तिब्बतबाट च्यांग्रा आएनन्, गाउँका खसीबोका सकिए- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिब्बतबाट च्यांग्रा आएनन्, गाउँका खसीबोका सकिए

चरन अभाव, सामुदायिक वनको चरिचरणमा रोकले गर्दा व्यावसायिक बाख्रापालन घट्नु मुख्य समस्या
चन्द्र कार्की

तेह्रथुम — दसैंलाई लक्षित गरी बर्सेनि तिब्बतबाट भेडा, च्यांग्रा आउँदा स्थानीय खसीबोकाले बजार धान्ने गर्दथ्यो । तर यसपटक भने तिब्बतबाट नआएपछि खसी, बोकाको अभाव देखिएको छ । संखुवासभा र ताप्लेजुङको उच्च पहाडी क्षेत्रबाट समेत व्यापारीले यसपटक खसी बोका, भेडा, च्यांग्रा बिक्रीका लागि ल्याएका छैनन् ।

दसैंका लागि पूर्वी तराई तथा सहर बजारदेखि खसी, बोका किन्न गाउँ पसेका व्यापारी र सर्वसाधारण रित्तो हात फर्किरहेका छन् । बुधबार लालीगुराँस नगरपालिकासँग सीमा जोडिएको धनकुटाको सिंधुवा बजारमा लाग्ने साप्ताहिक हटियामा पनि कमै मात्र खसी बोका बिक्रीका लागि राखिएका थिए ।

दिनभर बजार चहार्दा पनि भनेजस्तो खसी नभेटिएपछि इटहरीदेखि खसी किन्न आएका पोस्टराज सुवेदी रित्तै फर्किए । ‘पहिले पहिलेको दसैंजस्तो यसपटकको रहेन,’ सुवेदीले भने, ‘यो वर्ष त दुःख मात्र पाइयो, खसी पाउन गाह्रो भयो ।’ पहाडका खसीको मासु स्वादिलो हुने भएकाले विगतदेखि नै दसैंमा खसी किन्न पहाडी गाउँघरतिर आउने गरेको उनले सुनाए । भएका खसीबोका पनि किन्न नसक्ने गरी महँगा भएका छन् ।

अघिल्लो वर्षको दसैंमा आफूले वर्षभरि पालेका खसीबोका बिक्री गर्न बजारतर्फ निस्कने किसान यो वर्ष न्यून देखिएका छन् । जिल्लाको संक्रान्ति, चुहानडाँडा, म्याङलुङ, वसन्तपुर, लसुने, जिरीखिम्ती, शुक्रबारे लगायतका मुख्य बजारमा खसीबोका बिक्री गर्न आउने किसान देखिएका छैनन् । जिल्लाका यी बजारदेखि ग्रामीण क्षेत्रसम्म खसी किन्न आउने ग्राहकको संख्या प्रत्येक दिन बढिरहेको भए पनि खसी बिक्रीका लागि ल्याउने किसानको संख्या भने गत वर्षको तुलनामा एकदमै न्यून देखिएको छ ।

खसी व्यापारी दिनेश कटुवालका अनुसार गाउँमा खसी पालन गर्ने किसानको संख्या घटिरहेकाले पनि अभाव भएको हो । मागको तुलनामा उत्पादन कम भएकाले पनि समस्या भएको व्यापारीको भनाइ छ । धनकुटाको भेडेटार घर भएका कटुवाल विगत १५ वर्षदेखि यस क्षेत्रमा आएर खसी बोका खरिद गरी धरान र विराटनगरसम्म लगेर बिक्री गर्दै आइरहेका छन् ।

गाउँमा रहेका सामुदायिक वनमा बस्तु चराउन उपभोक्ता समितिले प्रतिबन्ध लगाएपछि पछिल्ला वर्षहरूमा व्यावसायिक रूपमा खसी, भेडा तथा बाख्रापालन व्यवसाय गिर्दो अवस्थामा रहेको प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले बताए । सरकारले मासु उत्पादनका लागि बाख्रा र भेडा पालन गर्ने व्यवसायीलाई अनुदान दिएर प्रोत्साहन गरिरहेको छ । बाख्रा ब्लक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । तर पनि पर्याप्त खसीबोका उत्पादन हुन नसकेको मन्त्रालयले जनाएको छ ।

बढ्दो मासुको मागलाई पहाडको खसीले धान्न नसकेपछि बंगुर र राँगाभैंसीको समेत मूल्य अकासिएको छ । यसअघि खसी र भेडाको मात्र मासु खाने गरेकाहरूले समेत पछिल्लो समय राँगाभैंसी र बंगुरको मासुको उपभोग गर्न थालेका छन् । जसले गर्दा तुलनात्मक रूपमा खसीको भन्दा सस्तो बंगुर र राँगाभैंसीको मासुको समेत मूल्य बढेको छ । दसैंको मुखमा खसीबोकाको मूल्य अकासिएपछि निम्न आय भएकाहरू भने मारमा परेका छन् ।

