१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

किमाथांका-खाँदबारी सडक नखुल्दा सास्ती

दीपेन्द्र शाक्य

संखुवासभा — भोटखोला गाउँपालिकाको बरुण बजारभन्दा माथिका बासिन्दाले किमाथांका खाँदबारी सडक तयार नहुँदा सास्ती खेप्नुपरिरहेको छ । वर्षामा बरुण नदीले ह्युमपाइप नै बगाइदिन्छ । त्यसपछि हटिया, हुंगुङ, लिंगम, चेपुवा, च्याम्ताङ, छुम्सुर, रिदाक, छुदाम र किमाथांकाका बासिन्दा खाँदबारीसँग सम्बन्धविच्छेदको अवस्थामा रहन्छ 

किमाथांका-खाँदबारी सडक नखुल्दा सास्ती

यो अहिले संखुवासभामा मुख्य चुनावी मुद्दा हो । सेनाले च्याम्ताङको जिरो पोइन्टबाट उक्त सडकको ट्र्याक ३ वर्षअघिबाट खनिरहेको छ । शंखेभीरमा अड्केको ट्र्याकको लम्बाइ १३.५ किलोमिटर छ । च्याम्ताङबाट घोडघोप्पासम्मको सडक सेनाले निर्माण गरिरहेको छ । गत असारसम्ममा ३.५ किलोमिटर ट्र्याक खुलिसकेको छ ।

साउनयता थप पाँच सय मिटर ट्र्याक तयार भइसकेको छ । शंखेभीर च्याम्ताङ र छुम्सुरको बीचमा पर्छ । सेनाले ९ मिटर चौडाइको ट्र्याक खोलिरहेको हो । शंखेभीर फोरेर ट्र्याक तयार हुनासाथ किमाथांकासम्म धूले सडक तयार हुन्छ । सेनाले असोज, कात्तिक, मंसिर र पुसमा सडक निर्माणका लागि कुनै अवरोध नहुँदा निर्माणलाई तीव्रता दिने गरेको छ । हेलिकप्टरबाट विस्फोटक पदार्थ निर्माण स्थलमा पु‍र्‍याएर सेनाले ट्र्याक खोल्ने काम गरिरहेको हो । गत फागुनमा त्यहाँ पुर्‍याएको झन्डै २४ टन विस्फोटक पदार्थले अहिले काममा तीव्रता दिइएको सेनाले जनायो ।

‘एकदमै जटिल भूगोल छ,’ किमाथांकाका नुर्बु भोटे भन्छन्, ‘डबल लेनको ट्र्याक तयार भइरहेको छ, खनिरहेको सडकमा नाला पनि निर्माण भइरहेको छ ।’ सेनाले काम गरिरहेको स्थलमा पुग्न भोटखोला गाउँपालिकाको गोला बजारबाट दुई दिन पैदल यात्रा गर्नुको विकल्प नभएको उनले बताए । ‘खाँदबारीबाट गोला बजारसम्म ८२ किलोमिटर सडक त पुगेको छ तर एकदमै जीर्ण छ,’ उनले भने, ‘यो सडकको स्तरोन्नति नहुँदा गोला बजारसम्म सार्वजनिक सवारीसाधन मुस्किलले चल्छ ।’

नुर्बुका अनुसार त्यस क्षेत्रमा खसीको मासुको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ छ । किसानले घरमा पालेका कुखुरा र अन्डाले पनि भाउ पाएका छन् । एउटा कुखुराको भालेको दाम पाँच हजार रुपैयाँसम्म पर्छ । स्थानीयस्तरमा उत्पादित आलुलगायत कृषि उपज खपत भइरहेको छ ।

सेनाले पनि स्थानीय बासिन्दासँग दरिलो सम्बन्ध बनाउन सैनिक नागरिक सम्बन्ध अभियान नै चलाएको छ । बिजुलीको ट्रान्सफर्मर घेराबन्दी गर्ने, विद्यालयहरूमा स्टेसनरी सामग्री वितरण गर्ने, कम्प्युटर, प्रिन्टरलगायत सामग्री हस्तान्तरण, स्थानीय क्लबहरूलाई खेलकुद सामग्री वितरण तथा आमा समूहहरूलाई आवश्यक सामग्री हस्तान्तरणलगायत काम भइरहेको छ ।

प्रकाशित : कार्तिक २६, २०७९ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?