२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

फेरिएको किनमेल

पूर्वका सहरमा लिफ्ट चढेर किनमेल गर्ने संस्कृति भित्रिएको छ, दैनिक उपभोग्य सामग्री किन्न टाढा या सीमापारि जानुपर्ने बाध्यता टरेको छ, सपिङ सेन्टरले ग्राहकलाई होम डेलिभरी जस्ता सेवासमेत विस्तार गरेका छन् 
सुम्निमा चाम्लिङ

इटहरी — कुनै समय हाटबजारको उत्साह बेग्लै थियो । घरायसी सामान किन्न सयौं माइलको पैदल यात्रा गर्दै कैयौं दिन हिँड्नुपर्ने बाध्यता थियो । साप्ताहिक र पाक्षिक लाग्ने हटियाको रौनक नै फरक हुन्थ्यो । बिस्तारै तिनै सामान खुद्रा पसलमा पाइन थाले । आवश्यक वस्तु किन्न हाट कुर्नुपर्ने अवस्था रहेन । 

फेरिएको किनमेल

पछिल्लो समय भने बजारको स्वरूपमा परिवर्तन आएको छ । सहरमा सानाठूला सपिङ मल खुल्ने क्रम जारी छ । ग्राहकको सुविधालाई लक्ष्य गर्दै सबथोक उपलब्ध हुने आकर्षक भौतिक संरचना बनेका छन् । पूर्वका सहरमा पनि त्यो क्रम बढेकै छ ।

सिनेमा हल, लिफ्ट, एसीसम्मको सुविधालाई ख्याल गर्दै संरचनामा धेरै खर्चसमेत गरिएका छन् । साना मार्टसमेत सहरका प्रत्येक चोकमा देख्न पाइन्छ । ठूला डिपार्टमेन्ट स्टोर भने मुख्य सहर केन्द्रित छन् । सपिङ सेन्टर खुल्ने क्रमसँगै पूर्वमा समेत किनमेल गर्ने परम्परामा परिवर्तन भएको छ । ग्राहक पनि विभिन्न पसल खोजी गर्नुभन्दा एउटै छातामुनि सबै सामान खरिद गर्न रुचाउँछन् ।

पूर्वमा गोरखा डिपार्टमेन्ट स्टोरले किनमेल गर्ने शैलीमा परिवर्तन ल्याएको इतिहास छ । ठूला सहरमा समेत गोरखाअघि कुनै पनि ठूला डिपार्टमेन्ट सञ्चालनमा थिएनन् । ०५६ मा गोरखा सञ्चालनमा आउँदा अचम्म मानिन्थ्यो । डिपार्टमेन्ट प्रवेश गर्दा पैसा तिर्नुपर्छ भन्ने समय थियो, त्यही अवस्थामा बलराम आचार्यले डिपार्टमेन्ट स्टोर सुरु गरेका थिए । आचार्य पुराना दिन सम्झन्छन्, ‘पूर्वमा डिपार्टमेन्ट सुरु गर्ने सोच बनाउँदा पैसा धेरै भएको भन्थे, डिपार्टमेन्टको समय आएको छैन भनेर सुझाव दिन्थे । तर हामीले भने मानिसको आवश्यकता बुझेर सुरु गरेका थियौं ।’

मोलमोलाइ गर्नु नपर्ने हँॅदासमेत ग्राहक यसतर्फ आकर्षित हुँदै गएका छन् । जीवनशैलीमा परिवर्तन आएसँगै डिपार्टमेन्ट स्टोरको क्रेजसमेत बढेको छ । सामान खरिद मात्र होइन, खानपिन, खेल, सिनेमाको समेत रमाइलो लिनसमेत सर्वसाधारण डिपार्टमेन्ट स्टोर एवं सपिङ मल जाने गरेका छन् ।

इटहरीकी स्मिता राईले गोरखा डिपार्टमेन्टमा सपिङ गर्न थालेको एक दशकभन्दा बढी भयो । बिना बार्गेनिङ उचित मूल्यमा किनमेल गर्न पाइने भएकाले डिपार्टमेन्ट स्टोर जाने गरेको बताउँछिन् । भन्छिन्, ‘डिपार्टमेन्टमा सामान सोधिरहनुपर्दैन, आवश्यकताअनुसार उचित मूल्यमा किन्न पाइन्छ, ग्रोसरी आइटम बजारभाउभन्दा सस्तो पनि छ ।’

