कर्मचारीलाई पैदलमार्ग

आनन्द गौतम

ताप्लेजुङ — फक्ताङलुङ–६ लेलेप इलाडाँडाका १२ जनाको टोलीले लेलेप सुकेपानीदेखि ओलाङचुङगोलासम्मको १६ किमि लामो पैदलमार्ग मर्मत गरेका छन् । बीचमा खाने, बस्ने ठाउँ नभएकाले यो टोलीले पाल, कम्बल, खाना पकाउने सामग्री र भाडावर्तन लिएरै हिँडेको थियो । बाटोनजिकैको ओडार र चौरमा पाल टाँगेर बस्ने, पकाउने, खाने गरेर एक सातामा बाटो मर्मत गरेका हुन् ।

कर्मचारीलाई पैदलमार्ग

ओलाङचुङगोलादेखि याङमासम्मको बाटो मर्मतको जिम्मा गोला र याङमावासीले लिए । पहिरोले भत्काएर पाइला राख्नै नहुने बाटो चौडा बनाएका छन् । साना खोलामा काठे पुल राखेका छन् । चुनाव गराउनका लागि सदरमुकाम फुङलिङबाट जाने कर्मचारीको सहजताका लागि उनीहरूले दिनरात लागेर पैदलमार्ग बनाएका हुन् ।

खहरे तथा ठाडा खोला, वर्षामा आउने बाढी र पग्लेर बहने हिउँका डल्लाले यहाँका पैदलमार्ग बर्सेनि बिगार्छ । ‘पहिला हिँडेकाहरूले मार्गको पहिचान गर्न सक्ने भए पनि नयाँका लागि त्यो कठिन हुन्छ,’ केशेङहाङले भने, ‘बाटो नबनाउँदा नयाँ मान्छे त भुलिएर हैरानै हुन्छन् ।’

फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, ग्याब्ला, वडा–७ को ओलाङचुङगोला र याङमामा उम्मेदवारहरू भोट माग्न पुगेनन् । तर मतदान गराउने कर्मचारीहरू भने सदरमुकाम फुङलिङबाट हिँडिसकेका छन् । तिनै कर्मचारीको सहजताका लागि पैदलमार्ग समयमै निर्माण गरिदिएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामा बताउँछन् । उनका अनुसार दुई दिनको पैदलमार्ग निर्माणका लागि वडाले करिब डेढ लाख रुपैयाँ छुट्याएको हो । ३२ सय मिटरको ओलाङचुङगोलादेखि ४ हजार २ सय मिटरको याङमासम्म न्यून ज्यालामा स्थानीयले काम गरेका छन् ।

सदरमुकाम फुङलिङबाट याङमा पुग्न कम्तीमा तीन दिनसम्म लाग्छ । फुङलिङबाट एक दिनमा लेलेपको इलाडाँडा पुगिन्छ । त्यहाँबाट ८ देखि १० घण्टाको पैदल यात्रामा गोला पुगिन्छ । गोलाबाट दिनभरि हिँड्नसके याङमा पुगिन्छ । लेक लाग्ने जोखिम भएकाले विशेष ध्यान पुर्‍याएर जानुपर्ने वडाध्यक्ष शेर्पा बताउँछन् ।

भौगोलिक दृष्टिले डोल्पा र हुम्लापछिको तेस्रो ठूलो जिल्ला ताप्लेजुङको याङमामा ६१ मतदाता छन् । गत स्थानीय तहको चुनावमा यहाँ १४ मत झरेको थियो । २ सय ८४ मतदाता रहेको छिमेकी बस्ती ओलाङचुङगोलामा ८५ मत खस्दा १ सय ६९ रहेको घुन्सामा ८१ र ६७ मतदाता रहेको ग्याब्लामा ३२ मत खस्यो । यो पटक पनि त्यही अनुपातमा मत झर्ने आकलन स्थानीयको छ । लामो पैदलयात्रा गर्नुपर्ने भएकाले निर्वाचन गराउने कर्मचारीले सदरमुकामबाट सबैभन्दा चाँडो हिँड्नुपर्छ ।

सबैभन्दा ढिलो मतपेटिका आइपुग्ने पनि यहींको हुन्छ । सरकारले यी केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्ने बताएको छ । २०७४ र गत स्थानीय निर्वाचनमा पनि हेलिकोप्टरबाट ल्याउने बताइएको थियो । तर मौसमअनुकूल नहुँदा पैदलै ल्याउनुपर्‍यो । पातलो बस्ती र कम जनसंख्या रहेको हिमाली क्षेत्रमा मोटरबाटोको पहुँच पुगेको छैन । हरेक वर्षायाममा चल्ने खहरे खोला र हिउँका ढिस्का पग्लिएर खस्दा पैदलमार्ग बिग्रने गरेको वडाध्यक्ष शेर्पा बताउँछन् ।

बाक्लो हिउँ पर्ने पुस, माघ जस्तो मौसम र असार, साउनजस्तो बर्खायाममा त हिमाली बस्तीका गाउँमै थुनिन्छन् । यी क्षेत्रका मार्गहरू अवरुद्ध नै हुन्छन् । भौगोलिक कठिनाइका बाबजुद सुरक्षित मतपेटिका सदरमुकामसम्म ल्याउने दायित्व चुनावमा खटिएका कर्मचारीको हुने प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेल बताउँछन् ।

प्रकाशित : मंसिर ३, २०७९ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?