१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आचारसंहिता उल्लंघन गर्ने सोलुका ४ जनप्रतिनिधिलाई आयोगको स्पष्टीकरण

भानुभक्त निरौला

सोलुखुम्बु — निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा सोलुखुम्बुका तीन स्थानीय सरकार प्रमुख र एक उपप्रमुखलाई स्पष्टीकरण सोधिएको छ । 

निर्वाचन आचारसंहिता उल्लंघनबारे परेको उजुरीका आधारमा थुलुङ दूधकोसी गाउँपालिका अध्यक्ष असिम राई, माप्यदूधकोसी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पा र उपाध्यक्ष टासी ल्हामु शेर्पालाई जिल्ला आचारसंहिता अनुगमन समितिलेले लिखित स्पष्टीकरण सोधेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थुलुङ दूधकोसी गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका अध्यक्षहरुले स्पष्टीकरण पेस गरिसकेका छन् भने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पेस गर्न बाँकी छ ।

चार जनाकै जवाफ प्राप्त भएपछि आयोगमा पठाइने जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक रहेका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले बताए । थुलुङ दूधकोसी र माप्यदूधकोसी गाउँपालिका अध्यक्षविरुद्ध पालिका क्षेत्रको चुनावी सभामा भोट मागेको र खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले निर्वाचन आचारसंहिता लागू भइसकेपछि मतदातालाई प्रभावित पार्ने गरी खानेपानी र विद्युत् सर्वेका लागि प्राविधिक खटाएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

जिल्लाका अधिकांश जनप्रतिनिधिले चुनावी कार्यक्रमहरुमा आ–आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्न आमसभाहरुमा नै भाषण गर्दै आएका छन् । उजुरी समेतको बेवास्ता गर्दै जनप्रतिनिधिहरु भोट मार्ग्दै हिँडिरहेका छन् ।


प्रकाशित : कार्तिक ३०, २०७९ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?