२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

तोक्मेडाँडामा फाल्गुनन्दको पूर्ण कदको सालिक

आनन्द गौतम

ताप्लेजुङ — किरात धर्म दर्शनका पुनरुत्थानकर्ता राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १ सय ३८ औं जन्मजयन्ती शुुक्रबार सदरमुकाम फुङ्लिङमा मनाइँदै छ । फुङ्लिङको तोक्मेडाँडामा एउटै ढुङ्गालाई कुँदेर निर्माण गरिएको १५ फुट उचाइ, १ सय ३५ क्विन्टल वजनको फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

तोक्मेडाँडामा फाल्गुनन्दको पूर्ण कदको सालिक

सालिक अनावरणका लागि धर्मगुरु आत्मनन्द लिङ्देन, गुरुआमा साँवा पवित्रा हाङमा र प्रदेश १ का प्रमुख पर्शुराम खापुङ आउने किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्र सिं थेगीमले जानकारी दिए । थेगीमका अनुसार लिङ्देनले प्रवचन दिने कार्यक्रम पनि रहेको छ । फाल्गुनन्दको जन्म जयन्तीको दिन प्रदेश १ मा सार्वजनिक बिदा दिने निर्णय गत वर्ष देखि नै भएको छ ।

तत्कालीन समाजमा विद्यमान छोरीचेलीबाट रित नलिनु, नखानु, मासुमंश, मदिरा सेवन नगर्नु, वली पूजा नगर्नु नगराउनु लगायतका सात बुँदे समाज सुधारका नीति ल्याएका फाल्गुनन्दले थुमका किरातहरुलाई बोलाई बृहत् चुम्लुङ गरी तत्कालीन समाजका विकृतिहरुलाई हटाउन सत्यधर्म मुचुल्का खडा गरेको थेगीम बताउँछन् । किरात धर्मावलम्बीहरुको तीर्थ भूमि र मुक्ति भूमिको पहिचान गरेको, छरपष्टिएको एवं लोपोन्मुख सामाजिक मुन्धुमलाई संहिताकरण गरी पुन: लेखन गरेको, लोपोन्मुख किरात लिपिलाई प्रचारप्रसार गरेको, देश तथा विदेशमा माङ्हिम (मन्दिर) स्थापना गरेको र विभिन्न स्थानमा पहिरो रोक्ने, पानी उमार्ने, खडेरी भएको ठाउँमा पानी पार्ने जस्ता चामत्कारिक कार्य गरेकोले फाल्गुनन्दको महत्त्व रहेको थेगीम बताउँछन् ।

१९४२ साल कात्तिक २५ गते इलामको माङसेवुङ २ मा जन्मिएका फाल्गुनन्दको नाममा सरकारले २०५० सालदेखि १५ रुपैयाँको हुलाक टिकट जारी गरेको छ । माध्यमिक तहको नेपाली पाठ्यक्रममा समावेश गर्नुका साथै दमकदेखि पाँचथरको पञ्चमीसम्मको सडकलाई फाल्गुनन्द मार्गको नामाकरण गरिएको छ । २०६६ मंसिर १६ गते १६ औं राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

प्रकाशित : कार्तिक २५, २०७९ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?