कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दलित बस्तीमा उम्मेदवार न मतदाता शिक्षा

कुम्भराज राई

ओखलढुंगा — मोलुङ गाउँपालिका–१ कुन्तादेवीको साउनेपानी र डडुवागाउँमा ६३ घर दलित छन् । साउनेपानीकी इन्दिरा विक गाउँको अगुवा महिला हुन् । तर यसपटक चुनावमा भोट हाल्नुपर्छ भनेर उनको गाउँमा कुनै दलको कार्यकर्ता र उम्मेदवार आएका छैनन् ।

दलित बस्तीमा उम्मेदवार न मतदाता शिक्षा

‘फोन गरेर समेत भोट मागेका छैनन्,’ इन्दिराले भनिन्, ‘अरु त ठीकै थियो । हाम्रो गाउँमा पढेलेखेका मतदाता छैनौं । यसपटकको मतदान कसरी गर्ने भन्ने सिकाउन कोही आएनन् ।’ मौन अवधि सुरु भइसक्दा कोही नआएपछि यसपालि कसलाई भोट हाल्ने भन्ने दोधारमा छन् गाउँले ।

उनी भन्छिन्, ‘यो दलित बस्ती त हो पछि भोट हाल्ने बेला भन्दा नि हुन्छ भनेर हेपेको नि हुनसक्छ ।’ कक्षा ८ पढेकी सोही गाउँकी रन्जिता विकलाई समेत भोट हाल्ने तरिकाबारे थाहा छैन । दलित महिला वडासदस्यले आएर सिकाउलान् भन्ने लागेको छ । ‘खै मत कसरी हाल्ने भन्ने त अहिले सम्म थाहा छैन ।’ रन्जिताले भनिन्, ‘कसैले सिकाएमा भोट हाल्न जानुपर्ला ।’

साउनेपानीका ७० वर्षीय महेन्द्रबहादुर विक आरनमा काम गर्दै । तस्बिर : कुम्भराज राई/कान्तिपुर

प्राय: दलित बस्तीहरुमा उम्मेदवार मौनअवधिका बेला आश्वासन लिएर पुग्ने गर्छन् । कतिपय बस्तीमा त खानपिनको जोहोसमेत गरिदिन्छन् । भोट किन्न सकिने विश्वास उनीहरुमा हुन्छ । तर विस्तारै मतदाता सचेत हुन थालेका छन् । ‘अब दुईचार पैसा दिएर, मासु रक्सी ख्वाएर भोट हाल्ने दिन गए,’ ७० वर्षीय महेन्द्रबहादुर विकले भने, ‘मान्छे छानेर हाल्ने हो ।’

उपेक्षामा दलित

ओखलढुंगा–रामपुर पक्की सडकदेखि दुई सय मिटरजति तल पर्छ साउनेपानी गाउँ । वडाको सबै टोलबस्तीमा सडक ट्रयाक पुगिसकेको छ । तर साउनेपानीमा अझै सडक जोडिएको छैन । कोही बिरामी भयो कि स्ट्रेचर खोजेर मूल सडकसम्म निकाल्नैपर्छ ।

‘दस वर्षभन्दा बढी भयो हामीले बस्तीमा सडक ल्याइदेउ भनेर भोट माग्न आउँदा नेतालाई भनेको,’ महेन्द्रबहादुर विकले भने, ‘तर मेरो जीवनकालमा आउला जस्तो छैन । भोट माग्दा हुन्छ म ल्याइदिन्छु भने अहिलेसम्म कसैले ल्याइदिएनन् ।’

पिउने पानीको उत्तिकै बिजोग छ । अघिल्लो चुनावमा टक्सारको पानी ख्वाउँछु भनेर वडाध्यक्ष जिताए । तर नजिकै गैरीगाउँको पानीको पिउँदैछन् । हिउँद लागेपछि सुक्छ । त्यही मुहान पनि १७ हजारमा खरिद गरेर पानी ल्याइएको हो ।

छुवाछूत उस्तै

दलहरूले जुनसुकै निर्वाचनमा भोट माग्न आए पनि दलितको विभेद र छुवाछूतको एजेन्डा ल्याउँदैनन् । प्रश्न गरिहाले हामी छुवाछुत भेदभाव गर्दैनौं भन्छन् । ‘हाम्रै घरभित्र बसेर दिएको चिज सबै खान्छन्,’ महेन्द्र विकले भने, ‘तर उनीहरुको घर गयो भने हामीलाई छुवाछुत र विभेद उस्तै हुन्छ । दूध दोएको ढुंग्रो बोकेर आउँदा छुन्छन् कि झैं गरेर तर्केर हिँड्छन् ।’ आरन चलाउनेहरू अझै बालीघरे प्रथामा छन् ।

प्रकाशित : मंसिर ३, २०७९ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?