बाउबाजेले जग्गा बाँडे, सन्तान सुकुम्बासी

‘भाग्यको खेला यस्तो पनि हुँदो रहेछ, बिघौंबिघा जमिन दान दिन सक्ने पुस्ताका हामी सन्तानको यस्तो बिजोग छ, खुट्टा टेक्ने जमिनसमेत छैन’
अर्जुन राजवंशी

बिर्तामोड — सामर्थ्य र सार्थकता पुष्टि भएरै होला, उनलाई अभिभावकले नाम नै सम्पत्ति राखिदिएका थिए । तर, जीवनको उत्तरार्धमा उनलाई उनकै नामको अर्थले गिज्याइरहेको महसुस हुन्छ ।  यतिबेला सम्पत्तिको दैनिकी अभावै अभावमा बितिरहेको छ ।

बाउबाजेले जग्गा बाँडे, सन्तान सुकुम्बासी

विपन्नताको पनि अन्तिम विन्दुमा पुगेको छ उनको जीवन । ओत लाग्ने एउटा सानो छाप्रो छ । जेनतेन घामपानी थेगेको छ । छाप्रोभित्रको भुइँ कहिल्यै ओभानो भएन । चिसै भुइँमा बस्न बाध्य छिन् ९० वर्षीया सम्पत्ति । उनी जमिनदार डोमालाल राजवंशीकी एक्ली छोरी हुन् ।

समाजसेवी डोमालालले छोराहरूलाई मात्र अंश दिएनन्, विवाह गरेर छोरी अन्माउँदा सम्पत्तिलाई समेत १० बिघा जमिन दाइजो दिएका थिए । २०२१ मा सरकारले भूमि सुधार ऐन लागू गर्दा हदबन्दीभन्दा बढीको जग्गा सरकारले हडप्नुअघि डोमालालले आफन्त र साथीभाइलाई बाँडे । सोही क्रममा डोमालालले स्थानीय ‘अनारमनी दुर्गा गुठी स्थान’ को नाममा १२ बिघाभन्दा बढी जग्गा दान दिए । बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित सोही जग्गाको एक भागमा ‘डोमालाल राजवंशी रंगशाला’ बनाइएको छ । मोफसलकै उत्कृष्ट रंगशालाको उपाधि पनि पाएको छ, डोमालालले ।

फाइल तस्बिर : बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशाला ।

‘झापा गोल्डकप’ को रौनकता र सफलता सायद डोमालाल राजवंशी रंगशालामै हुने भएकाले पनि हो । बजार क्षेत्रको १२ बिघा जमिनको मूल्य आजको दिनमा करोडले हिसाब गर्दा पनि कम हुन्छ । स्थानीय विकास र समुदायका लागि अर्बौंको सम्पत्ति निःशुल्क दान दिने राजवंशी परिवारको अवस्था भने यतिबेला अति दयनीय छ । डोमालाल राजवंशीकी छोरी सम्पत्ति तथा नातिहरू भीमबहादुर, छविलाल र सुकलाल छन् । जमिनदार डोमालालका यी सन्तान यतिबेला अति विपन्न परिवारका रूपमा छन् । भीमबहादुर बिर्ताबजारको एक होटलमा कालिगडको काम गर्छन् । छविलाल र सुकलाल तीनपांग्रे ठेला चलाउँछन् ।

हजुरबुबा डोमालाल जमिनदार भए पनि छोरी र नातिहरू भूमिहीन सुकुम्बासी छन् । उनीहरूसँग एक चपरी माटो खन्ने जमिनसमेत छैन । अर्बौर्कों जमिन दान दिने दाता परिवारकै सन्ततिको बिजोग देखेका बिर्ताबजारवासीले हजुरबुबाले दान दिएको जमिनको एक छेउमा बसोबास गर्ने व्यवस्था मिलाइदिएका छन् । छोरी सम्पत्ति र नातिहरू त्यही जमिनमा सानोसानो टहरा बनाएर बसेका छन् ।

