बलात्कारको आरोपमा एक जना पक्राउ

मोरङ — लेटाङ नगरपालिकामा शारीरिक अपांगता भएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेटाङ-९ की १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए बताए ।
युवती शनिबार नै बलात्कृत भए पनि प्रहरीले ढिलो गरी घटनाबारे जानकारी पाएको प्रहरीले जनाएको छ । ‘राईले युवतीलाई शनिबार लेटाङ-९ स्थित खेतमा रहेको टहरोमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ श्रेष्ठले भने, ‘खुट्टा नचल्ने अवस्थाकी ती युवतीलाई राईले बोकेर टहरोमा लगेको अनुसन्धानमा पाइएको छ ।’
राईलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गराएर अनुसन्धान अघि बढाइएको उनले सुनाए ।
