको उनले जनाए । यसपालि प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, सिंगो समानुपातिक र प्रदेश समानुपातिक मतपत्रमा एक/एक छाप हान्नुपर्ने प्रावधान थियो । तर कुनै मत पत्रमा आठ वटासम्म छाप हानेको पाइएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । कुनै मत पत्रमा दुईदेखि ८ वटासम्म छाप लगाइएको छ । कुनैमा ल्याप्चे हानिएको छ । अधिकांश मतदातालाई मतदान केन्द्रमा स्वस्तिक चिह्न राखिएको हुन्छ भन्ने पनि जानकारी नभएको जस्तो देखिएको उनले बताए ।

‘मतदान शिक्षा पुगेको जस्तो देखिँदैन,’ बुढाथोकीले भने, ‘एक मतपत्रमा एक छाप हान्नुपर्ने र त्यहाँ स्वस्तिक चिह्न हुन्छ भन्ने मतदातामा शिक्षा नपुगेको जस्तो देखियो ।’ निर्वाचन आयोगको केन्द्रीय कार्यालयले लाखौं रुपैयाँ खर्चेर रेडियो, टेलिभिजन, पत्रपत्रिका र विभिन्न विद्युतीय सञ्चार माध्यमबाट मतदाता शिक्षा प्रसारण गरेको थियो । क्षेत्रीय निर्वाचन कार्यालय प्रमुख अधिकारीका अनुसार स्थानीय निकायले हरेक वडामा एकदेखि दुई जनासम्म कर्मचारी खटाएर मतदान गर्ने तरिका सिकाएको थियो । तर पनि मत बदर हुने क्रम रोकिएन । ‘यस पटकको यस्तो सजिलो मतपत्रमा पनि मत बदर हुनुमा गठबन्धन दलले मत माग्दा मतदातालाई प्रस्ट बुझाउन नसक्नुलाई लिन सकिन्छ,’ उनले भने ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?