तरकारीबाहेक सबै सामानमा २ प्रतिशत छुट पाइने भएकाले नियमित रूपमा गोरखा पुग्ने उनको भनाइ छ । धरानकी लीलादेवी गुरुङले समेत गोरखा सुरु भएयता डिपार्टमेन्टबाटै सामान खरिद गर्दै आएकी छन् । बिदाको समयमा सामान खरिद गर्न इटहरी पुग्ने गर्थिन् । पछिल्लो समय भने धरानमा बराह डिपार्टमेन्ट, भाटभाटेनी, सेल्सबेरी जस्ता सपिङ सेन्टर सञ्चालनमा आएका छन् । त्यसैले धरानका डिपार्टमेन्ट स्टोरबाट सामान खरिद गर्ने गरेको उनी बताउँछिन् । भन्छिन्, ‘डिपार्टमेन्ट स्टोरमा नपाइएको सामान मात्र बाहिरबाट किन्छु, बाहिर खुद्रा पसलभन्दा सस्तो पनि छ,’ उनले भनिन् ।

इटहरीको मुटु मुख्य चोकमा गोरखा डिपार्टमेन्ट स्टोर रहेको हुँदा उपभोक्तालाई ओहोरदोहोर गर्न सजिलो छ । २ कट्ठा ६ धुरमा रहेको यो डिपार्टमेन्ट एसीयुक्त छ । पार्किङका लागि भने असुविधा छ । ‘पार्किङको असुविधालाई दृष्टिगत गरी ग्राउन्ड फ्लोरलाई पार्किङ बनाउने अथवा अन्डरग्राउन्डमा लिफ्ट सिस्टम हाल्ने भन्ने विषयमा छलफल गरिरहेका छौं,’ डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले भने ।

सेन्टरमा २ वटा लिफ्ट छन् । ग्राउन्ड फ्लोरमा ग्रोसरी आइटम राखिएको छ । स्टोरमा खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स, सागसब्जी, कस्मेटिक, जुत्ताचप्पल, बच्चाका सामान, होटल र बेकरी छन् । साततले सपिङ मलको रेस्टुराँमा बसेर पहाड, तराईका फाँटको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

भाडाको कोठामा सुरु गरिएको स्टोर आज विराटचोक, पथरी र दमकमा समेत शाखा विस्तार गर्न सफल भएको छ । यसले पनि डिपार्टमेन्टको क्रेज बढ्दै गएको तथ्य देखाउँछ । चार वटा आउटलेट गरी हाल गोरखामा १ हजार ४ सय कर्मचारी छन् । जसमध्ये ८० प्रतिशत महिला कर्मचारी छन् ।

भारतका पर्यटकले समेत डिपार्टमेन्ट स्टोरमा सपिङ गर्ने गरेका छन् । प्रतिदिन ८ हजार ग्राहक स्टोरमा आउँछन् । डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएपछि सामानको मूल्यमा समेत सन्तुलन आएको छ । उचित मूल्यमा गुणस्तरीय सामान पाइने हुँदा स्टोरको लोकप्रियता चुलिँदै गएको छ ।

किनमेलका लागि साथै मनोरन्जनका लागि विराटनगरको भाटभाटेनी सुपरमार्केट लोकप्रिय छ । चार वर्षअघि स्थापना भएको मार्केट ६ तलाको छ । यो मार्केट एसीका साथै सीसीटीभीको निगरानीमा छ । यस स्टोरमा सिनेमा हलसमेत छ ।

यस स्टोरमा कपडा, ग्रोसरी, इलेक्ट्रोनिक, पिज्जा बार, कस्मेटिक, गार्मेन्टको कपडा रिजनेवल मूल्यमा खरिद गर्न सकिने बताइएको छ । सामान्य मूल्यदेखि ब्रान्डेड कपडा, जुत्ता, ब्याग, सुटकेस आदि सामग्री उपलब्ध हुन्छ । अन्य मार्केटसरह चाडपर्वमा छुटको व्यवस्था छ । यो शाखाको क्षेत्रफल १८ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । यस मार्केटमा ग्राउन्ड फ्लोरदेखि माथिल्लो तलासम्म इलेक्ट्रिक भर्‍याङ छ । पार्किङको पर्याप्त सुविधा भएको कारण किनमेलका लागि उत्कृष्ट स्टोरका रूपमा परिचित छ ।

पूर्वमा डिपार्टमेन्ट कल्चर बढेको उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले बताए । यसले सपिङ गर्ने संस्कृति बढावा दिएको उनको बुझाइ छ । स्वदेशमा उत्पादित वस्तुको प्रवर्द्धन गर्नमा समेत डिपार्टमेन्ट स्टोरले सघाउ पुगेको उनको भनाइ छ । हाल पूर्वमा १ सय ५० सानाठूला स्टोर सञ्चालनमा छन् । पूर्वका सहरमा लिफ्ट चढेर सपिङ गर्ने संस्कृति भित्रिएको छ । दैनिक उपभोग्य सामग्री खरिद गर्न अन्य सहर जानुपर्ने बाध्यता टरेको छ । सपिङ सेन्टरले ग्राहकलाई होम डेलिभरी जस्ता सेवासमेत विस्तार गरेका छन् ।

प्रकाशित : आश्विन ८, २०७९ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?