१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

३९ किमि सडक पार गर्न ८ घण्टा

१४ महिनाअघि सम्झौता भएदेखि यता हालसम्म ७ प्रतिशत मात्र भौतिक प्रगति 
दीपेन्द्र शाक्य

संखुवासभा — नुमका लालबहादुर तामाडलाई सदरमुकाम खाँदबारीसम्मको ३९ किलोमिटर सडक पार गर्न आठ घण्टा बढी लाग्यो । नुमबाट मंगलबार साढे ६ बजे सदरमुकाम हिँडेका उनलाई यातायातका साधानमा आठ घण्टा बढी लागेको हो । खादबारी नुम सडक कोसी राजमार्गअन्तर्गत पर्छ ।

३९ किमि सडक पार गर्न ८ घण्टा

सदरमुकामको लभिडहिलबाट सडक बिग्रेको छ । ‘हिउँदका बेला नुमबाट २ घण्टामा सदरमुकाम आइपुग्थ्यौं,’ उनले भने, ‘४ महिना भयो सडकको हालत खत्तम भयो ।’ पहिले बिहान नुमबाट हिँडेर खादबारीमा दिनभरि काम सकेर घर फर्केको सुनाउँदै उनले भने, ‘३९ किमि सडकको धेरै ठाउँमा गाडी ठेलेर यात्रा गर्नुपर्छ । बर्सात्का समयमा यो सडक खण्डको अधिकांश कच्ची सडकको हालत यस्तै छ ।’

मकालु गाउँपालिकाको केन्द्र नुम बजारबाट खाँदबारीसम्मको सडकको दूरी ३९ किलोमिटर हो । सडक मर्मत नहुँदा लालबहादुर मात्रै हैनन्, मकालु र भोटखोलाका बासिन्दालाई पनि यो सडक खण्डमा यात्रा गर्दा घण्टौं लाग्छ । नुमका अर्का व्यवसायी दुर्गाबहादुर पराजुली पनि हिउँदका बेला यो सडकखण्डमा मोटरसाइकलबाट यात्रा गर्थे । तर, नुमबाट खाँदबारीसम्म मोटरसाइकल नगुडेको ३ महिना बढी भइसक्यो । ‘जताततै सडक हिलाम्मे भएको र खाल्डाखुल्डी धेरै भएकाले मोटरसाइकल गुड्ने अवस्थामा छैन,’ उनले भने, ‘बर्सात्को बेला विगतका वर्षमा सडक यतिधेरै बिग्रिँदैन थियो ।’ गत वर्ष उत्तर दक्षिण कोसी योजनाले यो सडक खण्ड कालोपत्रेको ठेक्का खुलाएपछि काम नहुँदा सडक बिग्रेको उनले बताए ।

घर छेउसम्म सडक पुगे पनि धेरै जिल्लाका कच्ची सडक यतिबेला सञ्चालनमा नभएको मकालु गाउँपालिकाका अध्यक्ष ओड्दी शेर्पाले बताए । ‘कच्ची सडक घरसम्म लगेर मोटर चढ्ने रहर बोकेका मकालु र भोटखोलाका बासिन्दाको सपना अधुरो भयो,’ उनले भने, ‘पानी पर्नासाथ हिँडेरै यात्रा गर्नुपर्छ झन समस्या थपिएको छ ।’ प्रत्येक वर्ष सडकमा लगानी बढे पनि गतिलो सडकको अनुभूति गर्न भने कसैले गर्न पाएका छैनन् । सडक बिग्रँदा दैनिक उपभोग्य सामग्रीको मूल्य प्रतिकिलो ५ रुपैयाँसम्म बढेको छ ।

यो खडक खण्ड तीन देश जोड्ने कोसी राजमार्ग हो । जोगवनी भन्सारबाट किमाथांका जोड्ने खण्डअन्तर्गत यो सडक पर्छ । उत्तर दक्षिण कोसी योजनाले सदरमुकाम खाँदबारीदेखि नुमसम्मको सडक कालोपत्रे गर्न १४ महिनाअघि शर्मा शीवशक्ति जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता भएदेखि यता हालसम्म ७ प्रतिशत मात्र भौतिक प्रगति रहेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीको बेवास्ताले सडक धेरै स्थानमा बिग्रिएको स्थानीयले गुनासो गरे ।

सडक निर्माण गर्दा ठाउँठाउँमा खनेर छाडेकोले यातायात अवरुद्ध भएको अध्यक्ष शेर्पाको भनाइ छ । सम्झौतापछि ठाउँठाउँमा खनेर छाडिएकाले सडक पानी पर्नासाथ हिलाम्मे हुन्छ, अध्यक्ष शेर्पाले भने, ‘त्यसपछि यातायात अवरुद्ध छ, सम्झौता गरेको लामो समय बिते पनि काम नहुँदा सडक अवरुद्ध भएको हो ।’ चिचिला र मकालु गाउापालिकाले सडक खण्ड बिग्रेपछि १५ दिनअघि उक्त खण्ड बन्द गरेका थिए । सडक मर्मत गर्ने प्रतिवद्धता सडक कार्यालय र निर्माण व्यवसायीले गरेपछि सडक खुलाइएको छ । दसैंका बेला यातायात सञ्चालन गर्न निर्माण कम्पनी, सडक कार्यालय र अरुण तेस्रो आयोजनाको सहयोगमा मर्मत सुरु गरिसकेको उनले बताए ।

सडक मर्मतका लागि जिससको पहलमा २ वटा एक्स्काभेटर र ४ वटा टिपर परिचालन गरिएको पनि उनले बताए । शर्मा शिवशक्ति जेभीले २०८० पुस १७ मा सम्पन्न गर्ने गरी २०७८ असार १७ गते उत्तर दक्षिण कोसी सडक योजनासँग ठेक्का सम्झौता गरेको थियो ।

३९ किलोमिटर सडकको कालोपत्रे गर्नका लागि ४८ प्रतिशत घटेर निर्माण कम्पनीले ठेक्का लिएको हो । २ अर्ब ६० करोडको ठेक्का शर्मा शिवशक्तिले १ अर्ब २७ करोडमा पारेर सम्झौता गरेको हो । निर्माण व्यवसायी सुरेन्द्र पाठक पानी रोकिनासाथ काम तीव्र गतिमा बढाउने बताउँछन् । ‘बर्सात्ले काम गर्न सकिएन,’ उनले भने, ‘चैत मसान्तसम्म ७ किलोमिटर सडक कालोपत्रे गरिसक्छु ।’

प्रकाशित : आश्विन १२, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?