सबै जिल्लामा कृषि ज्ञान केन्द्र खोलिँदै- प्रदेश १ - कान्तिपुर समाचार

सबै जिल्लामा कृषि ज्ञान केन्द्र खोलिँदै

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ सरकारले विशेषज्ञ सेवा प्रदान गर्न प्रदेशस्थित १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने भएको छ । संघीय सरकारले खारेज गरिसकेको जिल्ला र निर्देशनालय कार्यालयहरू प्रदेश सरकारले स्थापना गरी सञ्चालन गर्दै आएकोप्रति महालेखा परीक्षकको कार्यालयले बर्सेनि प्रश्न उठाउँदै आएको छ । 

प्रदेश सरकारले मोरङमा शुक्रबार कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना गरेको छ । कृषिमन्त्री झलकबहादुर मगरले केन्द्रको उद्घाटन गरे । तेह्रथुममा असोज ९ मा र ताप्लेजुङ असोज १० मा केन्द्र स्थापना गरिने कृषि मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले बताए । मन्त्रिपरिषद्को २०७८ माघ २३ को निर्णयबमोजिम चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएपछि केन्द्र स्थापना गरिएको उनले बताए ।

यसअघि सुनसरी र मोरङ कार्यक्षेत्र रहने गरी इनरुवामा केन्द्र स्थापना गरिएको थियो । सुनसरीमा स्थापना गरे पनि मोरङमा इकाइ कार्यालय स्थापना गरेर कामकाज सञ्चालन हुँदै आएको थियो । उक्त केन्द्र मोरङका लागि ८ करोड ३ लाख बजेट चालु आर्थिक वर्षमा विनियोजन गरिएको छ ।

मन्त्री मगरले प्रदेशको प्रत्येक जिल्लामा केन्द्र स्थापनाले किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले किसानलाई विशेषज्ञ सेवा प्रदान गर्न कुनै किसिमको त्रुटि नगर्न कर्मचारीलाई निर्देशन दिए । प्रदेश सरकारले केही कार्यालय समायोजन समेत गरेको छ ।

बागबानी केन्द्र जौबारीलाई कृषि ज्ञान केन्द्र इलाममा र बागबानी केन्द्र फाप्लुलाई कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा, रेशम विकास कार्यक्रम धनकुटालाई कृषि ज्ञान केन्द्र धनकुटामा, रेशम प्रशोधन कार्यक्रम इटहरीलाई कृषि ज्ञान केन्द्र सुनसरीमा र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुंगालाई कृषि ज्ञान केन्द्र झापामा प्रदेश सरकारले समायोजन गरेको छ ।

प्रकाशित : आश्विन ९, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

सहरमा मौलिकताको चिन्ता

शिक्षा, स्वास्थ्य पूर्वाधारको खोजी गर्दै गाउँबाट सहर पस्ने क्रम बढे पनि पुरानासँगै उदाउँदा सहरमा संस्कृति, पहिचान र इतिहास समेट्ने संरचना नहुँदा मौलिक पक्ष लोप हुने चिन्ता
आधुनिक सहर संस्कार, संस्कृति र मौलिक पहिचान झल्कने खालका हुनुपर्नेमा जोड
कान्तिपुर संवाददाता

विराटनगर — कान्तिपुर मिडिया ग्रुपले शनिबार विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको ‘बदलिँदो सहर’ सत्रका वक्ताहरूले आधुनिक सहर संस्कार, संस्कृति र मौलिक पहिचान झल्कने खालका हुनुपर्नेमा जोड दिएका छन् । 



तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु मावुहाङले शिक्षा स्वास्थ्य पूर्वाधारको खोजी गर्दै गाउँबाट सहर पस्ने क्रम बढे पनि पुरानासँगै उदाउँदा सहरमा संस्कृति, पहिचान र इतिहास समेट्ने संरचना नहुँदा मौलिक पक्ष लोप हुन लागेको बताए । सहरोन्मुख स्थानहरूमा मौलिक संस्कृति र पहिचान झल्किने पार्क, सामुदायिक भवन, संग्रहालय र मनोरन्जनस्थल निर्माणमा ध्यान दिन सके त्यसले मौलिकता जोगाइराख्ने उनको धारणा थियो ।

