प्रदेश १ को मुख्यमन्त्री दौडमा १० आकांक्षी

कांग्रेसका ६, एमालेका २, माओवादी र एसका एक–एक
देवनारायण साह

मोरङ — प्रदेश १ मा उम्मेदवारी दिएकामध्ये प्रमुख राजनीतिक दलका १० जना मुख्यमन्त्रीको दौडमा देखिएका छन् । जसमा सबैभन्दा बढी कांग्रेसका ६ जना छन् । कांग्रेस प्रदेश १ का निवर्तमान संसदीय दलका नेता राजीव कोइराला सुनसरीको क्षेत्र नं. २ (१) मा संस्थापनइतर समूहबाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए ।

तर त्यो क्षेत्रमा संस्थापन पक्षका सीताराम मेहताले टिकट पाएपछि कोइराला पुनः सुनसरी क्षेत्र २ (२) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

पहिलो प्रदेशसभामा कांग्रेसबाट उनी मुख्यमन्त्री बन्ने आशमा थिए तर संस्थापनइतर समूहका भएकाले पार्टीले उनलाई रोजेन । हाल प्रतिनिधिसभामा टिकट नपाएपछि पार्टीसम्बद्ध नेताले मुख्यमन्त्री बनाउने आश्वासनमा उनी पुनः प्रदेशसभा सदस्यमा उठेको बताइन्छ ।

कोइरालाले पहिले त आफूले चुनाव जित्नुपर्ने, त्यसपछि प्रदेशमा कांग्रेसलाई सरकार बनाउने हैसियत प्राप्त हुनुपर्ने अनि मात्रै मुख्यमन्त्री को बन्ने भन्ने विषय आउने बताए । उनले यस प्रदेशमा कांग्रेसबाट आफू नै मुख्यमन्त्रीको दाबेदार भएको पनि बताए । ‘मुख्यमन्त्री बन्न पार्टी नेताको आश्वासन हैन, कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवारहरू जितेर आउनुपर्ने हुन्छ । त्यसका लागि पार्टीका सबै लाग्नुपर्ने हुन्छ,’ उनले भने ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अमृत अर्यालले पनि पार्टी नेतृत्वबाट मुख्यमन्त्री बन्ने आश्वासन पाए पछि मोरङ क्षेत्र ५ (२) मा उम्मेदवारी दिएका छन् । उनी पार्टीका दुई कार्यकाल जिल्ला सभापतिका साथै निरन्तर दोस्रो पटक केन्द्रीय सदस्य भएका हुन् । उनी मोरङ ५ मा पहिलो संविधानसभादेखि नै संसदीय राजनीतिमा छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका अर्याल दोस्रो संविधानसभामा निर्वाचित भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलसँग पराजित भएका थिए ।

यसपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि मोरङ क्षेत्र ४ र ५ दुवैबाट उनको नाम पार्टीले सिफारिस गरेको थियो । तर दुवै क्षेत्र माओवादी केन्द्रको भागमा परे पछि पार्टीले प्रदेशको मोर्चा सम्हाल्ने जिम्मेवारी सहित टिकट दिएकाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको अर्यालले बताए । उनले चुनवा जितेपछि मात्रै मुख्यमन्त्रीको विषय आउने भएकाले अहिले यसबारे कुरा गर्नुको औचित्य नरहेको बताए । अर्याल पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् ।

कांग्रेसका प्रदेश १ सभापति उद्धव थापा पनि मुख्यमन्त्रीको दौडमा छन् । लगातार दुई कार्यकाल पार्टीको झापा जिल्ला सभापति पछि १४ औं महाधिवेशनमा उनी संस्थापनइतर समूहका गुरुराज घिमिरेलाई २ मतले हराएर प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । उनको नाम प्रदेश १ को समानुपातिक सूचीमा १ नम्बरमा छ । कांग्रेसका कृष्णप्रसाद सिटौला निकट उनले अनुकूल भए आफू मुख्यमन्त्री बन्ने बताए ।

सिटौला निकट अर्का कांग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरका पूर्वप्रमुख भीम पराजुलीले पनि आफूले जितेपछि मुख्यमन्त्री बन्ने भन्दै चुनावी प्रचारमा जुटेका छन् । उनी विद्यार्थी राजनीतिबाट विराटनगरको पार्टी सभापति हुँदै महानगर प्रमुखको टिकट पाएर जितेका थिए । उनले महानगर चलाएको अनुभवले आफू प्रदेशको नेतृत्व गर्ने भन्दै मतदातासँग मत मागिरहेका छन् ।

