चिसो छल्न औल झारिँदै भेडा

भानुभक्त निरौला

सोलुखुम्बु — चिसो मौसम सुरु भएसँगै बढेसँगै भेडालाई औल झार्न थालिएको छ । गर्मी मौसममा उच्च हिमाली भेगमा चरिचरणमा रहेका भेडालाई यस क्षेत्रमा जाडे बढेसँगै तल्लो भेगतिर झार्न थालिएको हो । मध्यपहाडी भेगमा ठूलो संख्यामा पालिने भेडाहरुलाई गर्मी मौसममा हिमाली क्षेत्र र जाडो मौसममा तल्लो पहाडी भेगमा लगिँदै आएको छ ।

चिसो छल्न औल झारिँदै भेडा

यस वर्ष दसैं आसपास नै परेको पानीले हिमाली क्षेत्रमा जाडो बढेकाले एकैचोटी अधिकांश भेडाहरु औल झारिएको व्यवसायीहरुले बताए ।

सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुंगाको रुम्जाटारका गुरुङ तथा राई समुदायहरुले पुस्तौं अघिदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले मौसम अनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने रुम्जाटारका व्यवसायी पदम गुरुङले बताए । ४ सय भेडाको गोठ नै झार्दै सदरमुकाम सल्लेरी आइपुगेका गुरुङले भेडाहरु उदयपुरको घुर्मी र सिन्धुलीसम्म लैजाने बताए । भेडाको ऊनबाट राडी–पाखी बनाइन्छ । ‘लेकमा रहँदै भेडाबाट ऊन निकाल्छौँ,’ रुम्जाटारका गुरुङले भने, ‘औलमा झर्दा भेडालाई न्यानो हुन्छ भनेर हामीले लेकमा नै ऊन निकाल्ने गरेका छौं ।’ उनका अनुसार ऊनबाट पनि मनग्य आम्दानी हुने गरेको छ ।

अन्य व्यवसायको तुलनमा भेडापालन निकै चुनौतीपूर्ण व्यवसाय हो । ‘कहिले हिमाल त कहिले तराई पुग्नुपर्ने हुन्छ, परिवार, चाडपर्व केही भन्न पाइँदैन,’ मुक्लिका पर्शुराम गुरुङले भने । भेडापालनबाट राम्रै आम्दानी गर्न सकिने भएपनि निकै कठिन भएकाले नै पछिल्लो युवापुस्ताले त्यसतर्फ मन नलगाउने हुँदा यो पेसा नै संकटमा पर्दै जान थालेको उनको भनाई छ ।

अहिले हिमालमा चिसो हुने भएकाले मध्य पहाडी भेगका जंगलहरुमा अधिकांश भेडीगोठहरु पाइन्छन् । गुरुङका अनुसार चिसो मौसममा पहाड हुँदै तराईसम्म भेडा लाने र फेरि गर्मी सुुरु भएपछि क्रमश: फर्काइने बताए । ‘भेडालाई धेरै चिसो र धेरै गर्मी हुनु हुँदैन, तापक्रम अनुसार गोठ स्थानान्तरण गरिरहनु पर्छ,’ नेचासल्यानका व्यवसायी युवराज राईले भने ।

प्रकाशित : आश्विन २५, २०७९ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?