फोक्सिङटारमा पक्की पुल निर्माण अन्तिम चरणमा

डिल्लीराम खतिवडा

उदयपुर — सुनकोसी नदीस्थित फोक्सिङटारमा पक्की पुल निर्माण अन्तिम चरण पुगेको छ । बिहीबार पुलको अन्तिम स्लाब ढलान सकिएको हो । खोटाङ र उदयपुरलाई सीधा यातायातले जोड्न ९ वर्षअघि पुल निर्माण सुरु गरिएको थियो । यो १ सय २० मिटर लामो ‘आर्क’ डिजाइनको पक्की पुल हो । 

फोक्सिङटारमा पक्की पुल निर्माण अन्तिम चरणमा

‘आर्क डिजाइनको पुलको फर्मा र प्राविधिक नेपालमा नहुँदा पनि निर्माणले गति लिन सकेन,’ योजना प्रमुख नितेश झाले भने, ‘यसअघि मुग्लिनमा प्रयोग गरिएको फर्मा र प्राविधिकबाटै सुनकोसीमा पनि काम गरियो ।’ सगरमाथा राजमार्गअन्तर्गत पर्ने सुनकोसीमा पुल नहुँदा कठिनाइ हुँदै आएको छ । राजमार्गको खोटाङ र उदयपुरतर्फको ट्र्याक खुलाई सकिएको छ । उक्त राजमार्ग खोटाङलाई पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गमा हो ।

पुल निर्माणका लागि २०७३ चैत २२ मा सम्पन्न गर्ने गरी २०६९ चैत २३ मा निर्माण कम्पनी गौरी–पार्वती–वाईपी जेभीसँग ठेक्का सम्झौता भएको हो । तर २०७३ कात्तिकमा पुलको डिजाइन परिवर्तन गरिएको थियो । डिजाइन परिर्वतनमा सडक विभागले ढिलाइ गरिदिँदा काममा असर परेको निर्माण कम्पनीका मदन मगरले बताए ।

पहिलो पटकको सम्झौताअनुसार निर्माण सकिने समयमा डिजाइन परिर्वतन गरियो । त्यसपछि नवौं संशोधनअनुसारको २०७७ पुस १३ सम्मको पहिलो म्याद सकिएपछि पुनः कोभिड–१९ को महामारीका कारण पुनः २०७८ को असार १२ सम्मका लागि दोस्रोपटक म्याद थपिएको थियो ।

सुरुको सम्झौता र त्यसपछि थपिएको म्यादमा पनि निर्माण कार्यमा सोचेजस्तो प्रगति हुन नसक्ने पुल योजनाका इन्जिनियर अजय साहले बताए । ‘तर २०७८ को असार १२ पछि भने निर्माणले तीव्रता लियो,’ उनले भने । अन्तिम पटक आगामी पुस ३० मा सम्पन्न गर्ने गरी थपिएको म्यादअनुसार नै काम सकिने उनले बताए । ‘अबको महिनापछि पुलमाथिबाटै गाडी गुडछ,’ पुल निर्माणको रेखदेख गरिरहेका योजनाका इन्जिनिर साहले भने, ‘पुससम्म पूर्ण रूपले निर्माण सकिन्छ ।’

अब पुलसँग जोडिने सडक निर्माण मात्रै बाँकी रहेको उनले बताए । सुरुमा फोक्सिङटारमा ‘सस्पेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको हो । तर त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्ने भन्दै २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको हो । फोक्सिङटारको भौगोलिक अप्ठ्यारोका कारण ‘सस्पेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएकाले डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनको पुल निर्माण गरिएको पुल योजनाले जनाएको छ ।

त्यसैले दोस्रोपटक डिजाइन स्वीकृत नहुन्जेल निर्माण कम्पनीले पुलको कामै गरेन । त्यसै पनि निर्माणमा ढिलाइ भएको सर्वसाधारणको गुनासो छ । पुल निर्माणमा समय लम्बिँदै जाँदा लागतसमेत बढेको छ । सुरुमा ८ करोड ५० लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर समय बढेसँगै मूल्य समायोजन गर्दा अहिले २२ करोड ६७ लाख ११ हजार पुगेको पुल योजनाले जनाएको छ ।

प्रकाशित : आश्विन २९, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?