१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

खोटाङमा बढ्यो महँगी

डम्बरसिं राई

खोटाङ — दसैं, तिहारजस्ता चाडका बेला जिल्लामा उपभोग्य वस्तुको मूल्य बढेको छ । चामल, ग्यास, चिनीलगायत वस्तुमा महँगी बढेको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले बताए । उनका अनुसार जिरा मसिना चामलको मूल्य प्रतिकेजी ९० रुपैयाँको दरले प्रतिबोरा २२ सय ५० रुपैयाँ, सोना मन्सुलीको प्रतिकेजी ६० रुपैयाँको दरले बोराको १७ सय रुपैयाँ पुगेको छ ।

खोटाङमा बढ्यो महँगी

अन्य चामलको मूल्य पनि बढेको छ । मैदा प्रतिकेजी ६० बाट बढेर ८० रुपैयाँ पुर्‍याइएको छ । मैदा र चामलमा पहिलेको तुलनामा २० प्रतिशत मूल्य बढेको राईको भनाइ छ ।

चिनीको मूल्य एक सय रुपैयाँ पुगेको छ । मूल्य वृद्धि भए पनि बजारमा चिनी अभाव देखिएको छ । कालो दालको मूल्य प्रतिकेजी दुई सय रुपैयाँ पुगेको छ । नुनको मूल्य तीस रुपैयाँ छ । ग्यासको मूल्य पनि आकाशिएको छ । ग्यास प्रतिसिलिन्डर दुई हजार एक सय ५० रुपैयाँ पुगेको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका केन्द्र बाक्सिलामा पनि उपभोग्य वस्तुको मूल्य बढेको छ । उद्योग वाणिज्य संघ केपिलासगढीका अध्यक्ष शिवकुमार राईका अनुसार जिरा मसिना प्रतिकेजी ८८ रुपैयाँको दरले प्रतिबोरा २२ सय, सोना मन्सुली प्रतिकेजी ५५ रुपैयाँको दरले प्रतिबोरा १६ सय ५० रुपैयाँ पुगेको छ । मैदा प्रतिकेजी ६७ रुपैयाँ पुगेको छ ।

दिक्तेलमा भन्दा बाक्सिलामा केही सस्तो देखिएको छ । ग्यास भने प्रतिसिलिन्डर २४ सय रुपैयाँ पुगेको छ । ‘तराईबाटै मूल्य बढेर आएकाले भाउ बढाउनु परेको हो’– राईले भने । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाको केन्द्र खोटाङ बजारमा पनि उपभोग्य वस्तुको मूल्य बढेको छ । स्थानीय व्यवसायी दिनेशकुमार थापाका अनुसार जिरा मसिना चामल प्रतिबोरा २२ सय, सोना मन्सुली प्रतिबोरा १६ सय ५० रुपैयाँ, मैदा प्रतिकेजी ८५ रुपैयाँ पुगेको छ । ग्यास प्रतिसिलिन्डर २२ सय रुपैयाँ पुगेको थापाले सुनाए । खानेतेलमा भने प्रतिलिटर ५० रुपैयाँले घटेको छ । ‘भन्न पनि लाजमर्दो, तराईबाटै मूल्य बढेर आएकाले नबढाई धरै पाइएन,’थापाले भने ।

महँगीमा पनि प्रशासन भने मौन बसेको उपभोक्ताको गुनासो छ । पुरानो सामान बिक्री भइरहेकाले कतिपय उपभोग्य वस्तु अखाद्य भइसकेको हुन सक्ने दिक्तेल बेसक्याम्पका स्थानीय नेत्र कटवालले बताए ।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले भने यसबारेमा उद्योग वाणिज्य संघसंग बेला–बेलामा छलफल भइरहेको र बजार अनुगमन पनि भइरहेको बताए ।

प्रकाशित : आश्विन १३, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?