कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

हाल्नै छोडिए लिंगेपिङ

सुम्निमा चाम्लिङ

इटहरी — नीलो आकाश, पारिलो घाम, चिसो बतास, खेतबारीमा लहलह झुलेको धानको बालासँगै आउने दसैं मनमोहक हुन्छ । उडिरहेको चंगा र पिङले बेग्लै आभास दिन्छ । आधा दशकअघिसम्म तराईका फाँटमा दसैंमा पिङ हाल्न युवा जमात व्यस्त भेटिन्थे । आजभोलि यो चलन हराउन थालेको छ । 

हाल्नै छोडिए लिंगेपिङ

इटहरीका ७९ वर्षीय विश्व रिजाललाई दसैं भन्नासाथ भोजपुरको सम्झना आउँछ । उनी उबेलाको समय सम्झँदै भन्छन्, ‘वल्लोदेखि पल्लो डाँडासम्मका सबै पिङ खेल्न जम्मा हुन्थे । नाँच्दै, गाउँदै पिङ खेल्दै बडादसैं मनाउने चलन थियो, अहिलेको पुस्ताले खासै चासो राखेको पाइँदैन ।’ इटहरीमा २०२७ सालतिर टोलपिच्छे पिङ लगाउने चलन थियो । प्रविधिको विकास भएसँगै पछिल्लो पुस्तामा यसको आकर्षण घटेको उनको अनुभव छ ।

मूर्तिकार विक्रम श्री पनि उबेलाको पिङको रौनक झल्झली सम्झन्छन् । फूलपातीअघि नै मुन्धुमअनुसार पूजा गरी पिङ राखिने चलन थियो । मावलीघर खोटाङमा काठको रोटे पिङ खेलेको उनी संझन्छन् । पछिल्लो समय मौलिकतामा ह्रास आएको उनलाई लाग्छ । पारिवारिक पुनर्मिलनको रूपमा मात्र चाडलाई लिन सकिन्छ ।

०५२ मा इटहरीमा प्रत्येक चोकमा पिङ लगाउने चलन थियो । ‘स्थानीयले बास र पैसा दिएर सहयोग गर्थे,’ उनले भने, ‘टोलमा पैसा उठाएर बाबियाको डोरी किन्न धरान जाने गरिन्थ्यो, स्वादिलो माहोल हुन्थ्यो ।’ उनका अनुसार टोलमा स्वतः स्फूर्त पिङ हाल्न युवा एकजुट हुने गर्थे । गाउँगाउँबीच कसले ठूलो पिङ हाल्ने भन्ने एक खाले प्रतिस्पर्धा जस्तै हुन्थ्यो । पिङको वैदिक महत्त्व भए तापनि पछिल्लो समय परम्परा छाड्दै गएकोमा उनी चिन्ता व्यक्त गर्छन् ।

पिङ खेल्ने संस्कृति बिस्तारै लोप हुँदै गएको साहित्यकार कुन्ता शर्मालाई पनि नमिठो लागेको छ । पिङ लगाएपछि मात्र दसैंको आभाष हुने सम्झना गर्दै भनिन्, ‘धरानका धेरै स्थानमा पिङ लगाइन्थ्यो, म चाहिँ खेल्नुभन्दा हेर्दा आनन्द मान्थेँ । खेल्नलाई तँछाडमछाड हुन्थ्यो, बेग्लै खाले उमंग हुन्थ्योे ।’ दसैंको सबल सांस्कृतिक पक्ष पिङ संरक्षणका लागि युवा लाग्नुपर्ने उनी बताउँछिन् ।

धरानकी १९ वर्षीया अर्पणा राईलाई लिंगेपिङको खासै अनुभव छैन । उनले भनिन्, ‘पिङ लगाएको देख्दा दसैं आएजस्तो लाग्छ, सानो हुँदा कतैकतै देखिन्थ्यो र खेलिन्थ्यो, अचेल देख्न पाइँदैन ।’ सामाजिक सांस्कृतिक संस्थाले पिङ जस्ता मौलिक परम्परा जगेर्नामा चासो नदिएको धरानका पुराना पत्रकार हर्ष सुब्बाले बताए । उनका अनुसार परम्परालाई धान्ने काम नयाँपिढीले गर्नुपर्छ । उनले भने, ‘दुर्गा पूजाका लागि अस्थायी मन्दिर बनाउन लाखौं खर्च उठ्छ भने पिङ लगाउँदासमेत सहयोग जुट्छ, चाडपर्वभन्दा पनि देखाउने काम मात्र भयो ।’ आधुनिकतातिर जाँदा मौलिक परम्पराप्रति अतिक्रमण भएकोमा उनले चिन्ता प्रकट गरे ।

मौलिकता संरक्षणका लागि प्रगतिमूलक काम गर्न नसकेको धरान उपहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले बताए । पिङप्रतिको आर्कषण घटेकोमा उनले भने, ‘मेला र कन्सर्ट केन्द्रित भयो, संस्कृति संरक्षणका लागि सामाजिक शाखामार्फत बजेट विनियोजन हुन्छ तर सामाजिक संस्थाले समेत सन्तोषजनक काम गरेको पाइँदैन ।’ पिङ हाल्ने युवा जनशक्ति विदेश पलायन हुनु, प्रविधी र सहरीकरणको कारण पिङ संस्कृति लोप हुँदै गएको पाइन्छ ।

प्रकाशित : आश्विन १५, २०७९ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?