भोट खसाल्न हेलिकोप्टर चढेर !

आइतबारको निर्वाचनमा मतदानका लागि काठमाडौंदेखि स्थल, हवाईमार्ग हुँदै जिल्ला भित्रिने बढे
भानुभक्त निरौला

सोलुखुम्बु — पर्यटन व्यवसायी निराजन शर्मा काठमाडौंको कामको चापलाई थाँती राखेर मतदान गर्न यतिखेर गाउँ आइपुगेका छन् । दसैंमा समेत घर आउन नपाएका शर्माले भोट हाल्नकै लागि हेलिकोप्टर चढेर जिल्ला आए ।

भोट खसाल्न हेलिकोप्टर चढेर !

‘पाँच वर्ष जिल्लाको भविष्य कस्तो बनाउने भन्ने निर्णायक घडी भएकाले योग्य उम्मेदवार जिताउन आएको हुँ,’ नेचासल्यान–३ का मतदाता शर्माले कान्तिपुरसँग भने, ‘महँगो नै भए पनि हेलिकोप्टर चढेर नै भोट खसाल्न आएँ ।’

काठमाडौंमा छापाखाना सञ्चालन गर्दै आएका सोलुदूधकुण्ड नगरपालिका–३ का आङपुला शेर्पा पनि विमान सेवा नियमित नभए पछि सपरिवार हेलिकोप्टर चार्टर गरेर फाप्लु आएका छन् । उनी २ दिनसम्म हवाई उडान रद्द भएपछि हेलिकोप्टर लिएर गाउँ आएका हुन् । ‘चुनाव हामीलाई उत्सव जस्तै हो, बरु चाडबाडमा गाउँ आइँदैन, चुनाव त छुटाउने गरेको छैन,’ शेर्पाले भने ।

काठमाडौंको थानकोटमा घर बनाएर उतै निर्माण व्यवसायमा संलग्न हुँदै आएका नेचासल्यान–१ का अर्जुन बस्नेत पनि यो चुनावमा भोट हाल्नैका लागि सडक मार्ग हुँदै आइपुगेका छन् । ‘मुलुक रूपान्तरणका लागि चुनाव महत्त्वपूर्ण छ, त्यसैले एक भोट भए पनि किन खेर फाल्ने भनेर गाउँ आएको छु,’ बस्नेतको बुझाइ छ । माप्यदूधकोसी गाउँपालिकाका विकास राई पनि १० वर्ष पछि आफ्नो गाउँ फर्किएका छन् । उनी चुनावमा भोट खसाल्न मात्रै नभएर आफन्त र साथीभाइ भेटघाटको पनि राम्रो मौका मिल्ने बताउँछन् । विकासले भने, ‘गाउँ आउँदा चाडबाड आए जस्तै भइरहेको छ ।’

यो पटकको चुनावमा भोट खसाल्नकै लागि ३ हजारभन्दा बढी मतदाता जिल्ला भित्रिएका छन् । काठमाडौंबाट सडक मार्ग हुँदै दैनिक १० वटाभन्दा बढी सुमो गाडीहरू मतदाता लिएर आएका छन् । त्यस्तै हवाई मार्गमार्फत फाप्लु र लुक्ला विमानस्थलमा आउने यात्रुमा पनि अहिले मतदाता नै बढी छन् । वृद्धवृद्धा र बालबालिकाले मात्रै भरिभराउ रहेका गाउँहरूमा चुनावका कारण युवाको चहल पहल बढेको छ । ‘जन्ति होस या मलामी कहीं जाँदा पनि युवा भेटिँदैनन्, तर चुनाव आएपछि चाहिँ गाउँमा बग्रेल्ती युवा भेटिन्छन्,’ थुलुङदूधकोसी गाउँपालिका–१ का ७० वर्षीय जीवन बस्नेतले भने । अहिले कतिपय मतदाताहरूलाई राजनीतिक दलहरूले पनि खर्च गरेर जिल्ला ल्याइरहेका छन् । हिमाली जिल्ला आइजाइ खर्च महँगो हुने भएकाले आफ्नै खर्चमा आउनेको संख्या कम भएकाले पनि मतदातालाई उम्मेदवार र दलहरूले गाडी रिजर्भ गरेर ल्याउने गरेका छन् ।

८ वटा पालिका रहेको जिल्लामा ४० प्रतिशतभन्दा बढी मतदाता सहर र विदेशमा छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पनि काठमाडौंबाट हजारौं मतदाता ल्याउँदा ६८ प्रतिशत मात्र मत खसेको थियो । कुल जनसंख्या १ लाख ५१ हजार १९ रहेको यस जिल्लामा कुल ८१ हजार ५ सय २ मतदाता छन् । यसमा ४२ हजा १ सय ३३ पुरुष छन् भने ३९ हजार ३ सय ६९ महिला छन् । यहाँ १ प्रतिनिधिसभाको निर्वाचन क्षेत्र र २ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा यो पटक अधिकतम ६५ प्रतिशत मात्रै मत खस्ने अनुमान गरिएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?