विराट एक्स्पो मंसिरमा- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराट एक्स्पो मंसिरमा

४१५ स्टल रहने प्रदर्शनीमा नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, थाइल्यान्ड, चीनलगायतका मुलुकको सहभागिता रहने
कान्तिपुर संवाददाता

विराटनगर — उद्योग संगठन मोरङले गर्दै आएको कृषि तथा औद्योगिक प्रदर्शनी मेला ‘विराट एक्स्पो २०७९’ को सातौं संस्करण मंसिरमा हुने भएको छ । उद्योग संगठनले बिहीबार पत्रकार सम्मेलन गरी मंसिर २९ देखि पुस ६ सम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पसको प्रांगणमा आयोजना गर्ने जनाएको छ । प्रत्येक २/२ वर्षमा उद्योग संगठनले प्रदर्शनी मेला आयोजना गर्दै आएको छ । 

उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले कृषि, कृषि उद्यम, उद्योग, पर्यटनलगायत समग्र प्रदेश १ को आर्थिक एवं औद्योगिक विकासका लागि उत्पादक, उपभोक्ता र मूल्य शृंखलाको परिधिभित्र पर्ने समग्र व्यावसायिक सेवा प्रदायकलाई आफ्नो उत्पादन तथा सेवाको बिक्रीवितरण तथा प्रचारप्रसारका लागि प्रदर्शनी मेला आयोजना गर्न लागिएको बताए ।

‘प्रदर्शनीको माध्यमबाट उत्पादक र उपभोक्ताबीच अनुभव आदानप्रदान एवं नयाँ प्रविधि पहिचानमा सहयोग पुर्‍याउने लक्ष्य छ,’ उनले भने, ‘कृषि उत्पादनको व्यवसायीकरण र पर्यटकीय नयाँ गन्तव्यको प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवर्द्धन, नवप्रवर्द्धक स्टार्टअपको व्यावसायिक विकास र स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजार विस्तारका लागि प्रदर्शनी उपयोगी हुने विश्वास छ ।’

प्रदर्शनी आयोजक समितिका संयोजक भोलेश्वर दुलालले आर्थिक एवं औद्योगिक गतिविधिलाई चलायमान बनाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं मनोरञ्जनलगायतका क्षेत्रको प्रवर्द्धन र विकासका लागि प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।

दुलालले कृषि औजार, उपकरण तथा नयाँ प्रविधिहरू, नयाँ प्रविधिका औद्योगिक मिल मेसिनरी तथा प्रत्यक्ष उत्पादन पद्धतिको प्रदर्शनी गरिने बताए । भने, ‘दैनिक प्याकेज टुर, स्थानीय खानाका परिकारको व्यवसायीकरणका लागि खाना उत्सव, बिजनेस टु बिजनेस सम्बन्ध स्थापित गर्न प्रदेशभरिका सबै जिल्लाहरूको दैनिक जिल्ला विशेष कार्यक्रमको व्यवस्था गरेका छौं ।’

‘४ सय १५ वटा स्टल रहने प्रदर्शनीमा नेपालभरिका साथै भारत, बंगलादेश, भुटान, पाकिस्तान, थाइल्यान्ड, चीनलगायतका मुलुकको सहभागिता रहनेछ,’ दुलालले थपे, ‘नेपाल, भारतलगायतका देशबाट ३ लाख बढीले प्रदर्शनीको अवलोकन गर्ने र त्यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ५० करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य छ ।’ प्रदर्शनी आयोजनाका लागि २ करोड ५० लाख खर्च हुने अनुमान रहेको उनले सुनाए ।

प्रदर्शनी आयोजनाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेश नं १ सरकार, उद्योग श्रम तथा रोजगार मन्त्रालय, विराटनगर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, स्विस कन्ट्याक्ट एवं नेपाल कृषि बजार विकास सहज परियोजनासँग प्रवर्द्धकका रूपमा सहकार्य गरिएको छ । प्रदर्शनीको सहयोगी संस्थाका रूपमा मोरङ व्यापार संघ र विराट व्यापार संघ रहेको आयोजकले जनाएको छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ ले स्वदेशी वस्तु उत्पादन, बजार व्यवस्थापन, नयाँ प्रविधि र वस्तुको पहिचान तथा प्रवर्द्धनको माध्यमले देश र प्रदेशको आर्थिक विकासका लागि कृषि तथा औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । विराटनगर–२ शंकरपुरमार्गमा आउँदो माघ १९ देखि २८ गतेसम्म ‘सीएनआई एक्स्पो २०२३’ आयोजना गर्न लागेको परिसंघ प्रदेश १ का एक्स्पो संयोजक राजेन्द्र राठीले बताए । उनका अनुसार एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृषियन्त्र, उपकरलगायत औद्योगिक मिल मेसिनरी, इलेक्ट्रोनिक्स, अटो, सूचना प्रविधिलगायत शिक्षा, स्वास्थ्य, पयर्टन क्षेत्रका गरी ३ सय ५० वटा स्टल रहनेछन् ।