बजारका होटलमा समेत मासुको अभाव हुन थालेको होटल व्यवसायी संघले जनाएको छ । होटल व्यवसायी प्रकाश श्रेष्ठका अनुसार बजारमा खसीको मासु खानु परेमा काटेको स्थानमा घण्टौंदेखि लाइनमा बस्दा मात्र थोरबहुत पाउन सकिन्छ । पैसा तिरेर पनि खसीको मासु खान नपाउने अवस्था भएको व्यवसायी श्रेष्ठको गुनासो छ ।

प्रकाशित : आश्विन १३, २०७९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्

म्यादी भर्नामा नेताको भनसुन

अवधेशकुमार झा

राजविराज — मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटाइने म्यादी प्रहरी छनोटमा राजनीति दलका नेताहरूले प्रहरी अधिकारीमाथि दबाब दिएका छन् । आफ्ना निकटलाई म्यादी प्रहरीमा छनोट गर्न उनीहरूले प्रहरी अधिकारीलाई तारन्तार फोन गरिरहेका छन् । जसले गर्दा सप्तरीमा म्यादी प्रहरीको छनोट प्रहरी अधिकारी र नेताा लागि तनावमय बनेको छ ।

म्यादी प्रहरीमा आफ्ना निकटलाई भर्ना गरिदिन सप्तरीका प्रहरी अधिकारीहरूलाई दैनिक सयौ भन्दा बढी नेताहरूकै फोन आउँछ । प्रहरी अधिकारीहरूको मोबाइल, म्यासेन्जर र ह्वाट्सएपमा अहिले म्यादी प्रहरीको लागि पैरबी गरिँदै उनीहरूको दर्ता नम्बर पठाउने गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी अभिनारायण काफ्ले र डीएसपी माधवप्रसाद काफ्लेको मोबाइलको म्यासेज बक्स, ह्वाट्सएप र म्यासेन्जरमा दिनहु दर्जनौं दर्ता नम्बर आउँछ । धेरै म्यासेज त उनीहरूले हेर्नसमेत नभ्याएको बताउँछन् । अन्य तहका प्रहरी अधिकारीहरूलाई पनि म्यादीमा पैरवी लगाइदिन भनसुन गर्नेहरूको संख्या कम छैन ।

मन्त्री, नेता, जनप्रतिनिधि, समाजसेवा लगायत कुनै हिसाबले चिनजान भएकाहरू अहिले म्यादीका लागि प्रहरी अधिकारीसमक्ष पैरवी गरेका छन् । ‘म्यादीका लागि त दैनिक कति हो कति फोन आइराको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी काफ्लेले भने, ‘तर, फोन, म्यासेजमा वा अन्य कुनै तरिकाले दर्ता नम्बर टिपाएको विषय एकातिर छ । हामी हाम्रो नीतिअनुसार भर्ना प्रक्रिया अघि बढाएका छौं ।’

मंगलबार दिउँसो डीएसपी माधवप्रसाद काफ्लेको हातमा दर्ता नम्बर लेखिएका कैयौं चिर्पट थियो । उनले आफ्नो मोबाइल देखाउँदै भने, ‘हेर्नुस् म्यासेज आएको, धेरै म्यासेज त हेर्ने पाएका छैनौं ।’ प्रहरी अधिकारीहरूले नीति नियमअनुसार नै भर्ना प्रक्रिया अघि बढाएको बताए पनि म्यादी प्रहरी भर्नामा उच्च तहकै फोन र पैरवी आउन थालेपछि उनीहरू त्यस्ता पैरवी मान्न बाध्य छन् ।

यस्तै हालत छ जनप्रतिनधिको पनि । वडाध्यक्षदेखि गाउँपालिका अध्यक्ष, नगर प्रमुखदेखि मन्त्रीसम्म म्यादी भर्नाका कारण तनावमा छन् । कार्यकर्ताले बिहानैदेखी म्यादी प्रहरीका जागिर लगाइदिन पैरवीका लागि दर्ता नम्बर टिपाएर हैरान बनाएको एक जनप्रतिनिधिले बताए । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बन्नेलाई त म्यादी प्रहरीको भर्ना अहिले टाउको दुखाइ नै बनेको छ ।

‘दैनिक २५ जनाभन्दा बढीको पैरवी लिएर गाउँबाट नेता–कार्यकर्ता आउँछन् । प्रहरी अधिकारीलाई पनि कति जनासम्मको आग्रह गर्नु, आफैं लाज हुन्छ,’ एक नेताले भने, ‘भनसुन गर्न आएका सबैलाई हुन्न पनि भन्न सक्दिनँ, नभएकाहरूको घरको भोट त यही आक्रोशमा अर्कोतिर जाने भइहाल्यो ।’ सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादीको भर्ना लिने तयारी गरिएकामा ८ हजार ९ सय ६० जनाले आवेदन गरेको छ ।

प्रकाशित : आश्विन १३, २०७९ १०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×