‘भाग्यको खेला यस्तो पनि हुँदो रहेछ, बिघौंबिघा जमिन दान दिन सक्ने पुस्ताका हामी सन्तानको यस्तो बिजोग छ, खुट्टा टेक्ने जमिनसमेत छैन,’ मलिन अनुहारमा सुकलालले भने । उनीहरू हजुरबुबाले दान दिएको जमिनमा बसोबास गरेको अढाई दशक पुग्यो । ‘नेताहरूले हामीलाई यही बस्नु पछि सबैलाई भिट्टा दिन्छौं भनेर भनेका थिए, यहाँ बसेको २५ वर्ष पुग्न लागिसक्यो, अहिलेसम्म लालपुर्जा बनाइदिएका छैनन्, खोइ ! भिट्टा दिन्छन् कि उठेर भाग भन्छन्,’ उनले भने ।

गत भदौ १ मा ७५ वर्षको उमेरमा उजारु राजवंशीको निधन भयो । बिर्तामोड–९ गरामनीस्थित दुर्गा माविलाई करोडौं मूल्य पर्ने जग्गा दाता राजवंशीको निधन हुँदा अन्त्येष्टि गर्ने सामान्य खर्चसमेत परिवारसँग भएन । छिमेकी र आफन्तले तत्काल सहयोग जुटाएर उनको अन्त्येष्टि गरे । कुनै बेला ९ बिघा जमिनका मालिक हुँदा राजवंशीले स्थानीय दुर्गा माविलाई बजार नजिकैको एक बिघा जग्गा निःशुल्क दान दिएका थिए । अहिले उक्त जमिनको मूल्य करोडौंमा पुगेको छ ।

तर, दाता परिवार भने सुकुम्बासीको अवस्थामा पुगेको छ । राजवंशी परिवारसँग अहिले मात्र दुई कट्ठा जमिन छ । दाता उजारुका तीन भाइ छोरा छन् । तीनै भाइ छोरा सामान्य ज्यालादारी काम गरेर जीविकोपार्जन गरिरहेका छन् । ४० को दशकमा गरामनीमा एउटा मात्र स्कुल थियो, दुर्गा मावि । विद्यालयको भौतिक एवं शैक्षिक विकासका लागि उजारुले निःशुल्क जग्गा दान दिए । विडम्बना, उजारुका तीनै भाइ छोराले भने उक्त विद्यालयबाट सामान्य कखरासमेत सिक्न पाएनन् ।

विद्यालयलाई करोडौं मूल्य पर्ने जग्गा दान दिने उजारु राजवंशीको झापा बिर्तामोड नगरपालिका-९ लखीबारीस्थित घर । तस्बिर : अर्जुन/कान्तिपुर

दाता उजारुकी ७२ वर्षीया पत्नी चम्पा राजवंशी भत्किनै लागेको सानो कटेरोमा बस्छिन् । पुराना जस्तापाताले बनाइएको कटेरोले बर्खामा पानी र हिउँदमा चिसो छेक्दैन । चम्पाले एउटै कोठामा चुलो र सुत्ने खाट राखेकी छन् । आम्दानीको स्रोत छैन । दुई छाक खानै मुस्किल रहेको राजवंशी परिवारमा घर बनाउने कुरा अस्वाभाविक जस्तो लाग्छ ।

उजारुको निधनमा दुर्गा माविका शिक्षक, कर्मचारी समवेदना दिन उनको घर पुगे । स्थानीयको आग्रहमा विद्यालय परिवारले किरिया खर्चबापत केही रकम सहयोग गर्‍यो । विद्यालय परिवार र स्थानीयहरू यतिबेला सहयोग जुटाएर चम्पाका लागि एउटा सानो घर बनाइदिने पहलमा जुटेका छन् । ‘हाम्रो त आम्दानी छैन, घर बनाउन सक्ने अवस्थै छैन,’ उजारुका कान्छा छोरा सागु राजवंशीले भने ।

प्रकाशित : आश्विन ९, २०७९ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?