१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रदेश १ मा पर्यटन सूचना केन्द्र

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ मा आउने पर्यटकहरूलाई पर्यटकीय स्थलबारे सूचना तथा जानकारी प्रदान गर्न विराटनगरमा मंगलबार ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा संघीय र प्रदेश सरकारको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले विराटनगरको बरगाछीस्थित कार्यालयमा उक्त सूचना केन्द्र स्थापना गरेको हो ।

प्रदेश १ मा पर्यटन सूचना केन्द्र

महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ उपाध्यक्ष एवम् मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले एक कार्यक्रमका बीच सूचना केन्द्रको उद्घाटन गरेका हुन् ।

सूचना केन्द्रमा प्रदेश १ लगायत देशभरिका पर्यटकीय गन्तव्य, होटल, ट्राभल्सलगायत सूचना पर्यटकहरूलाई उपलब्ध गराउने व्यवस्था गरिएको महासंघ प्रदेश १ का पर्यटन क्षेत्रका विषयगत समितिका सभापति भविस श्रेष्ठले बताए । ‘प्रदेश १ स्थित १४ वटै उद्योग वाणिज्य संघको कार्यालयमा पर्यटक सूचना केन्द्र स्थापना गरेर सेवा सञ्चालन गर्छौं,’ उनले भने, ‘सूचना केन्द्रमार्फत यस प्रदेशस्थित रानी, काँकडभिट्टा, पशुपतिनगरलगायत नाकामा पर्यटक डेस्कसमेत राखेर पर्यटकहरूलाई सेवा प्रदान गर्छौं ।’

पर्यटक डेस्कमार्फत भारतलगायत तेस्रो मुलुकबाट यस प्रदेशमा भित्रिने पर्यटकको तथ्यांक संकलन गर्ने व्यवस्था मिलाएको श्रेष्ठले सुनाए । उनले रानी नाकामा माइती नेपालसँगको सहकार्यमा पर्यटक डेस्क सञ्चालन गर्ने उनले बताए ।

महासंघका केन्द्रीय सदस्य राउतले प्रदेश १ मा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको र त्यसका लागि भारतीय पर्यटक भित्र्याउन सरकारले पर्यटकमैत्री सेवा सुविधा प्रदान गर्नु अपरिहार्य रहेको बताए । उनले भने‚ ‘यस प्रदेशस्थित पर्यटकीय गन्तव्यहरूबाट लाभ लिनका लागि सरकारले विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्नु आवश्यक छ । साथै यस प्रदेशस्थित १६ वटै विमानस्थलमा विराटनगर विमानस्थलबाट उडान हुनु आवश्यक छ ।’ पर्यटकहरूलाई आवश्यक पर्ने यातायात सेवाको पनि उपयुक्त व्यवस्था नभएकाले तीनै तहका सरकारले पूर्वाधारमा सहयोग गर्नुपर्ने उनले बताए ।

‘बढीभन्दा बढी पर्यटक भित्र्याउन भारतीय पर्यटकका लागि ५ सय र २ हजारको भारतीय नोट ल्याउन सरकारले खुल्ला गर्नुपर्छ,’ राउतले भने, ‘सरकारले नाकाहरूमा सटही काउन्टको व्यवस्था तत्काल गर्नुपर्छ ।’

प्रकाशित : आश्विन ११, २०७९ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?