नेपाल उवा महासंघ, प्रदेश १ को अगुवाइमा अपांगता भएकाका लागि विराटनगरमा पहिलो पटक रोजगार मेला गर्न लागिएको छ । मेलाले प्रदेश १ स्थित औद्योगिक तथा व्यापारिक प्रतिष्ठानलाई अपांगमैत्री बनाउनुका साथै तिनलाई समाजमा स्थापित गराउने उद्देश्य छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, द लेप्रोसी मिसन नेपाल, राष्ट्रिय अपांग महासंघ प्रदेश १ र करुणा फाउन्डेसनको सहयोगमा कात्तिक १८ देखि मेला आयोजना गर्न लागेको हो । मेलामा ३ सय अपांगता भएकालाई रोजगार दिने उद्देश्य रहेको द लेप्रोसी मिसन नेपालअन्तर्गतका फाउन्ड परियोजनाका अध्यक्ष विपिन दासले बताए ।

प्रकाशित : आश्विन १४, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी परिसरमा निःशुल्क यातायात

पाँचवटा विद्युतीय बसबाट पर्यटकलाई दसैं अवधिभरि लुम्बिनी र नजिकका बुद्ध स्थलहरूको भ्रमण गराइने
कान्तिपुर संवाददाता

भैरहवा — दसैं अवधिभरि बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका बौद्धस्थल भ्रमण गर्न चाहने यात्रु तथा पर्यटकलाई निःशुल्क यातायातको व्यवस्था मिलाइएको छ । लुम्बिनी विकास कोषले बिहीबारबाट पाँचवटा विद्युतीय बस सञ्चालनमा ल्याएसँगै पर्यटन प्रवर्द्धनका लागि यस्तो व्यवस्था मिलाएको हो । लुम्बिनीबाट सञ्चालन हुने पाँचवटा विद्युतीय बसबाट दसैं अवधिभरि लुम्बिनी र नजिकका बुद्ध स्थलहरूको भ्रमणका लागि निःशुल्क यातायातको व्यवस्था मिलाइएको कोषका सदस्य–सचिव सानुराजा शाक्यले जनाए ।

‘विजयादशमीको अवसरमा पाँचवटा विद्युतीय बस परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ,’ लुम्बिनीमा आयोजित विद्युतीय बस सञ्चालन समारोहमा बिहीबार उनले भने, ‘यी बसबाट पर्यटक तथा यात्रुलाई बृहत्तर लुम्बिनी क्षेत्रको भ्रमण गराउँछौं ।’

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रीय र रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रूपमा उद्घाटन गरेर ती बस सञ्चालन गरिएको छ । लुम्बिनीको वातावरण प्रदूषण न्यूनीकरण गर्न एसियाली विकास बैंकले अनुदानमा लुम्बिनी विकास कोषलाई तीन वर्षअघि उपलब्ध गराएको ती बस सञ्चालन गर्ने कार्यविधि र स्वामित्व कोषलाई हस्तान्तरण नगरिएकाले सञ्चालनमा आएका थिएनन् । पाँचवटा बससहितका १४ वटा विद्युतीय भ्यान सञ्चालनमा आउन नसकेर वर्षौंदेखि खुला आकाशमुनि घामपानी खाँदै लुम्बिनीमा थन्किएका थिए ।

कोषका अनुसार बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर ती बस बृहत्तर लुम्बिनी क्षेत्रमा सञ्चालन हुनेछन् । ती बसद्वारा लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोटको साइड परिक्रमा, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवाको सिमानाका बेलहियासम्म, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्धको मावलीस्थल देवदह, लुम्बिनीदेखि भैरहवाको बुद्धचोक हुँदै बुटवलको गोलपार्कसम्म निःशुल्क यातायातको व्यवस्था मिलाइएको छ । दसैं अवधिका लागि ती बस केही दिन परीक्षणका रूपमा सञ्चालन गरी बस र चार्जिङ स्टेसनको यान्त्रिक अवस्थाबारे जानकारी लिएपछि स्थायी रूपमा सञ्चालन गर्न कार्यविधि तथा मापदण्ड बनाइनेछ । विद्युतीय बस सञ्चालनमा आएपछि स्थानीय पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रीयले बताए । कोभिड, लकडाउन र सञ्चालनका क्रममा उत्पन्न प्रक्रियागत केही जटिलताका कारण विद्युतीय ती सवारीसाधन सञ्चालनमा ढिलाइ भएको उनको भनाइ छ । विद्युतीय सवारीसाधन सञ्चालन गर्नेबारे लुम्बिनी विकास कोषले एक महिनाअघिदेखि प्रदेश पर्यटन र यातायात कार्यालयमा नम्बर प्लेट परिवर्तन गर्न निवेदन दिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जनाए । गृहमन्त्रीको निर्देशनपछि सरकारी नम्बर प्लेटमा रहेका ती सवारीसाधनलाई हरियो प्लटेमा सञ्चालन गर्न लुम्बिनी प्रदेश पर्यटन मन्त्रालयले सहमति दिएको छ ।

प्रकाशित : आश्विन १४, २०७९ ०७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×