१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रघुपति जुट मिल्स ७५ वर्षमा

विनोद भण्डारी

विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकलगायत वित्तीय संस्थाले मुलुकको वर्तमान आर्थिक संकटलाई अवसरका रूपमा लिएर बढी नाफा कमाउन उद्यत रहेको आरोप लगाएका छन् । यहाँको रघुपति जुट मिल्स प्रालिले स्थापनाको ७५ वर्ष पूरा गरेको अवसरमा सोमबार आयोजित हीरक जयन्ती समापनका क्रममा गोल्छाले मुलुकले आर्थिक संकट भोगिरहेको हालको अवस्थामा बैंकले त्यसलाई अवसरका रूपमा लिएर २५ देखि ३० प्रतिशतसम्म नाफा कमाउन व्यस्त रहेको आरोप लगाएका हुन् ।

रघुपति जुट मिल्स ७५ वर्षमा

‘मुलुकको यस्तो अवस्थामा सबै पक्ष मिलेर जानुको विकल्प छैन, तर बैंकिङ क्षेत्र ब्याज दर बढाउन उद्यत छ,’ उनले भने, ‘यही अवस्था रहिरहे बैंक पनि रहँदैनन् । यो मन्दीमा अहिले मुलुकमा महँगी बढेको छ, तर माग घटेर डरलाग्दो संकेत दिएको छ । अरू समयको मन्दीमा माग बढ्दा मूल्य घट्थ्यो ।’

सरकारको गलत नीतिका कारण उद्योगको उद्गम स्थलमा अहिले नयाँ उद्योग थपिन छाडेर ट्रेड व्यवसाय बढेको गोल्छाको भनाइ थियो । सरकार निजी क्षेत्रलाई उत्पादन छाडेर ट्रेडमा आकर्षित भएको आरोप लगाउँदै आएको उल्लेख गर्दै गोल्छाले सरकारको गलत नीतिका कारण उद्योग खोल्नुको सट्टा उद्योगी ट्रेडतर्फ आकर्षित भएको र यसको दोष निजी क्षेत्रले लिन नसक्ने बताए ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय सरकारले प्रदेश सरकारलाई आफ्नो अधिकार नदिँदा सञ्चालनमा रहेका उद्योगलाई समस्या पर्दा प्रदेश सरकार टुलुटुलु हेर्नबाहेक केही गर्न नसक्ने स्थितिमा रहेको बताए । संघीय सरकारका कारण प्रदेश सरकार आर्थिक, प्राविधिक, सुरक्षा र जनशक्तिका रूपमा ‘अपाङ्गो’ छ । राईले भने, ‘यस्तो स्थितिमा उद्योगी व्यवसायीलाई परेको समस्यामा प्रदेश सरकार दर्शक मात्र हुनुपरेको छ ।’

२००३ सालमा स्थापना भएको रघुपति जुट मिल्सले हीरक जयन्ती मनाउनु औद्योगिक क्षेत्रका लागि इतिहास भएको गोल्छाको भनाइ थियो । यो उद्योग गोल्छा परिवारका चार पुस्ताले सञ्चालन गर्दा उद्योगमा मजदुर पनि चार पुस्ताका छन् । रामलाल गोल्छाले स्थापना गरेर सञ्चालन गरेको यो उद्योग त्यसपछि उनका छोरा हंसराजले सञ्चालन गरे । त्यसपछि उनका छोरा राजकुमारले सञ्चालन गरेको यो उद्योग अहिले राजकुमारकी छोरी अश्विनीले सञ्चालन गर्दै आएकी छन् ।त्यसैगरी महोमाद अजाद मियाँ, जयप्रकाश हलुवाई र वाइस मियाँलगायत दर्जन बढी परिवारका तीन र चारपुस्ते परिवार काम गर्दै आएको मिल्सको अभिलेखमा छ ।

मिल्सले चार दशकदेखि लगातार काम गर्दै आएका लक्ष्मण चौधरी, मदन राम र हरिकुमार मानन्धरलाई हीरक जयन्तीका अवसरमा सोमबार ताम्रपत्र र नगदसहित सम्मान गर्‍यो । रघुपति जुट मिल मुलुकको दोस्रो जेठो मिल हो । १९९३ सालमा मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल स्थापना भएको थियो । सरकारी स्वामित्वको यो मिल दशकदेखि पूर्ण रूपमा बन्द छ ।

२००३ सालमा तत्कालीन जुट व्यवसायी रामलाल गोल्छा लगायतको पहलमा रघुपति जुट मिल लिमिटेडका नाममा स्थापना भएको हो । २०३५ सालसम्म सेयर सदस्यले सञ्चालन गरेको यो मिल २०३६ सालमा सरकारले सेयर खरिद गरेर सञ्चालन गरेको थियो । सरकारले चलाउँदा राजनीतिक हस्तक्षेपका कारण पटकपटक बन्द भएपछि २०५३ सालमा सरकारले यो मिललाई निजीकरण गरेपछि गोल्छा अर्गनाइजेसनको अरिहन्त मल्टी फाइवर्सले सञ्चालन गर्दै आएको छ ।

उद्योगले यसपालि ७५ औं वर्षगाँठ मनाएको हो । मिलको ६५ प्रतिशत सेयर अरिहन्तको नाममा छ । ३३ दशमलव २७ प्रतिशत सरकारको नाममा र १ दशमलव ३७ प्रतिशत सेयर मिलका कर्मचारी र सर्वसाधारणको नाममा रहेको छ । मिलले हाल तीन हजार मजदुरलाई रोजगारी दिएर वार्षिक सरदर २ अर्ब ५० करोड मूल्यका जुटका तयारी वस्तु भारत निकासी गर्दै आएको सञ्चालक राजकुमार गोल्छाले बताए । उनका अनुसार उद्योगलाई आवश्यक पर्ने कच्चा जुट भारत र बंगलादेशबाट आयात गर्नुपर्ने बाध्यता छ ।

वि.सं. १९९३ मा विराटनगर जुट मिल स्थापना भएपछि सुनसरी र मोरङमा ११ वटा जुट उद्योग स्थापना भएका थिए । हाल तीमध्ये ६ वटा उद्योग मात्र सञ्चालनमा छन् । यहाँका जुट उद्योगले भारत र बंगलादेशबाट ७० प्रतिशत कच्चा जुट आयात गरेर तयारी वस्तु भारत निकासी गर्दै आएका छन् । सञ्चालनमा रहेका रघुपति, अरिहन्त, बाबा, स्वस्तिक, नेपाल जुट र चन्द्रशिव जुट उद्योगले यस वर्ष दुई अर्बको कच्चा जुट आयात गरी ७ अर्ब ५० करोड मूल्यका तयारी वस्तु भारत निकासी गरेको निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्यांक छ ।

करिडोरमा स्थापना भएका विराटनगर, गुह्येश्वरी, सीएम, पाथीभरा र निकी जुट उद्योग बन्द हुँदा ३० हजार बढीले रोजगारी गुमाएका छन् । भारतले नेपाली जुटका तयारी वस्तुमा पाँच वर्षदेखि एन्टी डम्पिङ शुल्क लगाउँदै आएको छ । उक्त शुल्कका कारण नेपाली जुट उद्योग संकटमा रहेको सम्बद्ध उद्योगीको गुनासो छ ।

प्रकाशित : आश्विन ११, २०७९ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?