कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘धर्मै हुन्छ, भोट हाल्दिन्छु’

‘भोट हाल्नचाहिँ जान्छु, कसैले केही गर्छन् भन्ने आसले हैन, धर्म होस् भनेर ।’
कुम्भराज राई

ओखलढुंगा — मोलुङ गाउँपालिका–१ साउने गाउँकी ७० वर्षीया भवमाया बस्नेत शुक्रबार पारिलो घाममा मकै छोडाउन व्यस्त थिइन् । शुक्रबारै माइती आएकी छोरी दुर्गामाया खत्री उनलाई सघाइरहेकी थिइन् । नौला मान्छे देखेपछि भोट माग्न आएको ठानेका उनीहरू पछि भने गफिए । 

‘धर्मै हुन्छ, भोट हाल्दिन्छु’

‘आइतबार भोट हाल्नुपर्ने रे, अहिलेसम्म कोही भोट माग्न पनि आका छैनन्,’ भवमायाले भनिन्, ‘तपाईंहरू भोट माग्न आउनुभा होला भनेको हैन रहेछ ।’ भवमायाका श्रीमान् बितेको १९ वर्ष भयो । दुई छोरा र एक छोरी छन् । छोराहरूसँग छुट्टिएर मूलघरमा एक्लै बस्छिन् । आफू जस्तै बुढो भइसकेको घरमा उनको एक्लो दैनिकी बितिरहेको छ । ‘१५–१६ वर्षको उमेरमा बिहे गरेर यही घरमा भित्रिएकी थिएँ,’ उनले थपिन्, ‘खै, पहिला पहिला भोट माग्न आउनेले खरको छानो फालेर टिनको लगाइदिने भन्थे, अहिलेसम्म लगाइदिएनन् ।’

एकल महिलाको भत्ता बुझ्दै आएकी भवमायाले यस वर्षदेखि वृद्धा भत्ता लिने गरी कागजात पेस गरेपनि पाएकी छैनन् । सधैं आश्वासन दिँदै नेताहरू चुनावमा भोट माग्न गाउँ आउने गरे पनि यसपालि कोही नआउँदा उनी छक्क परेकी छन् । भवमायाकी छोरी दुर्गामाया भन्छिन्, ‘यसपालि पार्टीलाई हैन राम्रो मान्छे छानेर भोट दिने सोच बनाएका छौं, जितेर जानेले केही गरेनन्, आफ्नै जिन्दगी मात्र बनाए ।’

भवमायालाई २०४८ को चुनावदेखि भोट हालेको याद छ । ०७० सम्म उनैले भोट हाल्थिन् । ०७४ देखि उनकी जेठी बुहारीले लगाइदिने गरेकी छन् । ‘बुढी भैयो, लेखपढ छैन, बिगार्छु होला भनेर जेठी बुहारीले लगाइदिन्छिन्,’ भनिन्, ‘भोट हाल्नचाहिँ जान्छु, कसैले केही गर्छन् भन्ने आसले हैन, धर्म होस् भनेर ।’

भोट हाल्दा पनि धर्म हुन्छ र भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘कम्तीमा हाम्रो भोटले जितेर उनीहरूले काठमाडौंमा घर बनाएका छन्, यही धर्म ठानेकी छु ।’ भवमायाको जेठो छोरा गाउँमै खेती गर्छन् । कान्छो विदेशमा छन् । छोरीतर्फका दुई नातिलाई अमिन पढाए पनि जागिर पाएनन् । भनसुन गर्न चिनेजानेका कोही भएनन् ।

‘आर्मीमा लगाइदिऊँभन्दा दुई/तीन लाख घूस खुवाउनुपर्छ भने,’ दुर्गामायाले भनिन्, ‘कसलाई घूस खुवाउनुपर्ने भन्ने मान्छेसम्म पाइएन, पहुँचबिना कुनै काम हुँदैन, केका लागि भोट हाल्ने ?’ साउने, डडुवालगायतका बस्तीमा भोट माग्न भने कोही आएनन् ।

प्रकाशित : मंसिर ३, २०७९ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?