तिब्बतबाट भेडा-च्याङग्रा नआएपछि दसैंका लागि खसी अभाव- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिब्बतबाट भेडा-च्याङग्रा नआएपछि दसैंका लागि खसी अभाव

चन्द्र कार्की

तेह्रथुम — यो सालको दसैंलाई लक्षित गरी व्यापारीले तिब्बतबाट भेडा-च्याङग्रा नल्याउँदा जिल्लाभर दसैंका लागि खसीको अभाव भएको छ । संखुवासभा र ताप्लेजुङको उच्च पहाडी क्षेत्रबाट समेत व्यापारीले यसपटक खसी-बोका, भेडा र च्याङग्रा बिक्रीका लागि ल्याएका छैनन् ।

दसैंका लागि पूर्वी तराई तथा सहर बजारदेखि खसी-बोका किन्न गाउँ पसेका व्यापारी र सर्वसाधारण रित्तो हात फर्किरहेका छन् । बुधबार लालीगुराँस नगरपालिकासँग सीमा जोडिएको धनकुटाको सिंधुवा बजारमा लाग्ने साप्ताहिक हटियामा पनि कमै मात्र खसी-बोका बिक्रीका लागि राखिएका थिए ।

दिनभर बजार चहार्दा पनि भनेजस्तो खसी नभेटिएपछि इटहरीदेखि पहाडको खसी किन्न आएका पोष्टराज सुवेदी रित्तै फर्किए । ‘पहिले-पहिलेको दसैंजस्तो योपटकको दसैं रहेन‚’ सुवेदीले भने‚ ‘यो वर्ष त दु:खमात्र पाइयो; खसी पाउन गाह्रो भयो ।’ पहाडे खसीको मासु स्वादिलो हुने भएकाले विगतदेखि नै दसैंमा खसी किन्न पहाडका गाउँघरतिर आउने गरेको उनले सुनाए । भएका खसी-बोका पनि किन्न नसक्ने गरी महँगा भएका छन् ।

अघिल्लो वर्षको दसैंमा आफूले वर्षभरि पालेका खसी-बोका बिक्री गर्न बजारतर्फ निस्कने किसान यो वर्ष न्यून देखिएका छन् । जिल्लाको संक्रान्ति, चुहानडाँडा, म्याङलुङ, बसन्तपुर, लसुने, जिरिखिम्ती, शुक्रबारेलगायत मुख्य बजारमा खसी-बोका बिक्री गर्न आउने किसान देखिएका छैनन् ।

जिल्लाका यी बजारदेखि ग्रामीण क्षेत्रसम्म खसी किन्न आउने ग्राहकको संख्या प्रत्येक दिन बढिरहेको भए पनि खसी बिक्रीका लागि ल्याउने किसानको संख्या भने गत वर्षको तुलनामा न्यून रहेको खसी खोज्न आउनेहरूको भनाइ छ । खसी व्यापारी दिनेश कटुवालका अनुसार गाउँमा खसी पालन गर्ने किसानको संख्या घटिरहेकाले पनि दसैंमा खसीको अभाव भएको हो । मागको तुलनामा उत्पादन कम भएकाले पनि समया भएको व्यापारीको भनाइ छ । धनकुटाको भेडेटार घर भएका कटुवाल विगत १५ वर्षदेखि यस क्षेत्रमा आएर खसी-बोका खरीद गरी धरान र विराटनगरसम्म लगेर बिक्री गर्दै आइरहेका छन् ।

गाउँमा रहेका सामुदायिक वनमा पशुबस्तु चराउन उपभोक्ता समितिले प्रतिबन्ध लगाएपछि पछिल्ला वर्षहरूमा व्यावसायिक रुपमा खसी, भेडा तथा बाख्रा पालन व्यवसाय गिर्दो अवस्थामा रहेको प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले बताए । सरकारले मासु उत्पादनका लागि बाख्रा र भेडा पालन व्यवसाय गर्ने किसानलाई अनुदान दिएर प्रोत्साहन गरिरहेको छ । बाख्रा ब्लक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । तर पनि पर्याप्त खसी-बोका उत्पादन हुन नसकेको मन्त्रालयले जनाएको छ ।

वनपाखा र जंगलमा भेडा बाख्रा चराउन नपाएपछि धेरै किसानले व्यावसायिक बाख्रा पालन छाडेका सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ का अध्यक्ष तुलसी संग्रौलाले बताए । बाख्रा पाल्न छोडेपछि मासुको अभाव चुलिँदै गएको लालीगुराँस नगरपालिका ५ फुलेकका किसान अमृत गौतमले बताए । यसको असर किसानदेखि व्यापारीसम्मलाई परेको छ ।

गाउँमा पालिएका खसी-बोकाले त्यहीँका बासिन्दालाई नपुगेपछि अघिल्ला वर्षहरूमा घरैमा खसी पाल्ने किसानहरूसमेत यो वर्षको दसैंका लागि अन्यत्र खसी खोज्न निस्किएका छन् । गाउँमा खसीबोकाको अभाव भएपछि दसैंको मुखमा मासुको मूल्य आकासिने डर उपभोक्तालाई छ ।

गाउँमा मासुका लागि पालिने खसीको उत्पादन कम हुनु; मासुु खानेको संख्या बढ्दै जानु; तिब्बत र माथिल्लो पहाडी क्षेत्रबाट जिल्लामा खसी-बोका नभित्रिनुजस्ता कारणले भएका खसी-बोकाको मूल्य आकासिएको व्यापारीको भनाइ छ ।

प्रकाशित : आश्विन १२, २०७९ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्

नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता भएको छ । नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो । नबिलका ग्राहकले ओपीडी र आईपीडी सेवा लिँदा यो सुविधा पाउनेछन् ।

नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरका वरिष्ठ निर्देशक एवं मुख्य बिक्री र मार्केटिङ अधिकृत अनस अब्दुल वाजिदले सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ । यो सम्झौताले नबिल बैंकका ग्राहकहरू लाभान्वित हुने नबिल बैंकका सीईओ ढुंगानाले बताएका छन् ।

सम्झौता कार्यक्रममा ‘दक्षिण एसियामा उदयमान स्वास्थ्य समस्याहरू’ विषयमा छलफल पनि गरिएको थियो । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक र क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन र इन्स्टिच्युट अफ इन्टरनल मेडिसिन, म्याक्स हेल्थ केयर इण्डियाका वरिष्ठ चिकित्सक डा. सन्दीप बुधिराजाले दक्षिण एसियाको स्वास्थ्य अवस्था सुधार गर्न मानिसहरू सजग हुनुपर्ने बताए । म्याक्स हेल्थ केयरले भारतभर १७ वटा सेवाप्रदायक शाखाहरूबाट मृगौला, कलेजो र बोन म्यारो प्रत्यारोपण तथा मुटुको शल्यकृया लगायत स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : आश्विन १२, २०७९ १६:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×