धनकुटामा प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिएको भन्दै विरोध 

रमेशचन्द्र अधिकारी

धनकुटा — पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले धम्की दिएको भन्दै कर्मचारीले शुक्रबार विरोध जनाएका छन् । बिहीबार अपराह्न ४:५२ बजे सांसद राईले टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ । घटनाको विरोधस्वरुप कर्मचारीले पेनडाउन गरेको हुन् । 

धनकुटामा प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिएको भन्दै विरोध 

घटनाबारे प्रतिक्रिया दिँदै पौडेलले आफू कार्यालयको काममा रहेको बखत फोनमार्फत ज्यान मार्ने धम्की दिएको बताए । उनले कानुनी उपचारका लागि अघि बढ्ने जनाए । आफूबाट कमजोरी भएको प्रमाणित गर्न उनले चुनौती दिए । घटनाबारे राईले प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरपालिकामा व्यथितीजन्य क्रियाकलाप गरेको जनगुनासो आएकोले उनलाई सम्झाएको दाबी गरे ।

'अराजकता निम्त्याउने काम गरेकोले यत्ति गर्न जरुरी थियो,' राईले भने, 'मैले बोलेको अडियो रेकर्ड भाइरल हुन जरुरी थियो, भयो मलाई गुनासो छैन ।' पौडेलले मेयर, उपमेयरलाई झगडा गराउने, जनप्रतिनिधिलाई पार्टीगत व्यवहार गरेर भत्ता नदिनेलगायत कर्मचारीले गर्नै नहुने काम गरेकोले ज्यादती नगर्न चेतावनी दिएको राईको तर्क छ ।

पालिका र कर्मचारीको तर्फबाट निकालिएका दुवै विज्ञप्तिमा पौडेल स्वयंको हस्ताक्षर छ । राई र पौडेलबीचको टेलिफोन वार्ताको अडियो रेकर्ड सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ ।

प्रकाशित : आश्विन १४, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?