यता संस्थापनइतरका गुरुराज घिमिरे र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की पनि मुख्यमन्त्री बन्ने दौडमा छन् । घिमिरे मोरङ ४ (१) र कार्की मोरङ ६ (२) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । घिमिरेले ‘जितेपछि मात्र पार्टीले गरेको निर्णयका आधारमा अघि बढ्ने’ बताए । पहिलो प्रदेशसभामा संसदीय दलका प्रमुख सचेतक कार्कीले पार्टीले दिएको जिम्मेवारी इमानदारितापूर्वक पूरा गर्न तयार रहने बताए ।

५६ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा ५ दलीय गठबन्धनमा कांग्रेसले भागमा परेको २५ वटा क्षेत्रमा उम्मेदवार उठाएको छ । जसमा संस्थापन पक्षकै बाहुल्य छ । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २१ जनाले प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित भएर पहिलो प्रदेशसभा सदस्य भएका थिए । पहिलो प्रदेशसभामा कांग्रेस सुरुको साढे तीन वर्ष प्रमुख प्रतिपक्षीको भूमिका रहयो ।

यस्तै, प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकामध्ये एमालेमा पनि दुई जना मुख्यमन्त्रीका दाबेदार देखिएका छन् । एमालेका झापा ५ (१) का उम्मेदवार निवर्तमान प्रदेश सांसद हिक्मत कार्की र मोरङ ४(२) का उम्मेदवार निवर्तमान प्रदेश सांसद जीवन घिमिरे मुख्यमन्त्रीका दाबेदार छन् । प्रदेशमा नेकपाको सरकारमा कार्कीले आन्तरिक मामिला तथा कानुनमन्त्री र घिमिरेले सामाजिक विकासमन्त्रीको जिम्मेवारी पाएका थिए । कार्की एमाले अध्यक्ष केपी ओलीनिकट भएकाले मुख्यमन्त्रीको प्रमुख दाबेदारको रूपमा देखिएका हुन् । घिमिरे १० बुँदे पक्षधर भएकाले पार्टीले सुरुमा नै उनलाई पाखा लगाउने प्रयास गरेको थियो ।

जनता समाजवादी पार्टीसँग तालमेल गरेपछि एमालेले उनको क्षेत्र जसपाको भागमा छाडिदिएको थियो । तर उनले पार्टी अध्यक्ष ओलीको घरमा नै गएर पहल गरेपछि उम्मेदवारी दर्ता गराउने दिने दिउँसो टिकट दिइएको थियो । घिमिरेले अहिले पहिलो प्राथमिकता निर्वाचन जित्ने भएकालेले पछि प्रक्रियामा जाँदा मुख्यमन्त्रीमा दावी रहने बताए ।

एमालेबाट पहिलो प्रदेशसभामा मुख्यमन्त्री भएका शेरधन राई र भीमप्रसाद आचार्य प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएपछि कार्की र घिमिरे मुख्यमन्त्रीको दौडमा आएका हुन् । अघिल्लो प्रदेशसभामा एमालेका ५१ जना प्रदेशसभा सदस्य थिए । जसमध्ये नेकपा (एकिकृत समाजवादी) मा १० जना गएका थिए । यस्तै, माओवादी केन्द्रको पनि पाँचथरबाट प्रदेशसभा सदस्यमा दोहोर्‍याएका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो मुख्यमन्त्रीका दावेदारको रुपमा देखिएका छन् । अघिल्लो प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १६ जना प्रदेशसभा सदस्य जितेको माओवादीले यसपटक ५ दलीय गठबन्धनमा १९ वटा क्षेत्र पाएको छ ।

यस्तै, नेकपा (एस) बाट हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई पनि मुख्यमन्त्रीका आकांक्षी छन् । अघिल्लो प्रदेशसभामा १० जना प्रदेशसभा सदस्य हुँदा गठबन्धनको भागबन्डामा मुख्यमन्त्री पाएका उनले पुनः गठबन्धनबाटै मुख्यमन्त्री बन्ने दाउमा छन् । उनी भोजपुरबाट प्रदेशसभा सदस्यमा पुनः उम्मेदवारी दिएर चुनावी अभियानमा छन् । एसले यस प्रदेशमा गठबन्धनमा ११ वटा क्षेत्र पाएर उम्मेदवार उठाएको छ ।

