२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

वित्तीय संस्थाले संकटमा पनि बढी नाफा कमाउन थाले : गोल्छा

विनोद भण्डारी

विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकलगायत वित्तीय संस्थाले मुलुकको वर्तमान आर्थिक संकटलाई अवसरका रुपमा लिएर बढी नाफा कमाउन उद्धत रहेको आरोप लगाएका छन् ।

वित्तीय संस्थाले संकटमा पनि बढी नाफा कमाउन थाले : गोल्छा

विराटनगरको रघुपति जुट मिल्स प्रालिले स्थापनाको ७५ वर्ष पूरा गरेको अवसरमा सोमबार आयोजित हिरक जयन्ती समापनका क्रममा गोल्छाले मुलुकले आर्थिक संकट भोगिरहेको हालको अवस्थामा बैंकले त्यसलाई अवसरका रुपमा लिएर २५ देखि ३० प्रतिशतसम्म नाफा कमाउनमा व्यस्त रहेको आरोप लगाएका हुन् ।

‘मुलुकको यस्तो अवस्थामा सबै पक्ष मिलेर जानुको विकल्प छैन, तर बैंकिङ क्षेत्र ब्याजदर बढाउन उद्धत छ‚’ उनले भने‚ ‘यही अवस्था रहिरहे बैंक पनि रहँदैनन् । यो मन्दीमा अहिले मुलुकमा महँगी बढेको छ तर माग घटेर त्यसले डरलाग्दो संकेत दिएको छ । अरु समयको मन्दीमा माग बढ्दा मूल्य घट्थ्यो । सरकारको गलत नीतिका कारण उद्योगको उद्गमस्थलमा अहिले नयाँ उद्योग थपिन छाडेर ट्रेड व्यवसाय बढेको छ ।’

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय सरकारले प्रदेश सरकारलाई आफ्नो अधिकार नदिँदा प्रदेशमा सञ्चालनमा सहयोग पुर्‍याएका उद्योगका समस्यालाई प्रदेश सरकार टुलुटुलु हेर्नबाहेक केही गर्न नसक्ने स्थितिमा रहेको बताए । संघीय सरकारका कारण प्रदेश सरकार आर्थिक, प्राविधिक, सुरक्षा र जनशक्तिका रुपमा अपाङ्ग भएको भन्दै मुख्यमन्त्री राईले भने‚ ‘यस्तो स्थितिमा उद्योगी-व्यवसायीलाई परेको समस्यामा प्रदेश सरकार दर्शकमात्र हुनु परेको छ ।’

विसं. २००३ सालमा स्थापना भएको रघुपति जुट मिल्स प्रालिले हिरक जयन्ती मनाउनु औद्योगिक क्षेत्रका लागि इतिहास भएको गोल्छाको भनाइ थियो । गोल्छा परिवारको चौथो पुस्ताले सञ्चालन गरिरहेको यो उद्योगमा मजदुर पनि चार पुस्तादेखि नै यही उद्योगमा काम गरिरहेका छन् । रामलाल गोल्छाले यो उद्योग स्थापना गरेर सञ्चालन गरेपछि उनका छोरा हंशराजले यसको सञ्चालन गरे । त्यसपछि उनका छोरा राजकुमारले सञ्चालन गरेको यो उद्योग अहिले राजकुमारकी छोरी अश्विनीले सञ्चालन गर्दै आएकी छन् ।

त्यसैगरी महोम्मद अजाद मियाँ, जयप्रकाश हलुवाई र वाइस मियाँलगायत दर्जनभन्दा बढी परिवारका तीन र चार पुस्ते परिवार काम यहाँ गर्दै आएको मिल्सको अभिलेखमा उल्लेख गरिएको छ । मिल्सले चार दशकदेखि लगातार काम गर्दै आएका लक्ष्मण चौधरी, मदन राम र हरिकुमार मानन्धरलाई हिरक जयन्तीको अवसरमा सोमबार ताम्रपत्र र नगदसहित सम्मान गरेको थियो ।

हिरक जयन्तीका अवसरमा सम्मानपछि रघुपति जुट मिलमा चार दशकदेखि लगातार मजदुरी काम गर्दै आएका लक्ष्मण चौधरी, मदन राम र हरिकुमार मानन्धर । तस्बिर : विनोद भण्डारी

रघुपति जुट मिल मुलुककै दोस्रो जेठो मिल हो । वि.सं. १९९३ मा मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल स्थापना भएको थियो । सरकारी स्वामित्वको यो मिल दशकदेखि पूर्ण रुपमा बन्द छ । रघुपति वि.सं. २००३ सालमा तत्कालीन जुट व्यवसायी रामलाल गोल्छालगायतको पहलमा रघुपति जुट मिल लिमिटेडका नाममा स्थापना भएको उद्योग हो । २०३५ सालसम्म सेयर सदस्यले सञ्चालन गरेको यो मिल २०३६ सालमा सरकारले सेयर खरिद गरेर सञ्चालन गरेको थियो । सरकारले चलाउँदा राजनीतिक हस्तक्षेपका कारण पटक-पटक बन्द भएपछि २०५३ सालमा सरकारले यसलाई निजीकरण गरेपछि गोल्छा अर्गनाइजेसनको अरिहन्त मल्टी फाइवर्सले सञ्चालन गर्दै आएको छ । उद्योगले यसपालि ७५ औं वर्षगाँठ मनाएको हो ।

प्रकाशित : आश्विन १०, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?