जनश्रमदान जुटाउनै गाह्रो

‘पहिले गाउँलेहरू मिलेर दसैंका बेला गाउँघर हेरौं हेरौं लाग्ने खालको बनाउँथे । अहिले त्यो क्रम भंग भएको छ ।’
‘दिनभरि घरमा बस्छन्, कोही लुँडो खेल्छन्, कोही त्यत्तिकै डुली हिँड्छन् तर आफ्नै घर अगाडिको बाटो पनि सफा गर्दैनन् ।’
आनन्द गौतम

ताप्लेजुङ — पञ्चायत अन्त्य र प्रजातन्त्र प्राप्तिपछिको समयमा घरायसी काममा व्यस्त फुङलिङ नगरपालिका–७ दोखुका सुरेश पालुङवा लिम्बू जनप्रतिनिधिको भूमिकामा थिए । वडाध्यक्षको जिम्मेवारी निर्बाह गरेका उनको काम समुदाय परिचालन थियो ।

जनश्रमदान जुटाउनै गाह्रो

अहिलेको जस्तो बजेट नहुने उबेलाका जनप्रतिनिधिले समुदाय परिचालन गर्ने र गाउँटोलको विकास गराउने मुख्य जिम्मेवारी पूरा गर्नुपर्थ्यो । वडाको सरसफाइदेखि विकासका काममा श्रमदान जुटाउन सफल भएका थिए उनी ।

फुङलिङ–८ दोखु नाम्ले पार्टीका हर्कसिंघ घिसिङ समाजिक अगुवा थिए । पटक/पटकका चुनावमा सहभागी उनी कहिले विजयी भए त, कहिले पराजित । तर समुदाय परिचालनको दायित्व उनले निरन्तर पाइरहे । दसैंतिहार जस्ता चाडबाड आउँदा, सभा सम्मेलन हुँदा समुदाय परिचालको अभिभारा उनलाई पनि हुन्थ्यो । उमेरले ९८ वर्ष पुगेका उनलाई अहिले पनि बाटो, धारा, चौतारा बनाउँ भन्दै गरेको उर्दी र जुटेको श्रमदानको झझल्कोले हौस्याउने गर्छ ।

सुरेश र हर्कसिंहको अनुभवमा दुई दशकअघिसम्म गाउँका गोरेटो, घोरेटो बाटो, चौतारा, धर्मशाला, पानीधारा दसैंको पूर्वसन्ध्यामा सफा गरेर चिरिच्याट्ट बनाइन्थ्यो । टोलवासीहरूलाई सफा गर्ने काम लगाइन्थ्यो । प्रत्येक घरका प्रतिनिधि सिक्कल, हँसिया, खुकुरी, खुर्पा, झम्पल, मार्तल, कोदालो, काँटा लिएर निस्कन्थे । बेलुकासम्म काम गर्नुपर्ने भएकाले उनीहरू खाजा पनि बोकेरै आउँथे ।

काम गर्दै जाँदा जुन घरको छेउमा पुगिन्थ्यो, त्यो घरकाले चिया पकाएर दिन्थे । त्यही चियासँग खाजा खाएर सरसफाइ मर्मत गर्ने प्रचलन थियो । एउटा टोलकाले अर्को टोलमा लगेर जोडेपछि अभियान पूरा हुन्थ्यो । त्यसका लागि कहिले दुई दिनदेखि सातासम्म पनि लाग्थ्यो । ‘हामी पहिला बाटो, धारा, चौतारा सफा गर्थ्यौं, त्यो सकेपछि गाउँलेहरू घर सजाउन थाल्थे,’ हर्कसिंहले भने, ‘दसैंका बेला गाउँघर हेरौं हेरौं लाग्ने खालको हुन्थ्यो ।’ एकअर्काबीच प्रतिस्पर्धा जस्तै हुने भएकाले कुनभन्दा कुन टोल राम्रो भनेर चर्चा पनि हुने गरेको उनको अनुभव छ । ‘अहिले त्यो क्रम भंग भएको छ,’ सुरेशले भने, ‘अहिले त गाउँको बाटो सफा गरौं भन्यो भने कति पैसा दिन्छन् भन्छन्, वडा, नगरपालिकाबाट पैसा मागेर ल्याउनु नि भन्छन् ।’

कामै नभएर घरमा बसिरहँदा पनि श्रमदानप्रति स्थानीयमा इच्छा नदेखिएको अनुभव सुरेशको छ । ‘दिनभरि घरमा बस्छन्, कोही लुँडो खेल्छन्, कोही त्यत्तिकै डुली हिँड्छन् तर आफ्नै घर अगाडिको बाटो पनि सफा गर्दैनन्,’ उनले भने । विगतको सहभागिता र अपनत्वबोध गराउन स्थानीय तहले विनियोजन गरेको बजेटमा पनि श्रमदानको व्यवस्था गरिएको छ । नगरपालिका तथा गाउँपालिकाले उपभोक्ता समितिमार्फत गराउने कार्यमा अनिवार्य १० प्रतिशत श्रमदान गर्नुपर्ने व्यवस्था छ । तर प्राविधिकहरू जनश्रमदान शून्य रहेको बताउँछन् ।

फुङलिङ नगरपालिकाका एक प्राविधिकले भने, ‘श्रमदान गर्दैनन् भन्दा कसरी काम भयो भन्ने प्रश्न उठ्छ तर जनश्रमदान भने एक जनाले पनि गरेको पाइँदैन ।’ नगरपालिकाले विनियोजन गरेको बजेटलाई नै श्रमदानको पनि जोडेर इस्टिमेट गरिदिनुपर्ने बाध्यता रहेको ती प्राविधिक बताउँछन् । ‘यो कुरा वडासदस्य, वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख सबैलाई थाहा छ, त्यही पनि श्रमदानको रकम राख्ने प्रावधान हटेको छैन,’ उनले भने ।

जिल्ला विकास समितिका पूर्वसभापति दीपेन्द्रकुमार सेन्दाङ पहिला जनश्रमदानबाट बजेटले भन्दा बढी काम हुने गरेको तर अहिले त्यो संस्कार हराएको बताउँछन् । ‘एक महिलाले आफ्नो लगानीमा तमोर नदीमाथि लिम्बूनी पुल बनाएकी थिइन्, त्यहाँ सामान ओसार्नेलगायत कार्यमा गाउँलेले पनि सहयोग पुर्‍याएको सुनेको छु,’ उनले भने, ‘अहिले सार्वजनिक हितका लागि काम गर्छु भन्यो भने पनि समुदायले साथ दिँदैनन् ।’

हरेक कार्य व्यापारीकरण हुँदै गएकाले श्रमदानप्रतिको लगाब हट्दै गएको सेन्दाङको बुझाइ छ । वर्षाले बिगारेको सडक मर्मतका लागि श्रमदानको अपिल गरेका फुङलिङ नगरपालिका–८ का क्षितिज सुनुवार भने समुदाय परिचालन गर्न सके श्रमदान फेरि पनि सम्भव भएको दाबी गर्छन् । ‘मैले मेरो वडाको सडक मर्मतका लागि श्रमदानको अपिल गरेको थिएँ,’ उनले भने, ‘स्थानीय हौसिएर आउँदै श्रम पनि गर्नुभयो, यसलाई अब प्रत्येक महिना वा तीन महिनामा एक पटक गर्ने गरी योजना बनाउँदै छौं ।’

प्रकाशित : आश्विन ११, २०७९ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?