१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

तरकारीमा विषादी घटाउँदै किसान

चन्द्र कार्की

तेह्रथुम — लालीगुराँस नगरपालिका–७ लसुनेमा बेमौसमी तरकारी खेती गरिहेका युवा साजन विश्वकर्मा दुई वर्षअघिसम्म तरकारी बालीमा हानिकारक विषादीको प्रयोग गर्थे । बेमौसमी तरकारी बालीमा लाग्ने रोगकिरा नियन्त्रणका लागि विश्वकर्मा प्रत्येक महिना मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिएका कार्बोफ्युरान र बायोर ग्रुपका विषादी अन्धाधुन्ध प्रयोग गर्थे ।

तरकारीमा विषादी घटाउँदै किसान

यी विषादीको प्रयोगबाट तरकारी बालीमा देखा परेका रोग किरा त निर्मूल हुन्थे, तर विषादी प्रयोग गरेको तरकारीको सेवनले पुर्‍याउने असरबारे उनलाई जानकारी थिएन ।

विश्वकर्माले पछिल्ला दुई वर्षयता विषादीको प्रयोग बन्द नै गरेका छन् । विवादीको प्रयोग बन्द गरेपछि उत्पादन घटेको उनले दुखेसो पोखे । विश्वकर्मा जस्तै यस भेगका धेरै किसानले आफ्नो उत्पादन बढाउन र रोगकिरा नियन्त्रणका लागि सरकारले प्रतिबन्ध लगाएका डिडिटी, डाईअल्ड्रिन, लिन्डेन, लोरडाइन, फस्फामिडन्, क्लोरडेन लगायतका अत्यन्त हानिकारक विषादी प्रयोग गरिरहेका थिए ।

छोटो छोटो समयमा आफूले लगाएको तरकारी बालीमा यी विषादी प्रयोग गर्दा रोगकिराको समयमै निदान पनि हुन्थ्यो । तरकारीमा चमक आउँथ्यो र बजारमा समेत सजिलै बिक्री हुन्थ्यो । धेरै किसान तरकारी खेतीमा विषादी प्रयोगमै मख्ख थिए । तर विषादीको मन्द असर आफू र तरकारी बारीमा प्रत्यक्ष सम्पर्कमा आउने आफ्ना परीवारका सदस्यलाई पर्न थालेको महसुस गरेपछि यस भेगका धेरै किसानले विषादीको प्रयोगको मात्रा घटाएका छन् ।

अधिकांश किसानले विषादीको प्रयोग बन्द गरेका छन् । आफू र परिवारका सदस्यलाई छाला चिलाउने, शरीरमा फोका उठ्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउनेलगायत रोगको लक्षण देखा परेको विषादी प्रयोग गरिरहेका किसानको भनाइ छ । किसानले बेमौसमी तरकारी बालीमा जथाभावी प्रयोग गरेको हानिकारक विषको असर थाहापाए पछि धेरै किसानले तरकारी बालीमा विषादीको प्रयोग त्याग्दै लगेको जिल्ला किसान सञ्जालका अध्यक्ष योगेन्द्र गढ्तौलाले बताए ।

विश्वकर्मा जस्तै यस भेगमा तरकारी खेती गरिहेका करिब ३० हजार वढी किसान तरकारी बालीमा लाग्ने रोगकिरा नियन्त्रणका लागि अहिले जैविक मल र विषादीतर्फ आकर्षित भएको सिंधुवा कृषि भण्डारका प्रमुख वजार व्यवस्थापक मेघेन्द्र गुरुङले वताए । तेह्रथुम, संखुवासभा र धनकुटाका ६ बढी स्थानीय तहका किसानले उत्पादन गर्दै आएको तरकारी भण्डारमार्फत पूर्वी तराई र भारतीय बजार तर्फ निर्यात हुने गरेको छ । विषादी प्रयोग गर्न पर्ने अवस्थामा मात्र मानव स्वास्थ्यमा असर नपुर्‍याउने खालका विषादी प्रयोग गर्न किसानलाई सुझाइरहेको गुरुङले बताए ।

तेह्रथुमसहित संखुवासभा र धनकुटाका किसानले बेमौसमी तरकारी खेती सुरु गरेकै समयदेखि विषादीको पनि प्रयोग गर्न थालेका थिए । स्थानीय कृषि सहकारी, कृषि भण्डार तथा संकलन केन्द्रको सहयोगमा किसानलाई विषादीले मानव स्वास्थ्यम पुर्‍याउने हानी बारेमा जानकारी गराउन थालेपछि प्रयोगको मात्रा पनि निकै घटेर गएको कृषि ज्ञान केन्द्रका प्रमुख भुवन बुढाथोकीले बताए । तरकारी बालीमा बिषादी प्रयोगको मात्रा न्यूनीकरण गर्न र जैविक विषादीको प्रयोग बढाउने उपायबारे सिकाउन कृषि प्राविधिकहरू किसानका खेतबारीमै पुगिरहेको प्रमुख बुढाथोकीको भनाइ छ ।

यहाँ उत्पादित तरकारी पूर्वी तराईका धरान, इटहरी, विराटनगर, झापा, नारायणघाट, काठमाडौंलगायतका बजारसम्म पुग्छ । विषादी प्रयोग भएको तरकारी सहकारी तथा अन्य व्यापारीले समेत खरिद गर्न छोडिदिएपछि किसानले बाध्य भएर तरकारी बालीमा विषादी प्रयोगको मात्रा घटाएका छन् । छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले मानव स्वास्थ्यका लागि हानिकारक मानिएका विषादी प्रयोग गरेर तरकारी उत्पादन गरेको भेटिए कारबाही गर्ने नीति गाउँपालिकाले ल्याएको बताए ।

प्रकाशित : आश्विन १२, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?