प्रतिद्वन्द्वी पुरानै, प्रतिस्पर्धा नयाँ

कुम्भराज राई

ओखलढुंगा — २०७४ को निर्वाचनमा संघीय सांसद निर्वाचित भएपछि यज्ञराज सुनुवारलाई प्रतिद्वन्द्वी रामहरि खतिवडाले अंकमाल गरी बधाई दिए । सुनुवार तत्कालीन वामगठबन्धनका उम्मेदवार थिए । खतिवडा कांग्रेसका प्रत्यासी ।

प्रतिद्वन्द्वी पुरानै, प्रतिस्पर्धा नयाँ

एमालेका सुनुवारसँग त्यतिखेर माओवादी साथमा थियो । अहिले त्यही माओवादी कांग्रेसको साथमा छ । खतिवडा र सुनुवार पुन: प्रतिनिधिसभा सदस्यका लागि आमनेसामने भएका छन् ।

त्यसो त २०७० को दोस्रो संविधानसभामा तत्कालीन निर्वाचन क्षेत्र ‘१’ बाट सुनुवार र ‘२’ बाट खतिवडा निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा वामगठबन्धनसँग खतिवडा ५ हजार २ सय ५३ मत अन्तरले पराजित भए । लगातार दुई पटक चुनाव जितिसकेका सुनुवारले चार पटक सांसदको टिकट पाइसकेका छन् । जिल्लामा कांग्रेस र माओवादी गठबन्धन भई चुनावमा होमिएको छ । एमालेले एक्लै उम्मेदवारी दिएको छ । त्यसैले अघिल्लो चुनावभन्दा यो निर्वाचन रोचक हुने अनुमान छ ।

‘पहिलो कुरा त एमालेको संगठन पहिलेभन्दा बलियो भइसकेको छ,’ एमालेका उम्मेदवार सुनुवारले भने, ‘दोस्रो भनेको मेरो कार्यकालमा धेरै विकासका काम सुरु भएका छन्, त्यसलाई पूरा गर्न पनि मतदाता एमालेलाई जिताउन आतुर छन् ।’ कांग्रेसका उम्मेदवार खतिवडाले सुनुवारकै जस्तो तर्क गर्दै आफू निर्वाचित हुने बताए । ‘जिल्लामा कांग्रेस त्यसै पनि एमालेभन्दा बलियो पार्टी हो, साथै कांग्रेस ०४८ पछि एकताबद्ध भएर निर्वाचनमा होमिएको छ,’ उनले भने, ‘अर्कोतिर माओवादी केन्द्र गठबन्धनको रूपमा हाम्रो साथमा भएपछि विजय निश्चित छ ।’ जिल्लाको मुहार फेर्न ठूला विकासका आयोजना भित्र्याउने खतिवडाको मुख्य एजेन्डा छ ।

यी दुवै उमेरले समकालीन हुन् । उनीहरू ५० वर्ष हाराहारीका छन् । सुनुवार विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आएका हुन् भने खतिवडा ०४८ देखि लगातार कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । खतिवडा १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत हुन् । सुनुवार एमालेमा दोस्रो कार्यकालमा केन्द्रीय सदस्यको रूपमा छन् ।

०१५ को आम निर्वाचनदेखि ०५६ सम्मलाई नियाल्दा ओखलढुंगालाई कांग्रेसको गढ मानिन्थ्यो । ०६४ को संविधानसभामा दुवै निर्वाचन क्षेत्रबाट माओवादी निर्वाचित भएको थियो । यहाँ एमालेको इतिहासमा पहिलोपटक सांसदमा निर्वाचित भई सुनुवारले ०७० मा खाता खोलेका थिए । सुनुवार पार्टी संगठन विस्तारको दृष्टिमा लोकप्रिय युवा नेताका रूपमा चिनिन्छन् ।

जिल्लामा हाल १ लाख १७ हजार ८ सय ९७ मतदाता छन् । प्रतिनिधिसभाका लागि एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गरेका छन् । करिब ६० प्रतिशत मतदानको अनुमान गर्दा पनि निर्वाचित हुने उम्मेदवारले ३० हजार हाराहारी भोट ल्याउनुपर्ने देखिन्छ । स्थानीय तहको निर्वाचनमा आठ स्थानीय तहमध्ये पाँचवटाको प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित थिए ।

प्रकाशित : आश्विन २५, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?