सरकारले विभिन्न स्थानमा नयाँ तथा नमुना सहरको अवधारणा ल्याए पनि त्यसमा समेटिएका कार्यक्रम जनताको अपेक्षाअनुसार नभएकाले सुविधा खोज्न गाउँ छोड्ने क्रम नरोकिएको उनको टिप्पणी थियो । ‘सहरोन्मुख गाउँहरूमा प्राविधिक विषयको पठनपाठन, स्वास्थ्य पूर्वाधार र मौलिक संस्कृति झल्कने पूर्वाधार निर्माणमा ध्यान दिएका छौं, जसले स्थानीय उत्पादन, संस्कृति र पहिचानको जगेर्नासँगै इतिहास जीवन्त राख्न मद्दत गर्छ,’ उनले भने । तेह्रथुमको वसन्तपुरमा निर्मित चोःलुङ पार्कलाई उदाहरणका रूपमा लिन सकिने उनको दाबी थियो । लेखक केशव दाहालले गाउँ रित्याएर सहर पस्ने क्रम बढे पनि सहरमा मानवीय पक्ष, संवेदना र हाँसो हराउँदै गएकोमा चिन्तित हुन जनप्रतिनिधिको ध्यानाकर्षण गराए । ‘सहर निर्माण गर्दा अनिवार्य सिटी स्टेटको अवधारणा बनाउनुपर्छ, जहाँ अस्पताल, खेल मैदान साथै कला–संस्कृतिको जगेर्ना गर्ने योजना समेटिन्छन्,’ उनले भने । कंक्रिटका घरमात्र भएको सहर रुखो र स्वार्थयुक्त हुने भएकाले मानवीय पक्षलाई अनिवार्य समेट्नुपर्ने उनको सुझाव थियो ।

‘अहिलेका सहरमा पूर्वाधार नभएकाले एकीकृत बस्तीजस्ता मात्रै छन्, अबको २० वर्षपछि सहर कस्तो होला ? घर भत्काऊँ भने भत्काउन सकिँदैन, रमाऊँ भने रमाउन सकिँदैन,’ उनले थपे । मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सारडाले सहरले मौलिकता र मानवीय पक्ष गुमाउँदै गएको भन्ने दाहालको धारणा सबै ठाँउमा लागू नभएको जिकिर गरे । ‘सबै सहरले मौलिकता गुमाएका छैनन्, जसको उदाहरण विराटनगर हो, यहाँका प्रत्येक टोलबस्तीमा विभिन्न जिल्लाबाट आएका नागरिकको बसोबास छ, धार्मिक, सांस्कृतिक र साम्प्रदायिक सद्भाव र सामाजिक उत्तरदायित्वलाई हामीले जोगाएका छौं,’ उनले भने ।

रंगेली नगरपालिकाकी उपमेयर झुमा पराजुलीले स्वास्थ्य र शिक्षा क्षेत्रमा आफूहरूले उल्लेख्य सुधार गरेको बताइन् । उनका अनुसार रंगेली अस्पतालमा पर्याप्त चिकित्सकको व्यवस्थापनसँगै विशेषज्ञ जाँच सेवा उपलब्ध हुन थालेपछि सामान्य उपचारका लागि विराटनगर आउनुपर्ने बाध्यता हटेको छ । नगरपालिकाको पहलमा घरघरमा दमकल र एम्बुलेन्स पुग्ने बाटो निर्माण गरेको उनले बताइन् । नगरपालिकामै इन्जिनियरिङ पढाइ हुन थालेको उनको भनाइ थियो । रंगेलीको इन्जिनियरिङ कलेजमा देशकै उत्कृष्ट जनशक्ति उत्पादन भइरहेको दाबी उनले गरिन् ।

शिक्षा, स्वास्थ्य र पूर्वाधार विकाससँगै पुरानो बजार रंगेली पुनः गुल्जार हुन थालेको पनि उनले बताइन् । ‘केही वर्षमै रंगेलीले पुरानो पहिचान फर्काउँछ,’ उनले भनिन् । एक सय वर्षअगाडि मोरङको सदरमुकाम विराटनगर सारिएपछि पुरानो बजार रंगेली छायामा परेको थियो ।

प्रकाशित : आश्विन ९, २०७९ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×