पुल नबन्दा सिलिचोङमा समस्या- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल नबन्दा सिलिचोङमा समस्या

दीपेन्द्र शाक्य

संखुवासभा — दुई वर्षअघि संखुवासभा सिलिचोङ गाउँपालिका–३ ताम्कुकी सुत्केरी सृजना कुलुडले अकालमा ज्यान गुमाइन् । उनलाई स्ट्रेचरमा राखेर भोजपुरको बुम्लिङ हुँदै अरुण नदीपारि खाँदबारी नगरपालिकास्थित हेलुवा बेंसीसम्म ल्याइयो । तर उनलाई समयमा अस्पताल पुर्‍याउन सकिएन । गाउँबाट अस्पतालसम्म सिधै एम्बुलेन्समा ल्याउन सकिएको भए उनलाई बचाउन सकिन्थ्यो ।

यो घटना महिलाको जीवन सुरक्षाको ठूलो मुद्दा बन्यो । अनि मात्र सिलिचोङका महिलाले राष्‍ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धारको सुविधा पाउन थाले । उक्त गाउँपालिकाको आफ्नै एम्बुलेन्स पनि छ । तर अरुण नदीमा पुल नभएकाले त्यो एम्बुलेन्सले सदरमुकाम खाँदबारीस्थित अस्पतालसम्म बिरामी ल्याउन सक्दैन । सिलिचोङको मुख्य समस्या नै उक्त नदी र संखुवा खोलामा मोटरेबल पुल नहुनु हो । प्रचूर सम्भावना भएर पनि सिलिचोङ पिछडिनुको मुख्य कारण पनि यही हो । गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाड भन्छन्, ‘गाउँपालिका सदरमुकामसँग जोडिएर पनि ओझेलमा छ ।’

०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन संखुवासभा क्षेत्र नं. २ बाट निर्वाचित कांग्रेस सांसद तारामान गुरुङको पहलमा पुल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर) तयार भयो । तर, ०७४ मा संखुवासभाबाट निर्वाचित एमाले सांसद राजेन्द्र गौतमले उक्त डीपीआर रद्द गराइदिएको आरोप अध्यक्ष मेवाहाङको छ । ‘नयाँ डीपीआर बनाउन समय लाग्ने नै भयो,’ उनले थपे, ‘त्यत्तिकैमा बित्यो पाँच वर्ष, अनि पुल निर्माण हुनै सकेन । मेवाहाङका अनुसार सुरुमा पुल बनाउनका लागि ठेक्का लिएको कम्पनीले काम गरेन । ‘उसको सम्झौता अवधि सकियो,’ उनले भने, ‘अनि फेरि अर्को कम्पनीलाई ठेक्का दिइयो, त्यो कम्पनीले पनि अहिलेसम्म काम सुरु गरेको छैन ।’

तम्बेमा पुल नबन्दा दैनिक उपभोग्य सामान भरियालाई बोकाएर गाउँमा पु‍र्‍याइने गरिएको छ । २०७४ पछि गठित सरकारले देशभरका पालिकाका केन्द्रलाई जिल्ला सदरमुकाममा जोड्ने योजना ल्याए पनि सिलिचोङमा लागू नभएको मेवाहाङले बताए । त्यतिबेलाका संघीय र प्रदेश सांसदबीच सिलिचोङलाई जोड्न छब्बीसे घाटबाट कि तम्बेबाट पुल निर्माण गर्ने भन्‍ने विवाद भएको उनको भनाइ छ ।

‘यो विवाद नसुल्झिँदा दुवै ठाउँमा पुल बनेन,’ उनले भने । अन्य वडामा गाउँपालिकाले सडक जोडिसकेको छ । ‘पुल नहुँदा प्रतिकिलो २ रुपैयाँका दरले झोलुंगे पुलबाट सामान तार्नुपर्छ,’ वालाका स्थानीय रोशन राई भन्छन्, ‘अरुण वारिपारि सडक संरचना तयार भएको छ तर पुल नै नहुँदा ती सडक जोडिएका छैनन् ।’

२० रुपैयाँ पर्ने नुन ४५ रुपैयाँमा किन्न बाध्य छन् । दैनिक उपभोग्य सामान ढुवानीमा अझै पनि भरिया र खच्चडको भर पर्नुपर्ने अवस्था छ । प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले ठेक्का लागि सकेपछि पनि निर्माण कम्पनीले काम गर्न नसक्दा ढिलाइ भएको बताए ।

