कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बढ्यो मतदान केन्द्रित चहलपहल

मदिरा बिक्रीवितरण, ओसारपसार र सेवनमा निषेध 
कैदीबन्दीलाई जिल्ला कारागार र निर्वाचन कर्मचारीका लागि अस्थायी केन्द्र
देवनारायण साह

मोरङ — आइतबार हुने निर्वाचनका लागि कर्मचारी खटाइएका मतदान केन्द्रमा पुगिसकेका छन् । अत्यधिक भीड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, विद्युत् प्राधिकरण, कृषि ज्ञान केन्द्र, महानगरपालिका, नगरपालिका र गाउँपालिकालगायतका कार्यालयका साथै प्रदेशका मन्त्रालयहरू यतिबेला सुनसान भएका छन् । 

बढ्यो मतदान केन्द्रित चहलपहल

जिल्ला प्रशासन कार्यालयमा सधैं घुइँचो लाग्ने राहदानी र नागरिकता फाँट शुक्रबार सुनसान थियो । दैनिक ५०/६० जनाको भीड लाग्ने यी फाँटहरूमा चुनाव लागेसँगै चहलपहल शून्यप्रायः छ । जिल्ला समन्वय समिति (जिसस) को कार्यालयमा भने भीडभाड छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् जिल्लाका निर्वाचन क्षेत्र ६ को कार्यालय यही कार्यालयमा राखिएकाले चहलपहल बढेको हो ।

स्थानीय विकास अधिकारीसहित कर्मचारीहरूका अधिकांश कोठाहरू निर्वाचनका लागि प्रयोग गरिएको छ । जहाँ कर्मचारीहरू स्वयं पस्न पाउँदैनन् । जिल्लाका करिब ५० वटा सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्था, विद्यालयहरू बन्द भएका छन् ।

मतदान केन्द्र र मतगणनास्थल तोकिएकाले विद्यालयहरूमा बिदा दिइएको छ । प्रतिनिधिसभा सदस्यका लागि ६ र प्रदेशसभा निर्वाचन क्षेत्र १२ रहेको मोरङमा ३ सय ६ मतदानस्थलका ८ सय ३९ मतदान केन्द्र तोकिएको छ । यसमा ५० वटा अति संवेदनशील र १ सय १४ वटा संवेदनशीलमा वर्गीकरण गरी त्यहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

मतदानका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले ६ हजार ७ सय १२ कर्मचारी खटाएको छ । प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी रहने व्यवस्था गरिएको प्रमुख निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले बताए । मतदानका लागि आवश्यक सामग्री लिएर कर्मचारीहरू तोकिएको मतदान केन्द्रमा पुगी सर्वदलीय बैठकलगायत मतदानका लागि आवश्यक तयारी गरिरहेको उनले बताए ।

जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । कैदीबन्दीका लागि जिल्ला कारागार मोरङ र निर्वाचनमा नखटिएका कर्मचारीका लागि आदर्श पुस्तकालयमा अस्थायी मतदान केन्द्र राखिएको छ । कैदीबन्दी र कर्मचारीले समानुपातिकमा मतदान गर्न पाउने व्यवस्था छ । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएकालाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाउन मतदान अधिकृतहरूलाई निर्देशन दिएको प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले बताए ।

आइतबारसम्म नाका सिल

जिल्ला प्रशासन कार्यालय मोरङले मतदानलाई ध्यानमा राखेर आइतबार मध्यरातसम्मका लागि सीमा नाका सिल गरेको छ । कार्यालयद्वारा जारी सूचनामा उक्त अवधिभरि मदिरा बिक्री, वितरण, ओसारपसार र सेवनसमेत निषेध गरेको छ । आफ्ना कर्मचारीहरू निर्वाचनमा खटिएकाले बिहीबारदेखि सोमबारसम्मका लागि कार्यालयबाट प्रवाह भइरहेको अत्यावश्यक बाहेकका सेवा ठप्प गरेको जनाएको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्यलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल वा अन्य निषेधित वस्तु लिएर जान निषेध गरिएको उसले जनाएको छ ।

प्रकाशित : मंसिर ३, २०७९ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?