१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मृदुंगा झर्ना हेर्नेको भीड

कान्तिपुर संवाददाता

पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिका–३ र ४ स्थित मृदुंगा (मिलुङ) झर्नामा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको चाप बढेको छ । धरानबाट धनकुटाको भेडेटार हुँदै तमोर नदीको किनारैकिनार खनिएको तमोर करिडर सञ्चालनमा आएसँगै यहाँ पर्यटकको भीड लाग्न थालेको हो ।

मृदुंगा झर्ना हेर्नेको भीड

यो झर्ना पुग्न तमोर करिडरअन्तर्गत पाँचथरको माझीटारबाट सुभाङ हुँदै जानुपर्छ । झर्नाको फेदमा जमेको सानो पोखरीमा पौडी खेल्न र नुहाउन सकिन्छ । तमोर करिडरसँगै यस झर्नामा मेची राजमार्गको फिदिम–इलाम सडक हुँदै पाँचथरको गोपेटार र हिलिहाङ दरबार भएर पनि पुग्न सकिन्छ ।

सडक सञ्जालले जोडिएपछि सार्वजनिक बिदाको मौका छोपी यहाँ आउने बढ्दै गएका छन् । ‘मनमोहक झरना र यहाँ बहने शीतल हावाले मन तान्यो, झर्नाको फेदमा व्यवस्थित स्विमिङ पुल भइदिएको भए आइपुग्नासाथ पौडी खेल्नलाई हाम फालिसक्थें,’ बेलायती नागरिक क्यार्नीले कान्तिपुरसँग भनिन् ।

स्थानीय होटल व्यवसायी सुरेश चापागाईंका अनुसार पछिल्लो समय ताप्लेजुङ र पाँचथर आइपुगेका बाह्य पर्यटक यो झर्ना नघुमी फर्कंदैनन् । यत्तिको चहलपहल हुने यो पर्यटकीय स्थल विकासका लागि भौतिक पूर्वाधार निर्माण मन्त्रालयले दुई वर्षअघि गुरुयोजना बनाए पनि काम अगाडि बढाइएको छैन । मध्यपहाडी लोकमार्गदेखि झर्नासम्म पुग्ने करिब ३ सय मिटर कच्ची बाटो व्यवस्थित गर्न, आसपासमा सेल्फी कर्नर बनाउन र स्विमिङ पुल निर्माण गर्नेसम्मका योजना गुरु योजनामा समेटिएका छन् । बाटो आसपास रहेका स्थानीयको जग्गा लिने प्रक्रिया झन्झटिलो भएकाले काम सुरु गर्न कठिनाइ भइरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

ठूलो परियोजना अगाडि बढाउन ढिलाइ हुने देखिएपछि वडा कार्यालयले सडक व्यवस्थित गर्नका लागि केही रकम छुट्याएको हिलिहाङ–४ का वडाध्यक्ष बृहस्पति गिरीले बताए । गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले झर्नालाई गुरुयोजनाकै आधारमा पर्यटकीय स्थलका रूपमा विकास गर्ने बताए ।

प्रकाशित : आश्विन १०, २०७९ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?