प्रकाशित : मंसिर १, २०७९ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्

किमाथांका-खाँदबारी सडक नखुल्दा सास्ती

दीपेन्द्र शाक्य

संखुवासभा — भोटखोला गाउँपालिकाको बरुण बजारभन्दा माथिका बासिन्दाले किमाथांका खाँदबारी सडक तयार नहुँदा सास्ती खेप्नुपरिरहेको छ । वर्षामा बरुण नदीले ह्युमपाइप नै बगाइदिन्छ । त्यसपछि हटिया, हुंगुङ, लिंगम, चेपुवा, च्याम्ताङ, छुम्सुर, रिदाक, छुदाम र किमाथांकाका बासिन्दा खाँदबारीसँग सम्बन्धविच्छेदको अवस्थामा रहन्छ 

यो अहिले संखुवासभामा मुख्य चुनावी मुद्दा हो । सेनाले च्याम्ताङको जिरो पोइन्टबाट उक्त सडकको ट्र्याक ३ वर्षअघिबाट खनिरहेको छ । शंखेभीरमा अड्केको ट्र्याकको लम्बाइ १३.५ किलोमिटर छ । च्याम्ताङबाट घोडघोप्पासम्मको सडक सेनाले निर्माण गरिरहेको छ । गत असारसम्ममा ३.५ किलोमिटर ट्र्याक खुलिसकेको छ ।

साउनयता थप पाँच सय मिटर ट्र्याक तयार भइसकेको छ । शंखेभीर च्याम्ताङ र छुम्सुरको बीचमा पर्छ । सेनाले ९ मिटर चौडाइको ट्र्याक खोलिरहेको हो । शंखेभीर फोरेर ट्र्याक तयार हुनासाथ किमाथांकासम्म धूले सडक तयार हुन्छ । सेनाले असोज, कात्तिक, मंसिर र पुसमा सडक निर्माणका लागि कुनै अवरोध नहुँदा निर्माणलाई तीव्रता दिने गरेको छ । हेलिकप्टरबाट विस्फोटक पदार्थ निर्माण स्थलमा पु‍र्‍याएर सेनाले ट्र्याक खोल्ने काम गरिरहेको हो । गत फागुनमा त्यहाँ पुर्‍याएको झन्डै २४ टन विस्फोटक पदार्थले अहिले काममा तीव्रता दिइएको सेनाले जनायो ।

‘एकदमै जटिल भूगोल छ,’ किमाथांकाका नुर्बु भोटे भन्छन्, ‘डबल लेनको ट्र्याक तयार भइरहेको छ, खनिरहेको सडकमा नाला पनि निर्माण भइरहेको छ ।’ सेनाले काम गरिरहेको स्थलमा पुग्न भोटखोला गाउँपालिकाको गोला बजारबाट दुई दिन पैदल यात्रा गर्नुको विकल्प नभएको उनले बताए । ‘खाँदबारीबाट गोला बजारसम्म ८२ किलोमिटर सडक त पुगेको छ तर एकदमै जीर्ण छ,’ उनले भने, ‘यो सडकको स्तरोन्नति नहुँदा गोला बजारसम्म सार्वजनिक सवारीसाधन मुस्किलले चल्छ ।’

नुर्बुका अनुसार त्यस क्षेत्रमा खसीको मासुको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ छ । किसानले घरमा पालेका कुखुरा र अन्डाले पनि भाउ पाएका छन् । एउटा कुखुराको भालेको दाम पाँच हजार रुपैयाँसम्म पर्छ । स्थानीयस्तरमा उत्पादित आलुलगायत कृषि उपज खपत भइरहेको छ ।

सेनाले पनि स्थानीय बासिन्दासँग दरिलो सम्बन्ध बनाउन सैनिक नागरिक सम्बन्ध अभियान नै चलाएको छ । बिजुलीको ट्रान्सफर्मर घेराबन्दी गर्ने, विद्यालयहरूमा स्टेसनरी सामग्री वितरण गर्ने, कम्प्युटर, प्रिन्टरलगायत सामग्री हस्तान्तरण, स्थानीय क्लबहरूलाई खेलकुद सामग्री वितरण तथा आमा समूहहरूलाई आवश्यक सामग्री हस्तान्तरणलगायत काम भइरहेको छ ।

प्रकाशित : कार्तिक २६, २०७९ १२:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×