कर्मचारीहरू निर्वाचनमा खटिँदा कार्यालय सुनसान

देवनारायण साह

मोरङ — प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार हुने निर्वाचनका लागि खटाइएका कर्मचारीहरू विभिन्न मतदान केन्द्रमा पुगिसकेका छन् । सेवाग्राहीको भीड धेरै हुने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, विद्युत प्राधिकरण, कृषि ज्ञान केन्द्र, महानगरपालिका, नगरपालिका र गाउँपालिका लगायत कार्यालय साथै प्रदेशका मन्त्रालयहरू भने सीमित कर्मचारीका कारण सुनसान देखिएका छन् ।

कर्मचारीहरू निर्वाचनमा खटिँदा कार्यालय सुनसान

जिल्ला प्रशासन कार्यालयमा सधैं घुइँचो लाग्ने राहदानी र नागरिकता फाँट सुनसान देखिन्छ । दैनिक ५०/६० जनाको भीड लाग्ने यी फाँटहरूमा चुनाव लागेसँगै पर्याप्त कर्मचारीहरू नै छैनन् । जिल्ला समन्वय समितिको कार्यालयमा भने निकै चहलपहल र भीडभाड छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् जिल्लाका निर्वाचन क्षेत्र ६ को कार्यालय यही कार्यालयमा राखिएकाले चहलपहल बढेको हो ।

निर्वाचनसम्बन्धी काम यहीँबाट हुने हुँदा भीडभाड उत्तिकै छ । जिल्ला समन्वय समितिमा नै निर्वाचनका सामग्री राखिएकाले जनप्रतिनिधिहरूलाई पनि आउन रोक लगाइएको छ । उनीहरू पनि आएका छैनन् भने कर्मचारीहरू निर्वाचनमा खटिएर गाउँ लागेका छन् ।

स्थानीय विकास अधिकारीसहित कर्मचारीहरूका अधिकांश कोठाहरू निर्वाचनको लागि प्रयोग गरिएको छ । जहाँ कर्मचारीहरू स्वयं पस्न पाउँदैनन् । जिल्लाका करिब ५० वटा सरकारी कार्यालहरू, बैंक तथा वित्तीय संस्था, विद्यालयहरू बन्द भएका छन् । विद्यालयहरूमा नै मतदानस्थल रहने हुँदा विद्यालयमा विदा दिइएको छ । सामुदायिकसँगै निजी विद्यालयहरू पनि बन्द गरिएका छन् ।

विद्यालय तथा केही सरकारी कार्यालयहरूमा मतदान केन्द्र राखिएकाले मतदान अधिकृतहरूले निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित बनाउन सर्वदलीय बैठक गर्नुका साथै मतदानका लागि मतदान केन्द्र निर्माण भइरहेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ६ र प्रदेशसभा निर्वाचन क्षेत्र १२ रहेको मोरङमा ३ सय ६ मतदान स्थलस्थित ८ सय ३९ मतदान केन्द्र तोकिएको छ । जसमा ५० वटा अतिसंवेदनशील र ११४ वटा संवेदनशीलमा वर्गीकरण गरी त्यही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

मतदानका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले ६ हजार ७१२ कर्मचारी खटाएको छ । प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी रहने व्यवस्था गरिएको प्रमुख निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले बताए । मतदानका लागि आवश्यक सामग्री लिएर कर्मचारीहरू आ–आफ्ना तोकिएको मतदान केन्द्रमा पुगेर धमाधम सर्वदलीय बैठक लगायत मतदानका लागि आवश्यक तयारी गरिरहेको उनले बताए ।

जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । कैदीबन्दीका लागि जिल्ला कारागार मोरङ र निर्वाचनमा नखटिएका कर्मचारीका लागि आदर्श पुस्तकालयमा अस्थायी मतदान केन्द्र राखिएको छ । कैदीबन्दी र कर्मचारीहरूले समानुपातिकमा मतदान गर्न पाउने व्यवस्था छ । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाउन मतदान अधिकृतहरूलाई निर्देशन दिएको प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले बताए ।

प्रकाशित : मंसिर २, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?