२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
उज्यालो पूर्व

नेपालमा ‘नलेज इन्डस्ट्री’को अपार सम्भावना छ, प्रविधिमा लगानी गर्न ढिला नगरौं : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौँ — पूर्वअर्थमन्त्री एवम् नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपाललाई सूचना प्रविधि क्षेत्रको केन्द्र बनाउन सकिने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको उज्यालो पूर्व कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले अबको युग सूचना प्रविधिको युग भएको बताउँदै यो क्षेत्रमा लगानी गर्न ढिलाई गर्न नहुने बताएका हुन् ।

नेपालमा ‘नलेज इन्डस्ट्री’को अपार सम्भावना छ, प्रविधिमा लगानी गर्न ढिला नगरौं : पूर्वअर्थमन्त्री पाण्डे

‘चौथो औद्योगिक क्रान्तिपछि अबको युग नितान्त नयाँ छ । जुन मुलुकले सूचना प्रविधिमा लगानी गरेको छन उनीहरु अबका शक्तिशाली र धनी हुन् । नेपालले पनि नलेज इन्ड्रस्टीमा लगानी केन्द्रित गर्नुपर्छ,’ पाण्डेले भने, ‘नेपालमा प्रविधिमा लगानी गर्ने र डाटा इन्डस्ट्री बनाउका लागि वातावरणीय रुपमा पनि अनुकूल छ । यसलाई कुनै नाकाबन्दीले पनि छेक्दैन ।’

विगतमा नेपालको पूर्व क्षेत्र आर्थिक, सामाजिक र राजनीतिक रुपमा अग्रस्थानमा रहेपनि अहिले त्यो विरासत बिस्तारै गुम्दै गएको पनि उनले बताए । ‘पूर्वबाट मात्रै ८ जना प्रधानमन्त्री भइसकेका छन् । नेपालको प्रजातान्त्रिक अभियोनको सुरुवात नै पूर्वबाट भएको हो । सिंगो नेपाललाई राजनीतिक रुपमा डोर्‍याउने केन्द्रका रुपमा पूर्व रह्यो, यसमा दुई मत छैन,’ पाण्डेले भने ।

पूर्वको सम्भावनाका रुपमा सिलुगुडीबाट झापासम्ममा पेट्रोलियम पाइपलाईन बनिरहेको, जलविद्युत्‌मा अधिक सम्भावना रहेको उनले बताए । चिया, अलैंचीजस्ता कृषि उत्पादनमा पनि प्रदेश १ अघि छ । तर पछिल्लो समय नेपाली चियालाई भारतले अधिक कर लगाउँदा समस्या देखिएको पनि पाण्डेको भनाइ छ । त्यसैगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा रहको सम्भावनालाई पनि आवश्यक नीतिगत व्यवस्था गरेर त्यसको अवसर लिन सक्नुपर्ने उनको भनाइ छ । ‘भारत र अरु देशका विद्यार्थीलाई नेपालका शिक्षालयबाट गुणस्तरीय शिक्षा दिन सकिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा केही उदार नीतिहरुको जरुरत छ । त्यसका लागि हामीले गृहकार्य गर्नुपर्छ,’ पाण्डेले भने, ‘नेपालको पूर्व क्षेत्रमा स्वास्थ्य क्षेत्रलाई भारतीय नागरिकका लागि पनि केन्द्रित गरेर अघि बढाउन सकिन्छ ।’

विराटनगरलाई औद्योगिक राजधानीका रुपमा रहेको पनि उनले उल्लेख गरे । त्यस्तै नेपालले आफ्नो जलस्रोतलाई रणनीतिक वस्तुका रुपमा प्रयोग गर्न सक्नुपर्ने पनि पाण्डेको धारणा छ । ‘हामीसँग पानीमात्रै त्यस्तो हतियार हो जसबाट हामी भारतलाई अठ्याउन सक्छौं,’ उनले भने, ‘नेपाल र बंगलादेशको कनेक्टिभिटीका लागि काँकडभिट्टाबाट बंगलादेशसम्म प्रसारण लाइन र यातायात सञ्जाल जोड्न सक्नुपर्ने र त्यसका लागि नेपालले भारतलाई सप्तकोसी उच्च बाँध बनाउन दिने सम्झौता गर्न सकिन्छ ।’

प्रकाशित : आश्विन ८, २०७९ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?