कांग्रेस, माओवादी र एकिकृत समाजवादीमा मुख्यमन्त्रीका आकांक्षी देखिएकाहरू सबै गठबन्धनबाटै मुख्यमन्त्री बन्ने दाउमा छन् । ९३ सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि कुनै पनि दल वा प्रदेश सांसदलाई ४७ प्रदेशसभा सदस्य आवश्यक हुनेछ । जुन संख्या गठबन्धन दलमध्ये कसैको पुग्ने अवस्था नरहेको राजनीतिक दलका नेताहरू बताउँछन् ।

प्रकाशित : आश्विन २९, २०७९ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

फोक्सिङटारमा पक्की पुल निर्माण अन्तिम चरणमा

डिल्लीराम खतिवडा

उदयपुर — सुनकोसी नदीस्थित फोक्सिङटारमा पक्की पुल निर्माण अन्तिम चरण पुगेको छ । बिहीबार पुलको अन्तिम स्लाब ढलान सकिएको हो । खोटाङ र उदयपुरलाई सीधा यातायातले जोड्न ९ वर्षअघि पुल निर्माण सुरु गरिएको थियो । यो १ सय २० मिटर लामो ‘आर्क’ डिजाइनको पक्की पुल हो । 

‘आर्क डिजाइनको पुलको फर्मा र प्राविधिक नेपालमा नहुँदा पनि निर्माणले गति लिन सकेन,’ योजना प्रमुख नितेश झाले भने, ‘यसअघि मुग्लिनमा प्रयोग गरिएको फर्मा र प्राविधिकबाटै सुनकोसीमा पनि काम गरियो ।’ सगरमाथा राजमार्गअन्तर्गत पर्ने सुनकोसीमा पुल नहुँदा कठिनाइ हुँदै आएको छ । राजमार्गको खोटाङ र उदयपुरतर्फको ट्र्याक खुलाई सकिएको छ । उक्त राजमार्ग खोटाङलाई पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गमा हो ।

पुल निर्माणका लागि २०७३ चैत २२ मा सम्पन्न गर्ने गरी २०६९ चैत २३ मा निर्माण कम्पनी गौरी–पार्वती–वाईपी जेभीसँग ठेक्का सम्झौता भएको हो । तर २०७३ कात्तिकमा पुलको डिजाइन परिवर्तन गरिएको थियो । डिजाइन परिर्वतनमा सडक विभागले ढिलाइ गरिदिँदा काममा असर परेको निर्माण कम्पनीका मदन मगरले बताए ।

पहिलो पटकको सम्झौताअनुसार निर्माण सकिने समयमा डिजाइन परिर्वतन गरियो । त्यसपछि नवौं संशोधनअनुसारको २०७७ पुस १३ सम्मको पहिलो म्याद सकिएपछि पुनः कोभिड–१९ को महामारीका कारण पुनः २०७८ को असार १२ सम्मका लागि दोस्रोपटक म्याद थपिएको थियो ।

सुरुको सम्झौता र त्यसपछि थपिएको म्यादमा पनि निर्माण कार्यमा सोचेजस्तो प्रगति हुन नसक्ने पुल योजनाका इन्जिनियर अजय साहले बताए । ‘तर २०७८ को असार १२ पछि भने निर्माणले तीव्रता लियो,’ उनले भने । अन्तिम पटक आगामी पुस ३० मा सम्पन्न गर्ने गरी थपिएको म्यादअनुसार नै काम सकिने उनले बताए । ‘अबको महिनापछि पुलमाथिबाटै गाडी गुडछ,’ पुल निर्माणको रेखदेख गरिरहेका योजनाका इन्जिनिर साहले भने, ‘पुससम्म पूर्ण रूपले निर्माण सकिन्छ ।’

अब पुलसँग जोडिने सडक निर्माण मात्रै बाँकी रहेको उनले बताए । सुरुमा फोक्सिङटारमा ‘सस्पेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको हो । तर त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्ने भन्दै २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको हो । फोक्सिङटारको भौगोलिक अप्ठ्यारोका कारण ‘सस्पेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएकाले डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनको पुल निर्माण गरिएको पुल योजनाले जनाएको छ ।

त्यसैले दोस्रोपटक डिजाइन स्वीकृत नहुन्जेल निर्माण कम्पनीले पुलको कामै गरेन । त्यसै पनि निर्माणमा ढिलाइ भएको सर्वसाधारणको गुनासो छ । पुल निर्माणमा समय लम्बिँदै जाँदा लागतसमेत बढेको छ । सुरुमा ८ करोड ५० लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर समय बढेसँगै मूल्य समायोजन गर्दा अहिले २२ करोड ६७ लाख ११ हजार पुगेको पुल योजनाले जनाएको छ ।

प्रकाशित : आश्विन २९, २०७९ १०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×